लन्डन । नेपालका बाढीपीडितका लागि एभरेस्ट इन ग्रुप बेलायतले साढे ४१ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ ।
ग्रुपले रेस्टुरेन्टहरूमा च्यारिटी डिनर आयोजना गरी संकलन गरिएको रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । ग्रुपका अध्यक्ष पशुपति भण्डारीले अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई ४१ लाख ५० हजार २१७ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको बताए ।
बुधबार लन्डनमा आयोजित कार्यक्रममा ग्रुपका निर्देशक यादव भण्डारीले बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीलाई भौचर हस्तान्तरण गरे । कार्यक्रममा सांसद विदुषी राणाको समेत उपस्थिति थियो ।
ग्रुपका निर्देशक भण्डारीले सहयोगमा सहभागी कर्मचारी, दाताहरू तथा नेपालका मित्रहरूप्रति आभार व्यक्त गरे । एभरेस्ट इन ग्रुपले यसअघि सन् २०१५ को महाभूकम्प र कोभिड–१९ महामारीका समयमा पनि सहयोग गरेको थियो ।






