धेरै पहिला मेक्सिम गोर्कीको प्रसिद्ध उपन्यास ‘आमा’ पढेको थिएँ। अहिले सम्झँदा त्यसका पेलागेया, पाभेल, एन्ड्रे आदि पात्रहरू आँखाअगाडि आउँछन् । कारखानाका मजदुरहरूको न्यून ज्याला, कठिन काम, अपमान र असुरक्षित जीवनमार्फत तत्कालीन रुसी समाजमा रहेको वर्गीय शोषणलाई गोर्कीले निकै जीवन्त ढंगले प्रस्तुत गरेका छन्। त्यससँगै राजनीतिक चेतनाको विकास, संगठन निर्माण र सामूहिक संघर्ष, महिला जागरण तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक उद्देश्यका लागि समर्पित हुने चेतनाको विकास पनि उपन्यासका महत्त्वपूर्ण पक्ष हुन्। पाभेलका भाषण र संवादहरू त पाठकलाई जुरुक्कै उठाउने खालका छन्।
यतिबेला साहित्यकार तथा लेखिका जानु काम्बाङ लिम्बूको उपन्यास ‘खाम्योक’ पढिरहेको छु । उपन्यासमा खाम्योक, फुङ्सा लगायतका पात्रहरू छन् । ‘खाम्योक’ पढ्दै गर्दा कताकता धेरै वर्षअघि पढेको ‘आमा’ उपन्यासको सम्झना भइरहेको छ।
‘खाम्योक’मा डायस्पोराको आवाज निकै सशक्त रूपमा आएको छ। नेपालमा रहेका नेपालीहरू देशभित्रै रहन्छन्, तर विदेशमा रहेका नेपालीहरू जहाँ पुगे पनि आफ्नो देश बोकेर हिँडिरहेका हुन्छन् भन्ने अनुभूति उपन्यासले गराउँछ। नेपालमा घट्ने हरेक राजनीतिक तथा सामाजिक घटनाले प्रवासी नेपालीको मनलाई पनि उत्तिकै प्रभावित पार्छ भन्ने कुरा यसमा गहिरोसँग देखिन्छ।
विशेषगरी लिम्बुवान आन्दोलनका सन्दर्भमा प्रवासको चिन्ता, चासो, सहभागिता र सहयोगलाई उपन्यासले मिहिन ढंगले केलाएको छ। आफ्नो छाक काटेर आन्दोलनलाई सहयोग गर्ने प्रवासी मनोविज्ञानदेखि आन्दोलनका उतारचढाव, अपारदर्शिता, अपमान, अवमूल्यन, बेहिसाब, बेमेल, दुरुपयोग, अर्थहीनता, अराजकता र अराजनीतिक प्रवृत्तिसम्मका अनेक पक्षलाई उपन्यासले प्रश्नको कठघरामा उभ्याएको अनुभूति हुन्छ।
लिम्बुवान आन्दोलनकै एउटा पात्रजस्तो लाग्ने ‘खाम्योक’का संवादहरू विशेष रूपमा बलिया छन्। कतिपय संवादले मन छोएर घाँटीमै अड्किएजस्तो बनाउँछन्, कतिपयले भने थकित मनलाई सुम्सुम्याएको जस्तो लाग्छ। आन्दोलनभित्रको पीडा, आक्रोश, असन्तोष, प्रश्न, चेतना र अपेक्षालाई खाम्योकका संवादहरूले बोकेका छन्।
यस अर्थमा, ‘आमा’को पाभेलको झझल्को दिने गरी ‘खाम्योक’को भूमिका र संवादले मलाई छोएको छ। दुवै उपन्यासको ऐतिहासिक, सामाजिक र राजनीतिक परिवेश फरक छन्। तर एउटा समान अनुभूति भने छ- आन्दोलन र परिवर्तनको प्रक्रियामा एउटा पात्र केवल कथा पात्र भएर रहँदैन, ऊ स्वयं एउटा विचार, प्रश्न र संघर्षको प्रतिनिधि बन्न पुग्छ।
‘आमा’मा तत्कालीन रुसी समाज, मजदुर जीवन, वर्गीय शोषण र राजनीतिक चेतनाको विकासलाई गोर्कीले विस्तारपूर्वक केलाएका छन्। त्यस्तै, ‘खाम्योक’मा डायस्पोरा, नेपाली राजनीति, लिम्बुवान आन्दोलन र त्यससँग जोडिएका सामाजिक तथा मनोवैज्ञानिक आयामलाई लेखिकाले आफ्नै ढंगले प्रस्तुत गरेकी छन्। लिम्बुवान आन्दोलनको त झन् हतार नगरी ओपन-हार्ट सर्जरी गरेजस्तै भित्री तहसम्म पुगेर चिरफार गरिएको अनुभूति हुन्छ।
लिम्बुवानका बस्तीहरू, नेपालको राजनीति, समाज, संघर्ष, चेतना र त्यसको अर्थ बुझाउने प्रयत्नसँगै डायस्पोराको दुःख, पीडा, असन्तोष, आक्रोश, विरोध, आशा, सुझाव र अपेक्षा पनि उपन्यासमा भेटिन्छन् ।
त्यसैले ‘खाम्योक’ केवल एउटा कथा पढेजस्तो लाग्दैन, एउटा आन्दोलन, एउटा समय र त्यससँग जोडिएका मानिसहरूको मनोविज्ञान पढेजस्तो लाग्छ।
‘खाम्योक’ पढ्दै गर्दा धेरै वर्षअघि ‘आमा’ पढ्दाको अनुभूति फेरि फर्केर आएजस्तो भयो। फरक भूगोल, फरक समय र फरक आन्दोलन भए पनि संघर्ष, चेतना, प्रश्न र परिवर्तनको आकांक्षाले यी दुई कृतिलाई कताकता एउटै भावनात्मक धरातलमा जोडिदिएको अनुभूति भयो।
अन्त्यमा, साहित्यकार तथा लेखिका जानु काम्बाङ लिम्बूज्यूलाई ‘खाम्योक’ जस्तो महत्त्वपूर्ण कृतिका लागि विशेष धन्यवाद। यो उपन्यास पढ्ने अवसर पाउँदा एउटा आन्दोलनको कथा मात्र होइन, त्यस आन्दोलनसँग जोडिएका मानिसहरूको मन, पीडा, प्रश्न, नियत र सपनासमेत नजिकबाट महसुस गर्न पाएँ।






