लन्डन । सोंपाल समाज यूकेले नायक, गायक तथा सांस्कृतिककर्मी राजु (धर्मराज) गुरुङलाई एक कार्यक्रम बीच बिदाइ गरेको छ । सोंपाल समाज यूकेको निमन्त्रणामा तीनमहिनाअघि बेलायत आएका कलाकार राजुलाई ३ अक्टोबर २०२६ मा आयोजित बिदाइ कार्यक्रममा सोंपाल समाज यूकेका अध्यक्ष जगदीश गुरुङ, आमा समूहकी अध्यक्ष मनदेवी गुरुङ, संस्थाका पदाधिकारी तथा आमा समूहका सदस्यहरूले मायाको चिनोसहित बिदाइ गरेका हुन् ।
कार्यक्रममा संस्थाका पदाधिकारी तथा आफन्तजनले राजु गुरुङलाई सुखद् तथा आरामदायी यात्राको शुभकामना दिएका थिए । उनीहरूले गुरुङको आगामी सांस्कृतिक यात्रा तथा सामाजिक कार्यहरू अझ सफल र फलदायी बनून् भन्ने शुभकामना व्यक्त गरे । बेलायत बसाइँका क्रममा सोंपाल समाज यूके तथा नेपाली समुदायसँगको सहकार्य, सांस्कृतिक गतिविधि र सामाजिक सहभागिताका लागि समाजले राजु गुरुङप्रति धन्यवाद व्यक्त गरेको छ । गायक राजु सोमबार नेपाल फर्किने कार्यक्रम छ ।
उनी गत ४ जुलाईमा यूके आएका थिए । नेपाल फर्कंदै गर्दा गाय राजुले भनेका छन्,’तपाईं सबै आफन्तजनको मायाले गर्दा तीन महिना गएको पत्तै पाएन । फेरि पनि सोंपाल समाज युकेका अध्यक्ष सोल्टी (ज्वाइँ) जगदीशकुमार गुरुङ, सम्पूर्ण कार्यसमिति, ट्रस्टीज्यूहरु,पूर्वअध्यक्षज्यूहरु सल्लाहकारज्यूहरु, अरु सम्पूर्ण यूके सोपाल परिवारज्यूहरु सबै यूकेमा रहनुहुने मलाई माया दिनुहुने ईष्टमित्र दाज्यूभाइ,दिदीबहिनीहरु मलाई सम्मान दिनुहुने विभिन्न संघ संस्थाहरु सबैमा हार्दिक आभार प्रकट गर्दछ। यहाँहरुले दिनुभएको सम्मान, इज्जत, प्रतिष्ठा, माया, आशीर्वाद जीवनभर सम्झिरहने छु।’







