लन्डन । बेलायतमा दुई दशकदेखि सामुदायिक पत्रकारितामा स्थापित एभरेस्ट टाइम्स यूकेका सम्पादक डा. दुत पुन (चिमखोले काईला) तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मान’ बाट सम्मानित भएका छन् ।
डा. पुनले पत्रकारितामार्फत समुदायमा पुर्याएको योगदानको कदर गर्दै समाजले शनिबार ३ अक्टोबर २०२६ मा लन्डनको वेम्बलीस्थित बारहम पार्कस्थित सामुदायिक भवनमा आयोजित १९औं वार्षिकोत्सवको अवसरमा ‘तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मान–२०२६’प्रदान गरेको हो । सम्मानित डा. पुनलाई प्रमुख अतिथि प्रेमबहादुर गुरुङ, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ र अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेलगायतले फेटा, खादा र सम्मानपत्र प्रदान गरे ।
मगर संघ यूकेका पूर्वअध्यक्षसमेत रहेका पूर्व ब्रिटीस गोर्खा डा.पुन लामो समयदेखि पत्रकारिता, साहित्य र समाजसेवामा सक्रिय छन् । सम्मानित डा. पुनले एभरेष्ट टाइम्सले बेलायतलाई आधार मानेर लामो समयदेखि प्रिन्ट र अनलाइन माध्यम everesttimes.net द्वारा पुर्याएको सामुदायिक योगदान सम्झेर तमु समाज यूकेले गरेको सम्मानप्रति अध्यक्ष विन्दुकुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङलगायत सबै टिमप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे । डा. पुनले यो सम्मान आफूलाई व्यक्तिरुपमा प्राप्त भएको नभइ समग्र एभरेष्ट टाइम्स यूके र नेपाल टिमका साथीहरूको योगदान बिना सम्भव नभएको र भन्दै पत्रकारितामा थप जिम्मेवारी बोध भएको बताए ।











