काठमाडौं । नेपालमा लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानले समस्या निम्त्याएको छ । बाढीपहिरोमा परी केहीको मृत्यु भएको छ भने केही बेपत्ता छन् । सयौँ घर डुबानमा परेका छन् भने सडक, पुल तथा भौतिक संरचनामा समेत क्षति पुगेको छ ।
सप्तरीमा बाढीका कारण करिब ५०० घर डुबानमा परेका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२ र १३ मा ४८३ तथा तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा १७ घर डुबानमा परेका हुन् । बाढीबाट दुई हजारभन्दा बढी प्रभावित भएको जनाइएको छ । सप्तकोशी नदीमा पानीको सतह बढेपछि बस्तीमा पानी पसेको हो । प्रभावितका लागि तत्काल बिहान–बेलुका दुई छाक खानाको व्यवस्था गरिएको छ ।
पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् । माथागढी गाउँपालिका–२ का ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ की ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको प्रहरीले जनाएको छ । माथागढी–३ कसेनी भैसीकट्टामा पहिरोले घर पुरिँदा दुई परिवारका तीन जना बेपत्ता छन् ।
बागलुङमा पनि पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उहाँका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रूपन्देहीमा तिनाउ नदीको बाढीले बुटवल उपमहानगरपालिका–११ टपमझुवा क्षेत्रका दुई पक्की र चार कच्ची गरी छ घर बगाएको छ । मानवीय क्षति भने भएको छैन । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।
म्याग्दीमा कालीगण्डकी नदीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नं. २ भुरुङ–तातोपानीको नौलीबगर जोड्ने पुल बगाएको छ । पुल बगेपछि अन्नपूर्ण गाउँपालिकाका वडा नं. २, ३ र ४ तथा मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद भएको छ । अन्नपूर्ण–५ गिवाङ र वडा नं. ३ फगाममा पहिरोले एक–एक घर पुरिँदा दुई जनाको खोजी भइरहेको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने मोटरेबल पुल पनि कालीगण्डकीको बाढीले बगाएको छ । भारी वर्षाका कारण मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाका सबै ढोका खोलिएको र विद्युत् उत्पादन बन्द गरिएको छ । सेतीवेणी बजारसमेत डुबानमा परेको छ ।
बागलुङमा दुई राष्ट्रिय राजमार्गसहित दर्जनौँ ग्रामीण सडक अवरुद्ध भएका छन् । कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग तथा विभिन्न शाखा सडकमा बाढीपहिरोले क्षति पुर्याएपछि सदरमुकामसँग ग्रामीण क्षेत्रको यातायात सम्पर्क प्रभावित भएको छ ।
बर्दियामा वर्षाका कारण तीन घरमा क्षति पुगेको छ । बाँसगढी, मधुवन र बारबर्दियाका विभिन्न स्थानमा कच्ची घरका भित्ता भत्किएका छन् । गुलरिया नगरपालिका–१ छेदापुरमा पाँच घरमा पानी पसेपछि प्रभावित परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । जिल्लाका कर्णाली, गेरुवा र भादा नदीमा पानीको बहाव बढिरहेको भए पनि कर्णाली र बबई नदीको जलसतह हाल खतराको तहभन्दा तल रहेको जनाइएको छ ।






