गुरुङ समुदायमा तमु ल्होसारको महिमा

SHARE:

गौरी तमु
तमु यानेकि गुरुङहरु अन्नपूर्ण, मनास्लु हिमचुली पहाडको दक्षिण क्षेत्र हुँदै नेपालको पूर्वी पहाड र केही मात्रामा भारतको सिक्किम, सिलगुडी हुँदै भुटानसम्म छरिएर रहेका छन् । बढ्दो भूमण्डलीकरणका कारण गुरुङहरु हाल संसारभर छरिएर रहेका छन् । आफू जहाँ रहेपनि आफ्नो भाषा, संस्कार संस्कृतिलाई माया गर्ने गुरुङ समुदायले पुस १५ गतेलाई महान् चाड तमु ल्होसार/ल्होछारको रुपमा संसारभर धुमधामले मनाउँछन् । यस दिनमा गुरुङ समुदायले पुरानो ल्हो (वर्ग)को बिदाई र नयाँ ल्हो (वर्ग)को स्वागत गर्दै नयाँ वर्षको रुपमा यो चाड मनाउँछन् । अतः ल्होसारले गुरुङ समुदायमा नयाँ संवत्को सुरुआत गराउँछ । यस वर्ष गुरुङ समुदायले पुरानो खि ल्हो (कुकुर वर्ग) को बिदाई र नयाँ फो (मृग वर्ग)को स्वागत गर्दै हर्षोल्लासकासाथ तमु ल्होसार/ल्होछार मनाउँदैछन् । ल्होसार/ल्होछारको अवसरमा गुरुङ समुदायमा गाउँदेखि सहर र स्वदेशदेखि विदेशसम्म विभिन्न कार्यक्रमहरु भइरहेका छन् । ल्होसारलाई लक्षित गरी सांगीतिक, साहित्यिक, शैक्षिक, स्योंकै (वनभोज) कार्यक्रम, चिठ्ठा खोल्ने कार्यक्रम, परदेशिएकाहरु घरदेशमा आउने एवं ल्होसारकै लागि विभिन्न सांस्कृतिक कार्यक्रम र गुरुङ पुरोहित (खेगी, लम)हरु लिएर विदेश जानेक्रम बढ्दो छ ।

गुरुङ भाषामा ल्हो भनेको वर्ग र सार भनेको फुल्नु हो । तर, गुरुङ समुदायले होसार र ल्होछार दुवै शब्दको प्रयोग गरी आफ्नो नयाँ वर्ष मनाउँछन् । यहीँ दिनमा आफ्नो गुरु प्रथम महापुरुषको जन्म भएको दिनको रुपमा पनि गुरुङ समुदायले यो चाड मनाउँछन् । हिन्दुशास्त्रमा १२ वटा राशीको महत्व रहेजस्तै गुरुङशास्त्रमा पनि चरा र जनावरको नामबाट नामकरण गरिएका १२ वटा वर्गहरुको विशेष महत्व रहन्छ । प्रत्येक वर्ष एउटा वर्गले भोग गरेपछि अर्को वर्ष नयाँ वर्गको सुरुआत हुन्छ । गुरुङहरु गुरुङ पात्रोअनुसार नै आफ्नो उमेर गणना गर्छन् भने लामा र पच्युशास्त्रअनुसार वर्ग हेरेर शुभ–अशुभ, फाप्ने– नफाप्ने पत्ता लगाई लामा र पच्यु शास्त्रअनुसार नै पूजापाठ र ग्रहशान्ति गर्छन् । पुस १४ गते रातिदेखि नै विशेषतः गुरुङ युवायुवती ल्होसार/ल्होछारको स्वागत गर्न आगो बालेर नाचगान गर्दै जागा बस्छन् भने १५ गते बिहानै आफ्नो गुरुङ पोसाकमा सजिएर गुम्बा र क्होंइबो(मन्दिर)हरुमा गई पूजापाठ गरी लम, पच्यु गुरुहरुद्वारा रिपा, खदा लगाई मान्यजनबाट आशीर्वाद ग्रहण गर्दै एकापसमा शुभकामना आदानप्रदान गर्दै यो चाड मनाउँछन् ।

