बेलायत – भोटेकोशी बाढीपीडितहरूका लागि राहत हस्तान्तरण तथा वितरण गर्न नेपाल गएको तमु धीं युकेको प्रतिनिधि मण्डल झन्डै डेढ करोड रुपैयाँ बराबर सहयोग तथा २५ वटा सामाजिक कार्य गरेर बेलायत फर्किएको छ।
तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा गएको उक्त टोलीमा वरिष्ठ उपाध्यक्ष परशुराम गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ र आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ सहभागी थिए।
स्थापनाकालदेखि नै विपद्मा करोडौँको राहतदेखि शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र नेपाली संस्कार, संस्कृति तथा पहिचानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नमा तल्लीन तमु धीं यूकेले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ नगद जम्मा गरेको हो । सहयोग रकमको चेक कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको थियो । बाँकी रकमबाट प्रभावित क्षेत्र रसुवा र नुवाकोट पुगेर पीडितलाई खाद्यान्न र नगद राहत तथा मानवीय सहयोग गरिएको तमु धीं यूकेले जनाएको छ ।
अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वको प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा.विशाल गुरुङ, सचिव विमल गुरुङ तथा आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ सामेल हुनुहुन्थ्यो । टोलीले रसुवाको उत्तरगया गाउँपालिका–१ का पीडित ३ सय ८ परिवार र विस्थापित भई नुवाकोटको विदुर नगरपालिका ५, पिपलटारमा अस्थायी टेन्टमा बस्दै आएका परिवारलाई राहत सामग्री वितरण गरिएको हो । उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङको उपस्थितिमा पिपलटारमा रहेका चारवटा अस्थायी टेन्टमा राहत वितरण गरिएको थियो । राहत सामग्रीमा दाल, चामल, नुन, तेल, ब्ल्याङ्केट र प्याडलगायत दैनिक उपभोग्य तथा आवश्यक सामग्री प्रदान गरिएको थियो ।
त्यस्तै, फ्लाई एभरेस्ट होलिडेजमा कार्यरत सात कर्मचारीका परिवारलाई १ लाख रुपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरिएको थियो । पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले पञ्चासे हर्पनडाँडा समाज यूकेले तमु धीं यूकेमार्फत ३ लाख ५० हजार सहयोग गरेको थियो । त्यस्तै, सन् २०२४ मा सुष्मा गुरुङको संयोजकत्वमा कैलाश भ्रमणमा सहभागी समूहले १ लाख ७५ हजार सहयोग गरेको थियो। तमुधीं यूकेले पनि थप १ लाख ७५ हजार सहयोग गरेको जनाइएको छ ।
बेलायतमै हजारौँलाई जोड्ने नेपाली मेला र गोर्खा कपजस्ता प्रतिष्ठित कार्यक्रम गर्दै आएको तमु धीं यूकेले राहत वितरण र हस्तान्तरणका लागि सेप्टेम्बर २० देखि ३० तारिखसम्म नेपाल भ्रमणमा समय गुजारेको थियो ।
भ्रमणका क्रममा नेपाल सरकारका विभिन्न निकाय, राजनीतिक नेतृत्व, सामाजिक तथा सांस्कृतिक संस्था, स्वास्थ्य क्षेत्र, खेलकुद क्षेत्र तथा कूटनीतिक प्रतिनिधिहरूसँग भेटघाट र अन्तरक्रियासमेत गरिएको थियो। भ्रमणका क्रममा रक्तदान कार्यक्रममा स्वयंसेवकका रूपमा सहभागी हुँदै रक्तदाता तथा स्वयंसेवकका लागि खाना र खाजासमेत प्रायोजन गरिएको थियो ।
प्रतिनिधिमण्डलले गृहमन्त्री सुदन गुरुङसँग वंशजको नागरिकताको निरन्तरतासम्बन्धी विषयमा करिब दुई घण्टा छलफल गरेको थियो। तमु धीं यूकेको ज्ञापनपत्र बुझेपछि गृहमन्त्री गुरुङले यस विषयमा एक महिनाभित्र प्रतिवेदन तयार गर्न कार्यदल गठन गर्न निर्देशन दिएको प्रतिनिधिमण्डलले जनाएको छ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरी तमु धीं यूकेको संस्थागत परिचय, उद्देश्य तथा सामाजिक गतिविधिबारे जानकारी आदानप्रदान गरिएको थियो। कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री वाग्लेलाई गोर्खा कप २०२७ मा खेलकुदमन्त्री वा प्रतिनिधिका रूपमा सहभागी हुन आधिकारिक निमन्त्रणासमेत हस्तान्तरण गरिएको थियो। स्वास्थ्य क्षेत्रअन्तर्गत कान्तिपुर डेन्टलसँग निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गर्ने विषयमा छलफल भएको छ।
