बाढीपीडितका लागि इलाम समाज बेलायतद्वारा ४ लाखभन्दा बढी सहयोग

SHARE:

लन्डन । रसुवामा हालै गएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि इलाम समाज बेलायतले ४ लाख ३ हजार ५ सय ८७ रुपैयाँ सहयोग गरेको छ।

समाजको पहलमा बेलायतका विभिन्न शहरमा रहेका इलामेली तथा सहयोगी मनहरूबाट संकलित १ हजार ९ सय ९५ पाउन्डलाई १ पाउन्ड बराबर २०२ रुपैयाँ ५० पैसाको विनिमय दरमा रूपान्तरण गरी रु. ४,०३,५८७ बनाइएको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समाजका महासचिव चोक गुरुङले जानकारी दिए।

गुरुङका अनुसार संकलित रकम दमन्ती कुमारी गुरुङमार्फत प्रभु बैंकबाट प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो। रकम दुई पटक गरी बैंकमा जम्मा गरिएको उनले बताए।

रसुवामा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको र कैयौँ परिवार प्रभावित भएको खबरपछि पीडितको दुःखमा ऐक्यबद्धता जनाउँदै समाजले सहयोग संकलन अभियान सञ्चालन गरेको हो। समाजको आह्वानमा बेलायतका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका ४१ व्यक्ति तथा परिवारले आफ्नो क्षमताअनुसार सहयोग गरेका थिए। अभियानमा न्यूनतम ५ पाउन्डदेखि अधिकतम ११० पाउन्डसम्म सहयोग संकलन भएको थियो।

समाजका अध्यक्ष धनबहादुर राईले मातृभूमिमा परेको विपत्तिमा बेलायतमा रहेका नेपालीले पनि आफ्नो तर्फबाट सहयोग गर्न सकिन्छ भन्ने भावनाका साथ अभियान सञ्चालन गरिएको बताए।

“विपत्तिमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा सकेको सहयोग गर्नु हाम्रो मानवीय दायित्व हो। बेलायतमा रहे पनि मातृभूमिमा परेको दुःखमा साथ दिन सकिन्छ भन्ने भावनाका साथ हामीले यो अभियान सञ्चालन गरेका हौँ,” अध्यक्ष राईले भने।

समाजले संकलित रकम सम्बन्धित निकायमार्फत प्रभावित परिवारसम्म पुगेर राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, अभियानमा सहयोग गर्ने सम्पूर्ण दाता, समाजका सदस्य तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गरेको छ।

इलाम समाज बेलायतले विगतदेखि नै सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ। मातृभूमिमा आइपर्ने प्राकृतिक विपत्ति तथा आपत्कालमा प्रवासी नेपालीहरूको सामूहिक भावनालाई जोड्दै सहयोग गर्दै आएको समाजले जनाएको छ।

समाजका अनुसार यो आर्थिक सहयोग मात्र नभई ‘तपाईंहरूको दुःखमा हामी पनि साथमा छौँ’ भन्ने मानवीय सन्देशसमेत हो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!