उहिले बाक्लो गुरुङबस्तीहरुका घरमा सबै परिवारहरु हुन्थे । सहर बजार र विदेशमा भन्दा गाउँघरमा ल्होसारको रौनक बेग्लै हुन्थ्यो । घरहरु अहिलेजस्तो मान्छेविहीन रित्तो हुँदैनथे । ल्होसार आएपछि बाटो, घर, चोक र आँगनहरु सामूहिक रुपमा सरसफाई हुन्थे । सामूहिक रुपमै स्योंरा (भैलो) खेलेर उठेको चामल र रकमहरुबाट सामाजिक कामहरु गर्नुका साथै फराकिलो फाँट या खेतबारीमा गएर सामूहिक रुपमा ल्होसार मनाइन्थ्यो । आफ्ना नातेदार एवं आफ्ना छोरीज्वाइँहरुलाई मीठोमसिनो खानका लागि निम्त्याइन्थ्यो । ल्होसार मनाउँदा आफ्नै गाउँका कलाकारहरुद्वारा पुरानो लोकभाकामा नाचगान एवं रमाइलो हुन्थ्यो । नाचगानमा बजाइने सामग्रीहरु डम्फू, मादल, खैजडी, सारङ्गीहरु गाउँघरमै बनाइन्थे । गाउँघरमै बुनिएका गुरुङ पोसाकहरुजस्तो भाङ्ग्रा, घलेक, पछ्यौरी लगाइन्थ्यो । आर्थिक हिसाबले सबै स्तरका गुरुङहरुले समान किसिमले एकै ठाउँमा बसेर ल्होसार मनाउँथे । आफ्नै मातृभाषा बोलिन्थ्यो, आफ्नै भाषामा गीत गाइन्थ्यो । एकआपसमा गहिरो आत्मीयता हुन्थ्यो । पालैपालो एक गाउँले अर्को गाउँलाई भोज खुवाउने कार्यक्रमहरु पनि हुन्थे । ल्होसारका बेला छेलोजस्ता क्रियाकलापले स्थानीय गीत, संगीत र गुरुङ भाषाको संरक्षणमा सहयोग पु¥याउँथ्यो । गाउँघरमै बुनिएका गुरुङ पोसाकको प्रयोगले स्थानीय व्यवसायको प्रवद्र्धन गर्दथ्यो । अहिलेजस्तो सूचना र सञ्चारको विकास थिएन जसकारण शुभकामना आदानप्रदान प्रत्यक्ष भेटघाटमा मात्रै सीमित हुन्थ्यो । उहिलेको ल्होसार तडकभडक र विवादरहित अर्गानिक हुन्थ्यो ।

अहिले गुरुङहरु गाउँघर छोडेर सहर बजार र विदेशसम्म छरिएर रहेका छन् । गुरुङ गाउँघरहरु सुनसान छन् । ल्होसारको रौनक गाउँमा कम, सहरमा बढी र अझै बढी बेलायतलगायत संसारभर बढ्दो छ । ल्होसारका कार्यक्रमहरु अब फाँट र खेतका गराहरुबाट समाजघर र पाटी प्यालेसहरुमा रुपान्तरण भएका छन् । अहिले हप्तादिन अगाडिदेखि नै सप्ताहव्यापी कार्यक्रमहरु र भोज खाने चलन बढ्दो छ । पोसाकको नाउँमा गहना प्रदर्शनीजस्तो संस्कार बढ्दैछ । युवायुवतीमा पुरानो डिजाइनका गुरुङ पोसाकलाई आधुनिक किसिमले पहिरिने क्रम बढ्दो छ । जुन दुःखद् कुरो हो । ल्होसारमा विस्तारै विदेशी गीत, संगीतको समेत प्रभाव परिरहेको छ । पोखराको सन्दर्भमा एउटै गाउँका गुरुङहरु बसाइँसराइसँगै सहर पसेपछि विभिन्न समाज र समूहमा प्रवेश गर्दैछन् । जनसंख्या वृद्विका कारण अब गाउँमाजस्तो सहरमा ल्होसार एकै ठाउँमा मनाउन सम्भव पनि छैन । ल्होसारको शुभकामना आदानप्रदानको कार्यक्रम सूचना र सञ्चारका माध्यमबाट पनि दिन थालिएका छन् ।

