बेलायत । तमुधीं यूकेले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत आगामी अक्टोबर १७ शनिबार अल्डरसटस्थित एम्पायर ब्याङ्क्वेटिङ हलमा ‘आजीवन सदस्य रात्रीभोज–२०२६’ आयोजना गर्ने भएको छ। कार्यक्रम अपराह्न ४ बजेबाट सुरु हुनेछ।
तमुधीं यूकेले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको वार्षिक तालिकाअनुसार आयोजना गर्न लागेको रात्रीभोजको मुख्य उद्देश्य आजीवन सदस्यहरूबीच मैत्रीपूर्ण भेटघाट तथा आपसी परिचय अभिवृद्धि गर्नु रहेको वरिष्ठ उपाध्यक्ष परशु गुरुङले जानकारी दिए।
उनका अनुसार कार्यक्रममा तमु समुदायको एकता र सशक्तीकरणलाई थप मजबुत बनाउने, नयाँ आजीवन सदस्यहरूलाई तमुधीं यूके परिवारमा स्वागत गर्ने तथा संस्थाका लागि निरन्तर योगदान पुर्याउँदै आएका उत्कृष्ट समाजसेवी व्यक्तित्वलाई ‘आदर्श तमु’ घोषणा गरी सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ।
कार्यक्रममा आफूले चिनेका तथा आफन्तमध्ये अहिलेसम्म आजीवन सदस्य नबनेका व्यक्तिहरूलाई समेत सदस्यता लिएर सहभागी गराउन तमुधीं यूकेले सम्पूर्ण आजीवन सदस्यहरूलाई आग्रह गरेको छ।
तमु समुदायको मौलिक भेषभूषा, संस्कृति र पहिचानलाई सम्मान गर्दै कार्यक्रममा सहभागी हुने सबैलाई अनिवार्य रूपमा तमु पोशाकमा उपस्थित हुन आयोजकले अनुरोध गरेको छ।
तमुधीं यूकेले यो कार्यक्रम सम्पूर्ण तमु समुदायको आफ्नै कार्यक्रम भएकाले उल्लेख्य सहभागिता जनाई कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सबै आजीवन सदस्य तथा समुदायका सदस्यहरूलाई आग्रह गरेको छ।






