शिवकुमार गुरुङ
लन्डन । तमु समाज यूके स्थापनाको १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गरेको छ ।
समाजले शनिबार ३ अक्टोबर २०२६ मा लन्डनको वेम्बलीस्थित बारहम पार्कमा रहेको आफ्नै सामुदायिक भवनमा १९औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । समाजकी अध्यक्ष विन्दु कुमारी गुरुङ घलेको अध्यक्षता तथा समाजका ज्येष्ठ नागरिक प्रेमबहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सदस्य, अतिथि तथा शुभचिन्तकहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा रोयल बरो अफ ग्रिनविचका पूर्वमेयर तथा काउन्सिलर जीत रानाभाट, सोही बरोकी काउन्सिलर गौमाया गुरुङ रानाभाट, बार्नेटका काउन्सिलर कमल गुरुङ, स्विन्डनका काउन्सिलर ज्ञानप्रसाद गुरुङ, गोरखा जिल्ला क्वोने (घोताने/घोण्डे) तमु (गुरुङ) समाज यूकेका अध्यक्ष टकबहादुर गुरुङ, गैरआवासीय नेपाली संघ यूकेका उपाध्यक्ष तथा धादिङ–नुवाकोट समाज यूकेका निवर्तमान अध्यक्ष धनबहादुर तामाङ, एभरेस्ट टाइम्स यूकेका सम्पादक तथा मगर संघ यूकेका पूर्व अध्यक्ष डा. दुत पुन (चिम्खोले काइँला) तथा नेपाली लिंकका प्रधान सम्पादक नवीन पोखरेल र सम्पादक ध्रुवराज अर्याललाई आमन्त्रण गरिएको थियो।
अध्यक्ष विन्दुकुमारी गुरुङ घले, प्रमुख अतिथि प्रेमबहादुर गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष विमला गुरुङ र युवा समूहका अध्यक्ष प्रज्वलमान गुरुङले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गर्नुभयो।

समारोहमा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्वअध्यक्षहरू शिवशरण गुरुङ, अर्जुनकुमार गुरुङ, शिवचन्द्र गुरुङ र शिवकुमार गुरुङ, आमा समूहकी अध्यक्ष विमला गुरुङ तथा निवर्तमान अध्यक्ष उमादेवी गुरुङ, युवा समूहका निवर्तमान अध्यक्ष ओमकार गुरुङ, सल्लाहकार तथा बेलायतका विभिन्न स्थानबाट आएका सदस्यहरू सहभागी हुनुहुन्थ्यो।
महासचिव सुब घलेले सञ्चालन गर्नुभएको कार्यक्रममा सुरक्षासम्बन्धी जानकारी दिइनुका साथै आशनग्रहण गराइएको थियो । त्यसपछि वरिष्ठ उपाध्यक्ष भीमबहादुर गुरुङले स्वागत मन्तव्य दिनुभयो। महासचिव घलेले संस्थाको स्थापना, ऐतिहासिक पृष्ठभूमि र हालसम्मका उपलब्धिहरूको संक्षिप्त विवरण प्रस्तुत गर्नुभयो।
शुभकामना मन्तव्यमा पूर्वअध्यक्ष शिवशरण गुरुङले १९ वर्षअघि रोपिएको सानो बिरुवा आज भाषा, संस्कृति र साझा पहिचानको संरक्षण गर्ने विशाल वृक्ष बनेको बताउनुभयो। प्रवासमा रहे पनि आफ्नो माटो र संस्कारप्रतिको आत्मीयता कायम रहेको उल्लेख गर्दै उहाँले अग्रजहरूले बसालेको जगमा संस्थाको यात्रालाई अघि बढाउने जिम्मेवारी युवा पुस्ताको रहेको धारणा व्यक्त गर्नुभयो । समाजद्वारा प्रदान गरिएका सम्मानलाई योगदानप्रतिको कृतज्ञता र प्रेमको प्रतीकका रूपमा व्याख्या गर्दै उहाँले एकता, संस्कार र आगामी पुस्ताको उज्ज्वल भविष्यका लागि सबैलाई मिलेर अघि बढ्न आह्वान गर्नुभयो।
संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले भाषा, संस्कार र संस्कृति संरक्षण, सदस्यहरूको सुख–दुःखमा साथ दिने तथा नेपाल र अन्तर्राष्ट्रियस्तरमा मानवीय सहयोग पुर्याउने कार्यमा संस्थाले खेलेको भूमिकाको चर्चा गर्नुभयो। उहाँले युवा पुस्तालाई संस्थाको नेतृत्व र सांस्कृतिक निरन्तरताको जिम्मेवारी लिन आग्रह गर्नुभयो।

काउन्सिलर जीत रानाभाटले समाजको आतिथ्य, समाजसेवा, युवा प्रोत्साहन तथा स्थानीय सरकारसँगको सहकार्यको प्रशंसा गर्नुभयो।

