लन्डन । मनाङका बाढीपहिरो प्रभावित नागरिकसँग ऐक्यबद्धता जनाउँदै गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा सञ्चालन गरिएको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गत आज राहत सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
गत असोज ८ देखि १२ गतेसम्म परेको भीषण वर्षापछि आएको बाढी तथा पहिरोबाट प्रभावित चामेका १४ र ताल गाउँका ५० गरी ६४ परिवारलाई स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा राहत सामग्री हस्तान्तरण गरिएको हो।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले तथा नासो गाउँपालिका–१ का वडा अध्यक्ष मिनराशी गुरुङको अनुरोधमा स्थानीय तहसँगको समन्वयमा प्रभावित परिवार पहिचान गरी राहत वितरण गरिएको हो। राहत हस्तान्तरणका लागि मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनाल, चामे गाउँपालिका, नासो गाउँपालिका तथा स्थानीय जनप्रतिनिधिहरूसँग आवश्यक समन्वय गरिएको थियो।

एनआरएनए उपाध्यक्ष तथा राहत तथा विपद् व्यवस्थापन समितिका संयोजक मनोज कुमार श्रेष्ठको संयोजकत्वमा रहेको राहत टोलीमा एनआरएनए प्रवक्ता सोम नाथ सपकोटा, एनआरएनए एनसीसी यूएईका उपाध्यक्ष सबिन योञ्जन, Disaster Management Committee सदस्य निरञ्जन केसी तथा एनसीसी यूएई सदस्य शिर तामाङ लगायतको सहभागिता रहेको थियो।
प्रत्येक प्रभावित परिवारलाई कराई, थाल, डाडु, पन्यु, गिलास, कचौरा, चम्चा, जग, २० लिटरको बाल्टिन, खाद्यान्न प्याकेज, सोलार लाइट तथा त्रिपाल लगायतका आवश्यक सामग्री हस्तान्तरण गरिएको छ। साथै, चिया/टी-ब्याग तथा अन्य आवश्यक सामग्री समेत राहत प्याकेजमा समावेश गरिएको थियो।
राहत हस्तान्तरण कार्यक्रममा नासो गाउँपालिका–१ का वडा अध्यक्ष मिनराशी गुरुङले विपद्को कठिन समयमा एनआरएनएले प्रभावित परिवारका लागि पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। स्थानीय आवश्यकता र परिस्थितिलाई ध्यानमा राखेर गरिएको यस सहयोगले प्रभावित नागरिकलाई तत्काल राहत पुग्ने उहाँले बताउनुभयो।
यसै क्रममा एनआरएनएले नेपाल प्रहरी कार्यालयलाई एक थान ह्यान्ड माइक सेटसमेत हस्तान्तरण गरेको छ। विपद्का समयमा सूचना सम्प्रेषण, समन्वय तथा उद्धार एवं राहत कार्यमा सहयोग पुग्ने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको हो।
विपद्को कठिन अवस्थामा प्रभावित परिवारको दैनिक जीवन सहज बनाउन, खाना पकाउने तथा अत्यावश्यक घरेलु आवश्यकता पूरा गर्न र अस्थायी रूपमा सुरक्षित बसोबासमा सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको हो।
विपद्मा परेका नागरिकलाई सहयोग गर्नु हाम्रो साझा मानवीय जिम्मेवारी हो। एनआरएनए स्थानीय सरकार, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँगको सहकार्यमा राहत तथा पुनर्स्थापनाका अभियानलाई निरन्तरता दिँदै जानेछ।







