एनआरएनएको राहत अभियानको ३३ औं दिन : म्याग्दी, बागलुङलगायत जिल्लामा पनि उपलब्ध गराइने

SHARE:

काठमडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुर्‍याएको क्षतिबाट प्रभावितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ३३ औँ दिनसम्म पनि राहत तथा मानवीय सहायताको चरणमै छ । तर, यही बीचमा पुनः अर्को विपद्‌को सामना गर्नु परेको छ। असोज ९ गतेदेखि यता देशका विभिन्न स्थानमा चट्याङ, बाढी, पहिरो, हावाहुरी र अविरल वर्षाका कारण म्याग्दी, बागलुङ, पर्वत, मुस्ताङ, मनाङलगायत विभिन्न जिल्लामा ठुलो जनधनको क्षति भएको छ । यस विषम परिस्थितिमा विपद्मा परी ज्यान गुमाउनुहुने सम्पूर्ण नागरिकप्रति संघ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ।

जनप्रतिनिधि, स्थानीय प्रशासन, स्थानीय तह तथा प्रवासी नेपाली संस्थाका प्रतिनिधिहरूसँग समन्वयात्मक छलफल
म्याग्दी, बागलुङ र पर्वतलगायत जिल्लामा बाढी तथा पहिरोबाट भएको जनधनको क्षति, राहत तथा पुनर्निर्माणका विषयमा एनआरएनएले वर्तमान तथा पूर्वसांसद, जनप्रतिनिधि, जिल्ला प्रशासन, स्थानीय तह तथा प्रवासी नेपाली संस्थाका प्रतिनिधिहरूसँग समन्वयात्मक छलफल गरेको छ । एनआरएनए अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा भएको भर्चुअल बैठकमा बागलुङ क्षेत्र नं. १ का सांसद सोम शर्मा, सांसद सुशील खड्का, सांसद बलावती शर्मा, सूर्य पाठक, म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरे, बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, बागलुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख दिलकुमारी खत्री, निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती, फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारी, बेनी नगरपालिकाका नगर प्रमुख सुरत के.सी. तथा जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यलगायतको सहभागिता रहेको थियो। त्यसैगरी ग्लोबल पर्वत समाजका अध्यक्ष दधि आचार्य, म्याग्दी प्रवासी नेपाली संघ (मोना)का संस्थापक अध्यक्ष प्रकाश पुन तथा अन्तर्राष्ट्रिय बागलुङ समाजकी अध्यक्ष गंगा शर्मा लगायत प्रवासी नेपाली संस्थाका प्रतिनिधिहरू सहभागी थिए। बैठकमा तत्कालीन राहतका साथै दीर्घकालीन सहकार्यको सुरुवातका रूपमा अघि बढाउने र सरकार, स्थानीय तह र प्रवासी नेपाली समुदायबीच समन्वय गरी प्रभावित क्षेत्रमा काम गर्ने विषयमा छलफल भयो ।

५० लाख रुपैयाँसम्मको राहत सहयोग उपलब्ध गराउने
बैठकमा तत्काल आवश्यक परे एनआरएनएको तर्फबाट ५० लाख रुपैयाँसम्मको राहत सहयोग उपलब्ध गराउने प्रस्ताव गरिएको छ। साथै, अन्तर्राष्ट्रिय पर्वत समाज, अन्तर्राष्ट्रिय बागलुङ समाज, मोना म्याग्दीलगायत सम्बन्धित प्रवासी संस्थाहरूसँग सहकार्य गरी थप ५० लाख रुपैयाँ जुटाएर तत्काल एक करोड रुपैयाँसम्मको राहत सहयोग परिचालन गर्ने प्रस्ताव गरिएको छ। स्थानीय आवश्यकता तथा प्रशासन र जनप्रतिनिधिबाट प्राप्त विवरणका आधारमा आवश्यक सामग्री खरिद तथा वितरण वा आर्थिक सहयोग उपलब्ध गराउने प्रस्ताव गरिएको छ। राहत सहयोग परिचालनका लागि स्थानीय प्रशासन तथा जनप्रतिनिधिसँग आवश्यक समन्वय गर्न एनआरएनएका सीईओ राजेन्द्र कुमार राउतलाई जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।

पुनर्निर्माणका लागि समन्वय समिति गठन गर्ने
बैठकमा प्रभावित जिल्लाका स्थानीय तहका प्रमुख, सम्बन्धित प्रवासी नेपाली संघसंस्थाका प्रतिनिधि तथा एनआरएनएका प्रतिनिधि सम्मिलित समन्वय संयन्त्र गठन गर्ने निर्णय गरिएको छ। एनआरएनएका प्रवक्ता सोम सापकोटालाई बागलुङ, पर्वत र म्याग्दीबाट विदेशमा रहेका नेपालीहरूको विवरण तथा सम्भावित सहयोगकर्ताको डेटाबेस तयार गरी समन्वय गर्न आर्थिक सहयोग जुटाउने कार्यमा सहजीकरण गर्न जिम्मेवारी दिइएको छ। पुनर्निर्माणका लागि स्थानीय तहबाट विद्यालय, स्वास्थ्य चौकी, सडक, पुल तथा अन्य संरचनामा भएको क्षतिको विवरण संकलन गरी प्राथमिकताका आधारमा कार्यक्रम बनाइनेछ। साथै, सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने एनआरएनएका पूर्वअध्यक्ष, पदाधिकारीहरु, तथा पूर्वपदाधिकारीहरूसहित अभियन्ताहरुलाई आवश्यक सहयोगका लागि अपिल गरिएको छ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!