काउन्सिलर गौमाया गुरुङ रानाभाटले अध्यक्ष बिन्दु गुरुङको नेतृत्वको सराहना गर्दै महिलाहरूलाई समाजसेवा र स्थानीय नेतृत्वमा अघि बढ्न तथा परिवारलाई उनीहरूको सहभागितामा साथ दिन आग्रह गर्नुभयो।
काउन्सिलर कमल गुरुङले प्रवासी नेपाली समुदायलाई एकताबद्ध बनाउन संस्थाले पुर्याएको योगदानको चर्चा गर्दै सञ्चारमाध्यमलाई समाजका गतिविधिको प्रचारप्रसार गर्न आग्रह गर्नुभयो।
काउन्सिलर ज्ञानप्रसाद गुरुङले संस्थापक तथा वर्तमान नेतृत्वको योगदान र महिला नेतृत्वको कदर गर्दै आवश्यक सहयोग र सहकार्य गर्न आफू तत्पर रहेको बताउनुभयो।

कार्यक्रममा नयाँ आजीवन सदस्यहरू रनबहादुर घले, प्रितिमाया घले, इन्द्रबहादुर गुरुङ, हुमकुमारी गुरुङ रदेविसरी गुरुङलाई स्वागत गर्दै प्रमाणपत्र, ब्याज र खादा प्रदान गरिएको थियो।
त्यस्तै, उच्च शिक्षा तथा व्यावसायिक क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने युवाहरूलाई पनि सम्मान गरिएको थियो । अध्यक्ष बिन्दु कुमारी गुरुङ घले र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले चार्टर्ड इन्जिनियरको व्यावसायिक मान्यता प्राप्त गर्नुभएका सिभिल इन्जिनियर दिवस गुरुङ तथा पत्रकारिता र फोटोग्राफीमा स्नातकोत्तर हासिल गर्नुभएका निरञ्जन घलेलाई सम्मान गर्दै उज्ज्वल भविष्य र थप सफलताको शुभकामना दिनुभयो।
समाजको सामुदायिक भवनमा नेपालको गाउँघर र मौलिक जनजीवनको झल्को दिने भित्तेचित्र तयार गरी सहयोग पुर्याउनुभएकी समाजसेवी तथा व्यावसायिक चित्रकार इन्दिरा मोक्तानलाई ‘तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मान–२०२६ प्रदान गरिएको थियो।
नेपालबाट आएका लोकप्रिय कलाकारहरू शर्मिला गुरुङ, दुर्गा गुरुङ र शर्मिला गुरुङ (सरु)लाई कलाक्षेत्रमा पुर्याएको योगदानका लागि सोही सम्मान प्रदान गरिएको थियो।
यसै अवसरमा कलाकार शर्मिला (सरु) गुरुङले संस्थाका अग्रजहरूलाई नेपाली ढाका टोपी तथा तमु समाज यूकेलाई मायाको चिनो प्रदान गर्नुभयो। उक्त मायाको चिनो अध्यक्ष बिन्दुकुमारी गुरुङ घलेले संस्थाको तर्फबाट ग्रहण गर्नुभयो ।
संस्थाको प्रगति र उन्नतिमा विशेष योगदान पुर्याउने आजीवन सदस्यहरू—सल्लाहकार क्याप्टेन चन्द्रबहादुर गुरुङ, सल्लाहकार मिठु गुरुङ, आमा समूहकी सचिव रमिला गुरुङ तथा युवा सदस्य निश्चल गुरुङलाई पनि उक्त सम्मानद्वारा अभिनन्दन गरिएको थियो।
नेपाल तथा बेलायतका विभिन्न संघसंस्थामा सक्रिय रही सामाजिक योगदान पुर्याएका धादिङ नुवाकोट जिल्ला समाज युकेका पूर्वअध्यक्ष तथा गैर आवासीय नेपाली संघ युकेका उपाध्यक्ष धनबहादुर तामाङ र पत्रकारितामार्फत समुदायमा योगदान पुर्याएका एभरेस्ट टाइम्सका सम्पादक तथा मगर संघ यूकेका पूर्वअध्यक्ष डा. दुत पुन (चिम्खोले काइँला)लाई पनि ‘तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मान–२०२६ प्रदान गरिएको थियो।

