मेडस्टोनमा क्वीन्स गोर्खा इन्जिनियर्सको ७८औँ वार्षिकोत्सव सम्पन्न

SHARE:

मेडस्टोन । बेलायती सेनाको क्वीन्स गोर्खा इन्जिनियर्स (क्यूजीई) को ७८औँ वार्षिकोत्सव शनिबार बेलायतको मेडस्टोनमा सम्पन्न भएको छ । सन् १९४८ मा स्थापना भएको रेजिमेन्टले यस वर्ष आफ्नो ७८औँ वार्षिकोत्सव मनाएको हो ।

मेडस्टोनस्थित बार्टन रोडमा रहेको मेडस्टोन ग्रामर स्कुलमा आयोजित समारोहमा सेवारत तथा भूतपूर्व सैनिक, उनीहरूका परिवारजन र स्थानीय समुदायका सदस्यहरूको उपस्थिति थियो । एक्स-क्यूजीई साउथ केन्ट कमिटीको आयोजना तथा व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।

शनिबार, २६ सेप्टेम्बर २०२६ मा दिउँसो २ बजे पाहुनाहरूको आगमनसँगै सुरु भएको कार्यक्रमको अध्यक्षता क्याप्टेन (रिटायर्ड) याम पुनले गरेका थिए । कार्यक्रम व्यवस्थापनमा उपाध्यक्ष डब्ल्युओ२ (रिटायर्ड) ओम बुढा, मानार्थ सचिव एसएसजीएम (रिटायर्ड) सङ्घर्ष राई, सचिव एसएसजीएम (रिटायर्ड) फुर्तेन्जी शेर्पा, कोषाध्यक्ष डब्ल्युओ२ (रिटायर्ड) बिनम रानालगायत कमिटीका पदाधिकारीहरूको भूमिका रहेको थियो ।

त्यसैगरी कल्याण सचिव मेजर (रिटायर्ड) राजेन गुरुङ र सामाजिक सचिव एसएसजीएम (रिटायर्ड) कमल गुरुङले कार्यक्रम व्यवस्थापनमा सहयोग गरेका थिए ।

समारोहमा आरएचक्यू क्यूजीईका जीएम, आरएसएम, कर्नल (रिटायर्ड) वाकर, मेजर (रिटायर्ड) मूर, सीएम क्यूजीई, लेफ्टिनेन्ट कर्नल (रिटायर्ड) गोच, चार्ली कोर्बेट, मानार्थ सचिव क्यूजीई तथा मेडस्टोन ग्रामर स्कुलका हेडटिचर, सीसीएफ कमाण्डर र दीपक हिमाललगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।

दिउँसो ३:४० बजे केक काटेर वार्षिकोत्सव मनाइएको थियो । उक्त केक ‘लायन एण्ड फिडल पब’ का रमेश राणाले प्रायोजन गरेका थिए । त्यसपछि सहभागीहरूले सामूहिक तस्बिर खिचाएका थिए ।

कार्यक्रममा ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ की विजेता निता थापा मगर र कलाकार अस्मिता रानाले सांगीतिक प्रस्तुति दिएका थिए । क्यूजीईका पाइपरले प्रस्तुत गरेको परम्परागत धुनले समारोहलाई थप आकर्षक बनाएको थियो ।

केन्ट शाखाको आवश्यकता र भूमिकाबारे अध्यक्ष याम पुनले जानकारीमूलक मन्तव्य राखेका थिए । त्यसपछि राफल ड्र कार्यक्रम आयोजना गरिएको थियो ।

रेजिमेन्टको ऐतिहासिक यात्रा स्मरण

वार्षिकोत्सवका अवसरमा क्वीन्स गोर्खा इन्जिनियर्सका कमाण्डेन्ट लेफ्टिनेन्ट कर्नल एसए पार आरईले जारी गरेको विशेष रुटिन अर्डरमार्फत रेजिमेन्टको ऐतिहासिक यात्राको स्मरण गरिएको थियो । उक्त पत्र रिटायर्ड क्याप्टेन चेत थापाले पढेर सुनाएका थिए ।

सन् १९४८ को अक्टोबरमा रोयल इन्जिनियर्सअन्तर्गत पहिलोपटक गोर्खा सैनिक तथा अधिकृतहरू ट्रेनिङ स्क्वाड्रनमा भर्ना भएपछि रेजिमेन्टको सुरुवात भएको थियो । विभिन्न फिल्ड स्क्वाड्रनहरूको गठन हुँदै सन् १९५५ सेप्टेम्बर २८ मा यो इकाई आधिकारिक रूपमा ‘द गोर्खा इन्जिनियर्स’ बनेको थियो ।

रेजिमेन्टको निष्ठा, बहादुरी र कार्यसम्पादनको कदर गर्दै महारानी एलिजाबेथ द्वितीयले सन् १९७७ अप्रिल २१ मा ‘क्वीन्स गोर्खा इन्जिनियर्स’ उपाधि प्रदान गरेकी थिइन् ।

मलेसिया र बोर्निओका जङ्गलदेखि हङकङ ग्यारिजनसम्म तथा विश्वका विभिन्न द्वन्द्वग्रस्त र रणनीतिक क्षेत्रमा शान्ति तथा सुरक्षा स्थापनामा भूमिका निर्वाह गर्दै आएको यो रेजिमेन्ट हाल मेडस्टोनस्थित इन्भिक्टा पार्क ब्यारेक्समा रहेको छ ।

३६ इन्जिनियर रेजिमेन्टसँगको सहकार्यमा क्यूजीईका सैनिकहरूले विश्वका १६ भन्दा बढी स्थानमा आफ्नो व्यावसायिक दक्षता र सेवा प्रदान गर्दै आएका छन् ।

कार्यक्रममा सहभागीहरूबीच भेटघाट, नाचगान तथा मनोरञ्जनात्मक गतिविधि भएका थिए । राति ८:३० बजे कार्यक्रम औपचारिक रूपमा समापन भएको थियो ।

कार्यक्रमको सञ्चालन सचिव सङ्घर्ष राईले गरेका थिए । समापनमा अध्यक्ष याम पुनले कार्यक्रमका प्रायोजक, सहयोगी संघसंस्था, व्यक्ति, रेस्टुरेन्ट, कलाकार तथा सहभागी सबैलाई धन्यवाद दिएका थिए ।

कार्यक्रमका प्रायोजकहरूमा किशोर राना (बुद्ध मोर्टगेज), मान सुनुवार (हाइड्रोनिक हटिङ), सूर्य गुरुङ (पिपल मोर्टगेज एण्ड रेस्टुरेन्ट) र रमेश सारङ्कोटी (ए स्टार मोर्टगेज) लगायत रहेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!