नुवाकोट । गत भदौ १० गते आएको विनाशकारी रसुवा–नुवाकोट भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका पीडितसँग प्रत्यक्ष भेटघाट गर्दै राहत वितरण गरिएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके र बेलायतस्थित विभिन्न संघ–संस्थाको संयुक्त पहलमा नुवाकोटको विदुर नगरपालिका–५ का दुई स्थानमा राहत वितरण गरिएको हो। गंगटे पार्कमा वेत्रावतीका बाढीप्रभावित ४० घर र बोगटी पार्कमा रहेको अस्थायी शिविरमा ४७ घरपरिवारलाई प्रतिपरिवार नगद १० हजार रुपैयाँका दरले सहयोग गरिएको थियो। त्यस्तै, उक्त अवसरमा २ सय ७० जनालाई राहत सामग्रीस्वरूप न्यानो ज्याकेट वितरण गरिएको थियो।
एनआरएनए यूकेले रसुवा–नुवाकोट भोटेकोशी बाढी तथा पहिरो प्रभावितका लागि कुल १३ लाख ६३ हजार ७ सय ९९ रुपैयाँ राहत रकम जम्मा गरेको जनाएको छ । व्यक्तिगत सहयोगदाताले एनआरएनए यूकेको बैंक खातामा प्रत्यक्ष जम्मा गरेको २ हजार ९०५.९९ पाउन्ड र GoFundMe अभियानमार्फत प्राप्त ६४७ पाउन्ड गरी कुल ३ हजार ५५२.९९ पाउन्ड संकलन भएको थियो। उक्त रकम नेपाली रुपैयाँमा ७ लाख ३५ हजार ४ सय ६९ रुपैयाँ बराबर रहेको एनआरएनए यूकेले जनाएको छ।
त्यसैगरी, गाहा मगर परिवार यूकेबाट २ लाख १० हजार रुपैयाँ, नमस्ते नेपाल, म्यान्चेस्टर यूकेबाट २ लाख ५ हजार रुपैयाँ, मद्दत समूह यूकेबाट १ लाख ६० हजार रुपैयाँ र एनआरएनए यूके युथ कमिटीबाट ५३ हजार रुपैयाँ सहयोग प्राप्त भएको जनाइएको छ।
८७ परिवारलाई नगद राहत
एनआरएनए यूकेले संकलित राहत रकममध्ये ८७ अति प्रभावित परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले कुल ८ लाख ७० हजार रुपैयाँ नगद राहत वितरण गरेको जनाएको छ । त्यस्तै, प्रभावित परिवारका लागि न्यानो कपडाअन्तर्गत २०० थान ज्याकेटमा ३ लाख ९० हजार रुपैयाँ र ७० थान बालबालिकाका ज्याकेटमा १ लाख १ हजार ५०० रुपैयाँ खर्च भएको छ । कुल २७० थान ज्याकेटका लागि ४ लाख ९१ हजार ५०० रुपैयाँ खर्च गरिएको अध्यक्ष गाहा मगरले जानकारी दिए ।
नगद राहत र न्यानो कपडासहित एनआरएनए यूकेले कुल १३ लाख ६१ हजार ५०० रुपैयाँ राहत वितरण तथा खर्च गरेको जनाएको छ । राहत स्वरुप प्राप्त रकममध्ये वितरणपछि २ हजार २९९ रुपैयाँ बाँकी रहेको विवरणमा उल्लेख छ ।


