त्यसैगरी, नवनिर्वाचित काउन्सिलरहरू जीत रानाभाट र गौमाया गुरुङ रानाभाट, काउन्सिलर ज्ञानप्रसाद गुरुङ तथा उहाँकी धर्मपत्नी, गोरखा जिल्ला क्वोंने (घोण्डे, घोताने) तमु समाज यूकेका अध्यक्ष टकबहादुर गुरुङ तथा उहाँकी धर्मपत्नीलाई पनि बधाई तथा शुभकामना दिइएको थियो।
सम्मान कार्यक्रम सम्पन्न भएपछि समाजले १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गरेको शुभ अवसरमा प्रमुख अतिथिले समाजको लोगो अङ्कित केक काट्नुभयो । सहभागीहरूले सामूहिक रूपमा खुसीयाली मनाउनुका साथै स्याम्पेन खोलेर समाजको उत्तरोत्तर प्रगतिको कामनासहित टोस्ट गर्नुभयो।
प्रमुख अतिथि प्रेम बहादुर गुरुङले समाजलाई आत्मीय परिवारका रूपमा आपसी माया, एकता र सहयोग कायम राख्दै अघि बढ्न शुभकामना दिनुभयो। संस्थाको बीसौँ, पचासौँ र सयौँ वार्षिकोत्सव पनि एकसाथ मनाउन पाइयोस् भन्ने कामना गर्दै उहाँले सम्मानित व्यक्तित्वहरूलाई बधाई तथा उपस्थित सबैमा सुस्वास्थ्य, सुख, शान्ति र दीर्घायुको शुभकामना व्यक्त गर्नुभयो।
अध्यक्ष विन्दुकुमारी गुरुङ घलेले संस्थाको १९ वर्षको यात्रा सामूहिक संघर्ष, समर्पण, एकता र सेवाभावको प्रेरणादायी इतिहास भएको बताउनुभयो। आपसी विश्वास र सहकार्यलाई समाजको प्रमुख शक्ति भन्दै उहाँले सामाजिक सेवा तथा भाषा, संस्कार र संस्कृति संरक्षणमा योगदान दिने सबैप्रति आभार व्यक्त गर्नुभयो।
नेपालको रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीका पीडितहरूको राहतका लागि करिब २५ लाख रुपैयाँ जुटाउन सफल भएको उल्लेख गर्दै उहाँले सम्पूर्ण सहयोगदातालाई धन्यवाद दिनुभयो। रकम सङ्कलनमा विशेष भूमिका निर्वाह गर्ने निवर्तमान महासचिव तथा वर्तमान सल्लाहकार धरमबल गुरुङ, नेपालमा राहत हस्तान्तरणको व्यवस्था मिलाउने काउन्सिलर ज्ञानप्रसाद गुरुङ तथा समाजको प्रतिनिधित्व गर्ने टोलीप्रति उहाँले विशेष आभार व्यक्त गर्नुभयो। टोलीमा आमा समूहकी पूर्वअध्यक्ष माया गुरुङ, पूर्वप्रथम महिला विष्णुमति गुरुङ, समाजसेवी माया (डोल्मा) गुरुङ, समाजसेवी तथा सामाजिक अभियन्ता चन्द्रबहादुर गुरुङ र वरिष्ठ पत्रकार डण्ड गुरुङ हुनुहुन्थ्यो ।
अध्यक्ष घलेले सम्मानित व्यक्तित्वहरूलाई बधाई, नेपालबाट आएका कलाकारहरूलाई स्वागत तथा विभिन्न प्रायोजन र सहयोग गर्ने महानुभाव एवं संस्थाहरूलाई धन्यवाद दिनुभयो। कार्यक्रमको तयारी, सम्मान, खानपान, हल सजावट, सञ्चालन तथा तस्बिर र भिडियो अभिलेखीकरणमा योगदान दिने कार्यसमिति, सल्लाहकार, आमा समूह, युवा समूह, स्वयंसेवक र सञ्चारकर्मीहरूप्रति पनि उहाँले आभार प्रकट गर्नुभयो।
नयाँ सदस्यहरूलाई स्वागत गर्दै उहाँले अग्रजहरूको अनुभव र युवा पुस्ताको ऊर्जालाई जोडेर समाजलाई अझ सुदृढ र सेवामुखी बनाउन आग्रह गर्नुभयो। नयाँ पुस्तामा भाषा, संस्कार, संस्कृति र सामुदायिक भावना हस्तान्तरण गर्नु सबैको साझा जिम्मेवारी भएको बताउँदै उहाँले सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा संस्थालाई अझ सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यस वर्ष संस्थाले पुरुष सदस्यहरूलाई समाजको लोगो अङ्कित टाई तथा सबै सदस्यहरूलाई परिमार्जित नयाँ ब्याज वितरण गरेको थियो। सांस्कृतिक कार्यक्रममा युवा समूहकी सुबिना घलेको आकर्षक नृत्य, नेपालबाट आएका अतिथि कलाकारहरूको सांगीतिक प्रस्तुति तथा डीजे प्रज्वलमान गुरुङको प्रस्तुतिले सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेको थियो। साँझ ६ बजे सुरु भएको कार्यक्रम राति १०:४५ बजेसम्म उत्साहपूर्ण वातावरणमा सञ्चालन भएको तमु समाज यूकेले जनाएको छ ।













