नगेन्द्र नेम्बाङ
लन्डन । ब्ल्याकवाटर नेपाली कम्युनिटीले १०औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । शनिबार, ३ अक्टोबर २०२६ मा बेलायतको ब्ल्याकवाटर, क्याम्बर्लीमा आयोजित कार्यक्रम देवचन्द्र मादेनको अध्यक्षतामा कम्युनिटीको वार्षिकोत्सव सम्पन्न भएको हो ।
कार्यक्रममा निवर्तमान सचिव शुक्र राईले उपस्थित अतिथिहरूलाई आसन ग्रहण गराउँदै सुरक्षासम्बन्धी जानकारी (सेफ्टी ब्रीफ) दिएका थिए । त्यसपछि अध्यक्ष देवचन्द्र मादेन र गीता मादेन लिम्बुले पानसमा दीप प्रज्वलन गरी औपचारिक रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।
सचिव कपिल राईले कार्यक्रमको रूपरेखा प्रस्तुत गरेका थिए । उक्त अवसरमा ज्येष्ठ नागरिक डम्बर गुरुङ, राजु राई, दुर्गानारायण राई र सूर्य गुरुङ तथा प्रमुख अतिथि दयान्द्र राईलाई खादा लगाएर सम्मान गरिएको थियो ।

विशेष अतिथि लेफ्टिनेन्ट कर्णेल विजय राहुत र मेजर नरकाजी गुरुङलाई पनि गीता मादेन लिम्बुले खादा लगाएर स्वागत गरेकी थिइन् ।
अध्यक्ष देवचन्द्र मादेनले आगामी बडादसैँको शुभकामना दिँदै स्वागत मन्तव्य राखेका थिए । उनले कार्यक्रम सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै औपचारिक कार्यक्रम समापन गरेका थिए । स्वादिष्ट भोजन उपलब्ध गराएकोमा मनकामना रेस्टुरेन्टका मनसारी तामाङलाई पनि अध्यक्ष मादेनले धन्यवाद दिएका थिए ।
कार्यक्रमको दोस्रो चरणमा ‘द भ्वाइस अफ नेपाल’का रोशन राई तथा स्थानीय कलाकार जानुका राईले विभिन्न नेपाली गीत प्रस्तुत गर्दै सहभागीलाई मनोरञ्जन दिएका थिए ।
कार्यक्रम सफल बनाउन मनि बान्तवा, सुजाता राई, कमला गुरुङ, कमला मादेन, शुक्र राई, शुभाष मादेन, कुमार मादेन, उषा, गीता लिम्बु र इशानलगायतले सहयोग गरेका थिए ।
कार्यक्रमको औपचारिक सञ्चालन सचिव कपिल राईले गरेका थिए भने उपाध्यक्ष उषा बोम्जनले स्वागत मन्तव्य राखेकी थिइन् ।







