पोखरा । पोखरा–१० रामघाटस्थित बौद्ध अर्घौं सदनको शनिबार सम्पन्न ४९औँ वार्षिक साधारणसभा तथा २३औँ अधिवेशनले मोतीप्रसाद गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।
वि.सं. २०३५ सालमा स्थापित बौद्ध अर्घौं सदनको समितिको सचिवमा बिलबहादुर गुरुङ तथा सदस्यहरूमा बिलबहादुर गुरुङ, पञ्चकुमारी गुरुङ, भुविन्द्रप्रसाद गुरुङ, सपना गुरुङ, लक्ष्मी गुरुङ, ओमप्रसाद गुरुङ, कन्यकुमारी गुरुङ र खिमबहादुर गुरुङ निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक इन्जिनियर किसानसिंह गुरुङले जानकारी दिनुभयो। निर्वाचन समितिमा संयोजक इन्जिनियर किसानसिंह गुरुङ तथा सदस्यहरूमा अधिवक्ता आर्जु गुरुङ र मेजर धनप्रसाद गुरुङ रहनुभएको थियो।
नवनिर्वाचित अध्यक्ष मोतीप्रसाद गुरुङले सेवा निवृत्तिपश्चात् सेवामा जुट्ने क्रममा बौद्ध अर्घौं सदनजस्तो गरिमामय संस्थाको अध्यक्षको जिम्मेवारी प्राप्त गरेकोमा खुसी व्यक्त गर्नुभयो। विधानतः सदनको कार्यभार आगामी पुस १५ गते ल्होछारको अवसरमा सम्हाल्ने प्रचलन रहे पनि आफ्नो कार्यसमिति सक्दो सेवामा जुट्ने उहाँले बताउनुभयो। उहाँले विद्युतीय शवदाहगृह सञ्चालनका लागि पहल गरिहाल्ने घोषणा पनि गर्नुभयो।
यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बौद्ध अर्घौं सदनले स्थापनाकालदेखि गरेको प्रगतिको प्रशंसा गर्दै सदनका अग्रजहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।
उहाँले बौद्ध अर्घौं सदनको स्थापनाकालको उद्देश्य र आवश्यकतालाई अहिलेको समयअनुसार मूल्यांकन गरी लक्ष्य निर्धारण गरेर अघि बढ्नुपर्ने सुझाव दिनुभयो। कार्यक्रममा संस्थापक अध्यक्ष क्याप्टेन बुद्धिबल गुरुङको स्मृतिमा पूर्वराज्यमन्त्री तथा धर्मोदय सभाका अध्यक्ष इन्द्रबहादुर गुरुङजस्ता अग्रजलाई सम्मान गर्न पाउनु एवं उहाँको प्रेरणामूलक अभिव्यक्ति सुन्न पाउँदा आफूले अत्यन्तै सौभाग्य सम्झेको बताउनुभयो।
आफू प्रजिअ भएर कास्कीमा रहँदा पदीय हैसियतले मात्रै नभई तमुहरूका लागि कुमानसिंह गुरुङको नाताले पनि सक्दो सेवामा जुट्ने उहाँले बताउनुभयो।
बौद्ध अर्घौं सदनका संस्थापक अध्यक्ष क्याप्टेन बुद्धिबल गुरुङ स्मृति सम्मानबाट सम्मानित, बौद्ध धर्मको सेवामा समर्पित, धर्मोदय सभाका अध्यक्ष तथा पूर्वराज्यमन्त्री स्याङ्जा पेल्काचौर निवासी विशिष्ट अतिथि इन्द्रबहादुर गुरुङले सदनले आफूलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो।
उहाँले तमुहरू हिन्दु हुँदै नभएको दाबी गर्दै आफूहरू तमु बौद्ध भएको बताउनुभयो। पछिल्लो क्रममा केही बोन धर्मका कुरा आए पनि तमुहरू हिन्दु हुँदै नभएको उहाँको जोड थियो।
हिन्दु अधिराज्यका नाममा नेपाल र नेपालीलाई हिन्दुकरण गरेर मौलिकता सखाप पारिएको उल्लेख गर्दै उहाँले ३८ प्रतिशत अहिन्दु बसोबास गर्ने नेपालमा ९३ प्रतिशत हिन्दु कसरी हुन सक्छ भन्दै प्रश्न गर्नुभयो। हिन्दु राजावादीका नाममा तमुवान प्राप्तिको अवसर गुमाउनु परेको उहाँको भनाइ थियो।
सम्मानित व्यक्तित्व इन्द्रबहादुर गुरुङका बारेमा बौद्ध अर्घौं सदनका पूर्वअध्यक्ष तथा सल्लाहकार एवं सम्मानित व्यक्तित्व छनोट समितिका संयोजक शंकर गुरुङले जानकारी गराउनुभयो। उहाँले सदनका संस्थापक अध्यक्ष स्वर्गीय क्याप्टेन बुद्धिबल गुरुङको स्मृतिमा अग्रज तथा बौद्ध धर्मका लागि अतुलनीय योगदान पुर्याउनुभएका पूर्वराज्यमन्त्री इन्द्रबहादुर गुरुङ र संस्थापक गुरुङको जीवनी तथा योगदानबारे जानकारी गराउनुभएको थियो।
सम्मानित व्यक्तित्व इन्द्रबहादुर गुरुङलाई १ लाख रुपैयाँ, सम्मानपत्र, भाङ्ग्रा र खादासहित सम्मान गरिएको थियो।
तमु धिं नेपालकी वरिष्ठ उपाध्यक्ष गीमाया गुरुङले शुभकामना व्यक्त गर्दै शान्ति, सद्भाव, एकता तथा संस्कार–संस्कृतिका लागि बौद्ध अर्घौं सदनको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले सबै तमुहरू एकताबद्ध भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
सम्पूर्ण क्षेत्रीय तमुहरूको तर्फबाट सोंपाल तमु समाजकी अध्यक्ष सावित्री गुरुङले शुभकामना व्यक्त गर्दै समय, अनुशासन र निरन्तर क्रियाशीलताका लागि बौद्ध अर्घौं सदनको प्रशंसा गर्नुभयो। उहाँले बौद्ध अर्घौं सदनको विकासका लागि सोंपाल लगायत तमु समाजहरूको योगदानबारे स्पष्ट पार्नुभयो।
शुभकामना व्यक्त गर्दै धर्मोदय सभा कास्कीका पूर्वसचिव प्रकाशभान गुभाजुले बौद्ध दर्शनलाई व्यवहारमा कार्यान्वयन गरिए शान्ति र सभ्य समाज निर्माण हुने बताउनुभयो। उहाँले सबै बौद्ध धर्मावलम्बीहरूको एकतामा जोड दिँदै बौद्ध अर्घौं सदन ऐतिहासिक संस्थाका रूपमा अघि बढिरहेको बताउनुभयो।
साधारणसभा तथा अधिवेशनमा सचिव बिलबहादुर गुरुङले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष भविन्द्र गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र सदस्य बिलबहादुर गुरुङले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्ताव पारित गरिएको थियो।
बौद्ध अर्घौं सदनका अध्यक्ष रुद्रबहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मोतीप्रसाद गुरुङले स्वागत तथा सचिव बिलबहादुर गुरुङले सञ्चालन गर्नुभएको थियो।






