पोखरा । रसुवाका बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग हस्तान्तरण तथा फिल्डमै पुगेर ३०८ परिवारलाई राहत सामग्री वितरण गरेर फर्किएको तमु धीं यूकेको टोलीलाई पोखरामा भव्य स्वागत तथा सम्मान गरिएको छ।
पोखरा–९ स्थित तमु धिं नेपालको प्राङ्गणमा आइतबार आयोजित कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा अध्यक्ष कमला देवी गुरुङ, उपाध्यक्ष कमल कोने गुरुङलगायत रसुवा पुगेको टोलीलाई तमु धिं नेपाल, तमु धिं नेपाल केन्द्रीय युवा समिति तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले स्वागत गरेका थिए। सहभागीहरूले विपद्को कठिन समयमा पुर्याएको मानवीय सहयोगका लागि टोलीलाई धन्यवाद ज्ञापन गरेका थिए।
तमु धीं यूकेले रसुवाको उत्तरगया गाउँपालिका–१ का बाढीपीडित ३०८ परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको थियो। राहत वितरण टोलीमा अध्यक्ष जुमकाजी गुरुङसहित कमला देवी गुरुङ, परशु गुरुङ, कमल कोने गुरुङ, डा. विशाल गुरुङ र विमल गुरुङलगायत सहभागी थिए।
स्वागत तथा सम्मान कार्यक्रममा सहभागीहरूले विपद्को समयमा तमु धीं यूकेले पुर्याएको मानवीय सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए।