त्यस्तै, डा.चेत पन्त तथा तिलगंगा आँखा अस्पतालसँग फेब्रुअरी २०२७ मा निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर आयोजना गर्ने विषयमा आवश्यक समन्वय र सहकार्यबारे छलफल गरिएको छ।
खेलकुदतर्फ पश्चिम प्रितना विजयपुर आर्मी ब्यारेकको ५० किलोमिटर कोट ट्रायल वाकमा पुरुष र महिलातर्फको प्रथम पुरस्कारका लागि जनही एक लाख ५० हजार रुपैयाँका दरले जम्मा तीन लाख रुपैयाँ प्रायोजन गरिएको छ। पोखरा-११ सँग गोरखा कप २०२७ का विषयमा भेटघाट गरिएको छ भने जिल्ला खेलकुद परिषद् कास्कीसँग अन्तरक्रिया तथा वृक्षारोपण कार्यक्रमसमेत सम्पन्न भएको तमु धीं यूकेका महासचिव डा.विशाल गुरुङले जानकारी दिनुभयो।
रामघाट बौद्ध अर्घौं सदन गुम्बामा आयोजित स्वागत कार्यक्रममा सहभागी हुँदै तमु धीं यूकेले प्रदान गरेका २१ वटा टिङको उद्घाटन गरिएको थियो। उक्त सामग्रीको मूल्य २१ लाख रुपैयाँ बराबर रहेको जनाइएको छ।
यसैगरी, तमु साहित्यिक मञ्च नेपाल, तमु सांस्कृतिक प्रतिष्ठान नेपाल, तमु धीं नेपाल, तमु युवा विद्यार्थी संघ तथा सहारा एकेडेमीसँग भेटघाट गरी आपसी परिचय, अनुभव आदानप्रदान र भावी सहकार्यका विषयमा छलफल गरिएको थियो।
बाढीबाट प्रभावित उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङसँग नुवाकोटमा आयोजना हुने सामूहिक घेवा कार्यक्रमका विषयमा पनि छलफल भएको छ। उक्त कार्यक्रममा तमु धीं यूकेले थप सहयोग गर्ने तयारी गरेको जनाएको छ।
प्रतिनिधिमण्डलले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग पनि समसायिक राजनीति र नेपालमा सम्भावित लगानी तथा सहकार्यका अवसरबारे छलफल गरेको थियो।
त्यस्तै, नेपालस्थित बेलायती दूतावाससँग नेपाल भ्रमण तथा आगामी कार्यक्रमका विषयमा छलफल गर्दै फेब्रुअरी २०२७ मा हुने आगामी नेपाल भ्रमणमा दूतावासका राजनीतिसम्बन्धी प्रमुख जेम्स टुलेलाई सहभागी हुन निमन्त्रणा गरिएको छ। तमु धीं यूकेलाई बेलायती दूतावासको डायस्पोरा इन्गेजमेन्ट प्लानसँग जोड्ने सम्भावनाबारे समेत छलफल भएको र आगामी दिनमा थप बैठक तथा समन्वय गर्ने सहमति भएको जनाइएको छ।
सरकारी तथा राजनीतिक भेटघाटका लागि काउन्सिलर ज्ञान गुरुङ, प्रतिनिधिसभा सांसद बिना गुरुङ र उत्तम पौडेलप्रति विशेष धन्यवाद दिँदै अध्यक्ष जुमकाजी गुरुङले नेपालमा सम्पूर्ण कार्यक्रमको व्यवस्थापनमा सहयोग पुर्याउने व्यवसायी विजय गुरुङ तथा पत्रकारहरु डण्ड गुरुङ,आश गुरुङप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले यस नेपाल भ्रमणले नेपालस्थित सरकारी, सामाजिक, सांस्कृतिक, स्वास्थ्य, खेलकुद तथा कूटनीतिक निकायसँगको सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभएको छ । उहाँले भ्रमणका क्रममा भएका छलफल र सहकार्यलाई आगामी दिनमा ठोस कार्यक्रममार्फत कार्यान्वयन गर्दै सामाजिक तथा मानवीय योगदानलाई थप प्रभावकारी बनाउने संस्थाको उद्देश्य रहेको प्रस्ट पार्नुभयो । अध्यक्ष जुमकाजी गुरुङले तमु धीं यूकेलाई राहत अभियानमा नगद आर्थिक सहयोग, नैतिक, भौतिक सहयोग पुर्याउने बेलायत, नेपालसहित विश्वभरका दाता र सहयोगीप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।










