श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा

SHARE:

काठमाडौँ । अघिल्लो वर्ष ‘सलह’ उपन्यास ल्याएका कवि श्रवण मुकारुङको नयाँ कविता संग्रह ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ सार्वजनिक भएको छ । ‘बिसे नगर्चीको बयान’ प्रकाशनको १६ वर्षपछि उनले नयाँ कविता संग्रह बजारमा ल्याएका हुन् ।

चार दशकदेखि कलाका विभिन्न विधामा सिद्धहस्त श्रवण मुकारुङले पछिल्लो डेढ दशकमा लेखेका कविता यस संग्रहमा समेटिएका छन् ।

‘मेरो साहित्यिक यात्राको मूल बाटो त कविता नै हो । कवितामै मेरो जीवन संघर्ष जोडिएको छ । आवाज नआइपुग्ने मेघको उल्यालो संग्रहमा बिसे नगर्चीको बयानपछिका कविता पढ्न सक्नुहुनेछ, जहाँ मेरा अनुभव र अभ्यासले अझ परिष्कृत कविता पढ्न पाउनुहुनेछ,’ कवि श्रवण मुकारुङले भने ।

‘आवाज नआइपुग्ने मेघको उज्यालो’ कविता संग्रहमा कवि मुकारुङका राजनीतिक, सामाजिक, सांस्कृतिक चेतसहितका सुन्दर कलात्मक कविता संगृहीत छन् । काव्य साधनाको चार दशकपछि उनको यो चौथो कविता संग्रह पब्लिकेसन नेपालयबाट प्रकाशन भएको हो ।

श्रवण मुकारुङ पछिल्लो पाँच वर्षयता शनिवासरीय साप्ताहिक कविता शृंखला नेपालयको ई–कविताका संयोजक हुन् । पछिल्लो पाँच महिनायता नेपालयको आरशालामा काव्य–श्रवण नामक मासिक कार्यक्रम पनि उनी संयोजन गरिरहेका छन् ।

‘कवि श्रवण मुकारुङ अग्रज र अनुज पुस्ताका कविहरूको सेतुका रुपमा सक्रिय छन् । उनी कलाको फुलटाइम कार्यकर्ता हुन्,’ नेपालयका सम्पादक विमल आचार्यले भने, ‘राजनीति, समाज, संस्कृतिलाई साहित्यिक–कलात्मक कलेवरमा प्रस्तुत गर्ने सीप श्रवण मुकारुङमा अद्भुतै छ । नयाँ पुस्ताले लामो समयदेखि उनका कविता एक ठाउँमा पढ्न पाएका थिएनन् । श्रवण मुकारुङसँग ‘सलह’ उपन्यासलगत्तै अर्का प्रकाशन सहकार्य गर्न पाउँदा उनका पाठकझैँ हामी पनि खुसी छौँ ।’

कविताका अतिरिक्त गीत विधामा पनि स्थापित मुकारुङको गत वर्ष नेपालयबाटै प्रकाशित ‘सलह’ उपन्यासले पद्मश्री साहित्य पुरस्कार प्राप्त गरेको छ ।

पब्लिकेसन नेपालयबाट प्रकाशित २१२ पृष्ठको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ कविता संग्रहको मूल्य ६२५ रुपैयाँ रहेको छ । पुस्तक देशभरका प्रमुख पुस्तक पसलका साथै नेपाल प्रज्ञा-प्रतिष्ठानमा असोज १८ गतेसम्म भइरहेको बृहत् पुस्तक प्रदर्शनीमा नेपालयको स्टलमा विशेष छुटमा पाइन्छ । साथै, थुप्रैडटकम र अमेजनबाट पनि संसारभरबाट किन्न सकिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!