लन्डन । पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन बेलायत आइपुगेका छन् ।
पुन शनिबार साँझ लन्डन उत्रिएका एनआरएनएका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली मञ्च यूकेका सचिव विश्वासदीप तिगेलाले जानकारी दिएका छन् । पुनको साथमा किराती राष्ट्रिय मुक्ति मोर्चा नेपालका महासचिव,अन्तर्राष्ट्रिय विभागको सदस्य, यूरोप, रसिया,बेलायत र मल्टि ल्याटर युरोप हेर्ने बसन्त राई पनि छन् ।
हिथ्रो विमानस्थल उत्रिएका पुनलाई गेसो सभापति तथा नेकपा नेकपा केन्द्रीय सदस्य, प्रवासी नेपाली मामिला विभाग उपप्रमुख तथा गेसो सभापति कृष्णकुमार राई, अन्तर्राष्ट्रिय नेपाली मञ्च यूकेकी संयोजक बिमला लिम्बू, नेपाल आदिवासी जनजाति महासंघ बेलायतका निवर्तमान अध्यक्ष कर्मा पहाडी शेर्पा तथा सचिव तिगेलालगायतले स्वागत गरेका थिए ।
पुन युरोपका विभिन्न मुलुकमा आयोजना हुने अन्तर्राष्ट्रिय नेपाली मञ्चका अधिवेशनमा सहभागी हुन बेलायत आएका हुन्। सचिव तिगेलाका अनुसार युरोप भ्रमणका क्रममा पुनले २७ सेप्टेम्बर पोर्चुगल र २८ सेप्टेम्बर स्पेनमा हुने अधिवेशनमा सहभागिता जनाउने छन् । त्यसपछि बेलायतमा ३ अक्टोबरमा आयोजना हुने अन्तर्राष्ट्रिय नेपाली मञ्च यूकेको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ ।
अन्तर्राष्ट्रिय नेपाली मञ्च यूकेको छैटौँ राष्ट्रिय अधिवेशन अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा आयोजना हुँदैछ । नेपाली जनप्रगतिशील मञ्च यूके, प्रवासी नेपाली एकता मञ्च यूके र नेपाली समाज यूकेको समायोजनपछि संस्थाको नाम ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च यूके’ राखिएको हो।
मञ्चकी संयोजक बिमला लिम्बुका अनुसार अधिवेशनको तयारी भइरहेको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ। अधिवेशनमा नेपाली कम्युनिस्ट पार्टीका विभिन्न तह तथा मोर्चामा आबद्ध नेता, कार्यकर्ता एवं शुभेच्छुकलाई सहभागी हुन अपिल गरिएको छ।








