लन्डन । बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको रोयल एयर फोर्स (आरएएफ) फेयरफोर्ड क्षेत्रमा सम्भावित बम आक्रमणको योजनाबारे अनुसन्धान भइरहेका बेला पक्राउ परेका पाँच जनालाई प्रहरीले धरौटीमा रिहा गरेको छ ।
ग्लुसेस्टरशायरस्थित फेयरफोर्ड क्षेत्रमा आइतबार तीन वटा शंकास्पद सेतो भ्यान देखिएपछि उनीहरूलाई पक्राउ गरिएको थियो । पक्राउ परेका सबै जना लन्डनमा बस्ने २० वर्षको मध्यतिरका बेलायती नागरिक हुन् । उनीहरूलाई विस्फोटक पदार्थसम्बन्धी अपराध र आतंकवादी गतिविधिको तयारी गरेको आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आतंकवाद नियन्त्रण प्रहरीका प्रमुख लरेन्स टेलरले पाँच जनालाई धरौटीमा रिहा गरिए पनि अनुसन्धान समाप्त नभएको बताएका छन् । प्रहरीले घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको र कुनै विदेशी राज्यका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा काम गर्ने व्यक्ति वा समूहको सम्भावित संलग्नतालाई पनि अनुसन्धानको दायरामा राखेको जनाएको छ ।
घटनापछि बम निष्क्रिय पार्ने विशेषज्ञसहित सुरक्षा टोली परिचालन गरिएको थियो । तीनवटै भ्यानको विस्तृत परीक्षण गरिएको छ । बेलायती सञ्चारमाध्यमका अनुसार प्रारम्भिक परीक्षणमा भ्यानभित्र भेटिएका सामग्री प्रयोग गर्न मिल्ने विस्फोटक नभएको देखिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनामा इरानको सम्भावित सम्बन्धतर्फ संकेत गर्नुभएको छ भने इरानले कुनै पनि संलग्नता अस्वीकार गरेको छ । घटनापछि करिब ८५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको थियो ।






