गृहमन्त्री सुधन गुरुङसँग एनआरएनए पदाधिकारीको भेट, गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि आग्रह

SHARE:

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरूले गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता गरी गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन तथा गैरआवासीय नेपालीका सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा नीतिगत पहलका लागि आग्रह गर्नुभएको छ।

गृहमन्त्रालयमा भएको भेटका क्रममा एनआरएनए पदाधिकारीहरूले हाल गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था भए पनि संविधानले सुनिश्चित गरेका सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकारको पूर्ण र प्रभावकारी उपयोगमा अझै कानुनी तथा व्यावहारिक जटिलता रहेको भन्दै त्यसको समाधानका लागि गृह मन्त्रालयबाट आवश्यक पहल र सहजीकरण गर्न आग्रह गर्नुभएको हो । भेटमा ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने मान्यताको मर्मअनुरूप एक पटक वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले पछि विदेशी नागरिकता लिए पनि वंशजको नेपाली नागरिकताको निरन्तरता कायम रहने गरी स्पष्ट संवैधानिक तथा कानुनी व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको एनआरएनए सचिवालयले जनाएको छ ।

सरकारले संविधान संशोधनका लागि छलफल अघि बढाइरहेको सन्दर्भमा गैरआवासीय नेपालीसँग सम्बन्धित नागरिकताको निरन्तरता तथा वंशजको नागरिकताको अधिकारलाई संविधानमै स्पष्ट रूपमा सुनिश्चित गर्ने व्यवस्था समावेश गर्न आवश्यक पहल र समन्वय गर्नसमेत एनआरएनएले आग्रह गरेको थियो।

गृहमन्त्री गुरुङले गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय तथा निकायसँग आवश्यक समन्वय र परामर्श गरी सकेसम्म छिटो आवश्यक पहल गर्ने बताउनुभयो । गैरआवासीय नेपालीका सरोकारका विषयमा सरकार सकारात्मक रहेको उल्लेख गर्दै उहाँले आवश्यक प्रक्रियाका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताउनुभयो।

भेटमा एनआरएनएले विपद् व्यवस्थापन तथा मानवीय सहायता क्षेत्रमा संघले गर्दै आएको कामबारे पनि जानकारी गराइएको थियो । भेटमा एनआरएनए महिला उपाध्यक्ष राधिका गुरुङ (टिका), महासचिव डा. चिरञ्जीवी खड्का, महिला संयोजक रश्मि थापा, दोस्रो पुस्ता संयोजक दीपमाला ढकाल, पूर्व कोषाध्यक्ष प्रकाश पुन, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत तथा सरोज दाहालको उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!