लन्डन । तमु धीं लन्डन इकाईले १९औँ स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाएको छ। सडबरी हिलमा ४ अक्टोबर २०२६ मा आयोजित स्थापना दिवस तथा शुभकामना आदानप्रदान कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमला देवी गुरुङ, संरक्षक खुसीमान गुरुङ, पूर्वअध्यक्ष तथा संरक्षकहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सल्लाहकार, आमा समूह तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि तमु धीं यूकेका अध्यक्ष जुमकाजी ले १९औँ स्थापना दिवसको अवसरमा संस्थालाई शुभकामना व्यक्त गर्दै तमुधीं लन्डन इकाईले नेपाली समुदायबीच एकता, सहकार्य र पहिचान संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे।
यसैगरी पूर्वअध्यक्ष तथा ट्रस्टी एवं एनआरएनए यूकेका प्रमुख संरक्षक दीपक गुरुङ (डेभिड), तमु धीं यूकेकी उपाध्यक्ष दिलमाया गुरुङ, एनआरएनए आईसीसी मेम्बर श्रीप्रसाद गुरुङ, लेफ्टिनेन्ट रिटायर्ड नारायणप्रसाद गुरुङ (बीईएम), पूर्व आमा समूह अध्यक्ष तथा ट्रस्टी हुमकुमारी गुरुङ, सोंपाल समाज यूकेका अध्यक्ष जगदीश गुरुङ, प्रमुख सल्लाहकार काउन्सिलर लक्षबहादुर गुरुङ, समाजसेवी ज्येष्ठ नागरिक निर्मला गुरुङ, आमा समूहकी अध्यक्ष देवकला गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा तमु धीं लन्डन इकाईका अध्यक्ष भरत गुरुङले संस्थाको १९ वर्षे यात्रालाई स्मरण गर्दै तमु समुदायको भाषा, संस्कृति, परम्परा, मौलिकता र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा संस्थाले निरन्तर काम गर्दै आएको बताए।
सन् २००७ मा स्थापना भएको तमु धीं लन्डन इकाईले स्थापनाकालदेखि नै तमु समुदायबीच एकता, भाइचारा र सद्भाव कायम गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएको अध्यक्ष भरत गुरुङले उल्लेख गरे । संस्थाले मानव सेवा, सामाजिक उत्तरदायित्व तथा विभिन्न सामाजिक कार्यमा समेत योगदान पुर्याउँदै आएको उनले बताए।
बेलायतमा रहेका विभिन्न संघ–संस्था तथा समुदायसँग सहकार्य र समन्वय गर्दै अघि बढिरहेको उल्लेख गर्दै अध्यक्ष गुरुङले संस्थाका गतिविधिले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्नसमेत महत्वपूर्ण भूमिका खेलेको बताए।
१९ वर्षको यात्रामा संस्था यहाँसम्म आइपुग्नुमा संस्थापक अग्रज, पूर्व अध्यक्ष तथा पदाधिकारी, आमा समूह, युवा पुस्ता, सदस्य तथा शुभेच्छुकहरूको महत्वपूर्ण योगदान रहेको अध्यक्ष गुरुङले बताए। उनले संस्थाको नेतृत्वमा रहेर योगदान पुर्याउने पूर्व अध्यक्ष, पदाधिकारी, आमा समूह तथा सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गरे।
आगामी दिनमा तमु धीं लन्डन इकाईलाई थप सशक्त र एकताबद्ध बनाउँदै तमु समुदायको भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षणसँगै मानव सेवा तथा सामाजिक कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने अध्यक्ष गुरुङले प्रतिबद्धता व्यक्त गरे।
स्थापना दिवसका अवसरमा सहभागीहरूले संस्थाको निरन्तर प्रगति, एकता र सफलताको शुभकामना व्यक्त गरेका थिए। सोही दिन विष्णु गुरुङको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । समितिमा श्रीप्रसाद गुरुङ, खरध्वज रमेश गुरुङ, शान्तबहादुर गुरुङ र बेनकुमार गुरुङ सदस्य छन्।
अध्यक्ष भरत गुरुङको अध्यक्षतामा भएको कार्यक्रम महासचिव विकास (रक) गुरुङले सञ्चालन गरेका थिए ।







