तस्बिर : नेपाली लिंक
लन्डन । नेपालका बाढीपीडितका लागि बेलायतस्थित पशुपतिनाथ मन्दिरले आधा करोड रुपैयाँ सहयोग पठाएको छ ।
नेपाली दूतावास लन्डनमा बिहीबार आयोजित कार्यक्रममा मन्दिर व्यवस्थापन समिति अध्यक्ष रोमनाथ पाण्डे, ट्रस्टी संयोजक नरेन्द्र कँडेललगायत पदाधिकारीले २४ हजार ७७५ पाउन्ड (करिब ५० लाख ५१ हजार रुपैयाँ) सहयोग रकमको चेक कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीलाई हस्तान्तरण गरेका हुन् । सहयोग ग्रहण गर्दै कार्यवाहक राजदूत दुवाडीले मन्दिर परिवारप्रति आभार व्यक्त गर्दै रकम यथाशीघ्र लक्षित समुदायसम्म पुर्याउने बताए ।
मन्दिरका अध्यक्ष पाण्डेले वास्तविक पीडितसम्म सहयोग प्रभावकारी रूपमा पुगोस् भन्ने उद्देश्यले दूतावासमार्फत नेपाल सरकारलाई रकम हस्तान्तरण गरिएको बताए । उनका अनुसार जनैपूर्णिमा, कृष्णाष्टमी, तीजलगायत धार्मिक तथा सांस्कृतिक कार्यक्रम र भक्तजनबाट प्राप्त भेटी तथा सहयोगबाट रकम संकलन गरिएको हो । अभियानमा सहयोग सबैलाई उनले आभार व्यक्त गरे ।
कार्यक्रममा मन्दिरका संस्थापक तथा पूर्वअध्यक्ष, ट्रस्टी, पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो ।






