काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई सोमबार बिहान निवासबाट पक्राउ गरेको हो।
सामाजिक सञ्जालमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडालाई लक्षित गर्दै दिएको अभिव्यक्तिसम्बन्धी उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरिएको हो।
प्रसाईंले सांसद खतिवडालाई लक्षित गर्दै ‘छोराको शवसँग सांसद पद साटेको’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिविरुद्ध सांसद खतिवडाले संसद्मै आवाज उठाएकी थिइन्।
साइबर ब्युरोका प्रवक्ता एसपी दिलीपकुमार गिरीका अनुसार अदालतबाट पक्राउ अनुमति लिएर प्रसाईंलाई नियन्त्रणमा लिइएको हो।
प्रसाईंमाथि विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।






