बेलायतमा पूर्वमन्त्री वर्षमान पुनसँग भूपू गोर्खाको पेन्सन, वंशजको नागरिकता र मतदानबारे अन्तरक्रिया

SHARE:

बेलायत । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेको आयोजनामा नेपालका पूर्वमन्त्री नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुनसँग बेलायतको अल्डरसटस्थित सुशिमोटो रेस्टुरेन्टमा आइतबार, अक्टोबर ४, २०२६ का दिन एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेफिन युकेका अध्यक्ष मेजर योगेशकुमार कोयी राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्वमन्त्री पुन प्रमुख अतिथि रहेका थिए। संस्थाका महासचिव फ्रमबहादुर दुराले सञ्चालन गरेको सो अन्तरक्रिया कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नेफिन युकेका अध्यक्ष मेजर योगेशकुमार कोयी राई, महासचिव फ्रमबहादुर दुरा, कोषाध्यक्ष मेजर इन्द्रप्रसाद राई, संस्थापक अध्यक्ष थर्क राना मगर, निवर्तमान अध्यक्ष कर्मा पहाडी शेर्पा, नेफिन बेल्जियमका निवर्तमान अध्यक्ष वीरमान घर्ती मगर, मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष रुद्र थापा मगर, गेसोका सभापति कृष्णकुमार राई, एनआरएन आइसिसिका उपाध्यक्ष विश्वासदीप तिगेला र नेपाल कम्युनिष्ट पार्टीका युवा नेता वसन्त राई लगायतले छलफलमा भाग लिएका थिए।

अन्तरक्रियाका क्रममा मुख्यतया भूतपूर्व गोर्खाहरूको पेन्सन, वंशजको नागरिकताको निरन्तरता र गैरआवासीय नेपालीहरूको मतदान अधिकार (भोटिङ राइट) का विषयमा पूर्वमन्त्री पुनसँग व्यापक अन्तरसंवाद र छलफल भएको थियो।

छलफलको क्रममा मन्त्री पुनले भूतपूर्व गोर्खाहरूको पेन्सनका विषयमा नेपाल सरकार र बेलायत सरकारबीच निरन्तर संवाद भइरहेको बताए। त्यस्तै, वंशजको नागरिकताको निरन्तरता सम्बन्धमा हाललाई एनआरएनए नागरिकतालाई नै थप व्यवस्थित गर्नुपर्ने उनले बताए। एनआरएनए नागरिकतालाई व्यवस्थित गर्न सके पैतृक सम्पत्ति राख्न, घरजग्गा खरिद–विक्री गर्न तथा निर्धक्क लगानी गर्न सहज हुने बताउँदै उनले राजनीतिक परिवर्तन र निजामती प्रशासनको ढिलासुस्तीका कारण यो अझै पूर्ण रूपमा व्यवस्थित हुन नसकेको धारणा राखे। भूतपूर्व गोर्खाहरूका लागि वंशजको नागरिकताको निरन्तरता दिने विषयमा निकट भविष्यमा संविधान संशोधन गरेर मात्रै यो सम्भव हुने उनले प्रस्ट पारे।

मतदान अधिकारबारे बोल्दै मन्त्री पुनले विश्वका विभिन्न देशहरूमा इ-भोटिङ, पोस्टल भोट र इन्टरनेट भोटिङ जस्ता अभ्यासहरू भए पनि ती अत्यधिक खर्चिलो रहेको अध्ययनले देखाएको बताए। उक्त प्रक्रियाबाट मतदान गराउँदा लाग्ने खर्च नेपालले थेग्न सक्छ कि सक्दैन भन्ने विषय सोचनीय रहेको उनले बताए।

कार्यक्रममा नेफिन युकेका सल्लाहकार तथा एभरेस्ट टाइम्स युकेका सम्पादक दूत पुन (चिम्खोले काइला), गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु, मान गुरुङ, कलाकार अस्मिता राना मगरलगायत धेरै प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो। सो कार्यक्रममा कलाकार राना मगरले नृत्य प्रस्तुत गरेकी थिइन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!