सामाजिक सञ्जालहरुको प्रयोगले ल्होसार/ल्होछार कार्यक्रमको विशेषता र महत्व अहिले गैरगुरुङ समुदायले पनि बुझ्दैछन् । त्यसो त, ल्होसारकै अवसर पारेर नयाँ कामहरुको सुरुआत गर्ने, पुस्तकहरु प्रकाशित गर्ने, विमोचन गर्ने, समाजसेवामूलक कामहरु गर्ने संस्कारको सकारात्मक सुरुआत पनि भएको छ । तर, अहिलेको ल्होसार कार्यक्रमहरुमा धेरै ठाउँमा गुरुङ गीत कम र विदेशी गीतहरु बढी बज्न थालेका छन् । त्यस्तै अघिल्लो पुस्ताबाट दोस्रो पुस्तामा सिप हस्तान्तरण नहुँदा र सबै सहर र विदेश पलायन भएपछि गाउँघरमै तानमा बुनीने राडीपाखीहरु, गुरुङ पोसाकहरु र स्थानीय पेसाहरु नै सङ्कटमा छन् । नेपालमा अहिले गुरुङ समुदायको तमु ह्युल छोंज धिं (गुरुङ राष्ट्रिय परिषद्) तमुधिं, तमु बौद्ध सेवा समिति, तमु प्ये ल्हुँ संघलगायतका संघसंस्थाका शाखाहरुका इकाई, केन्द्र हुँदै विदेशसम्म सक्रिय छन् । गोर्खा सैनिकहरुले आफ्नो सपरिवार नै बेलायत लान थालेपछि अहिले बेलायतमा ठूलो गुरुङ समुदाय रहेका छन् । त्यसकारण पनि नेपाल बाहिर बेलायतमा सबैभन्दा ठूलो ल्होसार कार्यक्रमहरु हुने गरेको छ ।

ल्होसार/ल्होछारको को अवसरमा गुरुङहरुको ऐतिहासिक थलो पोखराका गुरुङहरुले पुुस १५ गते आआफ्नो संस्थामा ल्होसार/ल्होछार मनाउने र १६ गते पोखरा प्रदर्शनी केन्द्रमा संयुक्त ल्होसार/ल्होछार मनाउने कार्यक्रम रहँदै आएकोमा यो वर्ष भने तमु प्ये ल्हु संघ केन्द्रीय कार्यसमितिले पुस १२ देखि १६ गतेसम्म बृहत् फो ल्होसार महोत्सव मनाएको छ भने संयुक्त ल्होसार कार्यक्रम पुस १६ गते तमुधिं नेपालको प्राङ्गणमा आयोजना गरिएको थियो । यसरी ल्होसारको महिमा उहिलेभन्दा अहिले झन् बढ्दै गइरहेको छ । तर, विडम्बना ! गणतन्त्र स्थापनापछि आदिवासी जनजातिहरुले राष्ट्रव्यापी रुपमा पाउँदै आएको राष्ट्रिय सार्वजनिक बिदालाई कटौती गरी अहिले स्थानीय सरकारले सम्बन्धित प्रदेशमा मात्रै ल्होसारको बिदालाई सीमित गरिदिँदा ल्होसार पर्व राज्यद्वारा नै उपेक्षित पर्वको रुपमा स्थापति भएको छ । राज्यले कमसेकम यो देशका छठ, इद, क्रिसमस ल्होसार मनाउने नागरिकले म पनि यहीँ देशको नागरिक हुँ भनेर गर्व गर्नसक्ने वातावरण आउँदो वर्षमा सिर्जना गरोस् सबैलाई तमु फो ल्होसारको आशिमला !

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!