लन्डन । नेपाली चिकित्सक संघ यूके (एनडीए यूके) ले नेपालका विपद् प्रभावितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँभन्दा बढी रकम सहयोग गरेको छ।
संघका ट्रस्टी अध्यक्ष डा. आरती थापाले १२ अक्टोबर २०२६ मा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई री १ करोड १२ हजार ९ सय ७७ रुपैयाँ रकम हस्तान्तरण गरेकी हुन् । हस्तान्तरण कार्यक्रममा सांसद विदुषी राणाको पनि उपस्थिति थियो ।
रकम हस्तान्तरणका क्रममा संघका पूर्ण सदस्य डा. लोक कठायत र डा. अमिता थापा पनि उपस्थित थिए । संघका कोषाध्यक्ष डा. रवि पन्तले सहयोग रकम एचबीएल नेपालमार्फत कोषमा पठाउने व्यवस्था मिलाएका थिए ।
संघका ट्रस्टीहरूले सहयोग अभियानमा योगदान गर्ने सम्पूर्ण दाताहरू, रकम सङ्कलनमा खटिने व्यक्ति, च्यारिटी कार्यक्रम आयोजना गर्ने आयोजक, संघका सदस्य, परिवार, साथीभाइ, शुभेच्छुक, विभिन्न व्यावसायिक संस्था तथा वर्तमान कार्यसमितिलाई धन्यवाद दिएका छन्।
सहयोग सङ्कलनमा विशेष योगदान पुर्याउनेमध्ये वेलिङमा च्यारिटी डिनर आयोजना गर्ने ‘स्वास्थ्य चिया विथ कैलाश मःमः’ का संस्थापक डा. नुमा थेबे, ब्रिटिस एसोसिएसन अफ इन्डियन एनेस्थेटिस्ट्स तथा दुई हजार पाउन्डभन्दा बढी सहयोग गर्ने जे मोरिसलाई संघले विशेष धन्यवाद दिएको छ।
रकम हस्तान्तरणका क्रममा डा. थापाले अर्थमन्त्री वाग्लेलाई संघको स्मृति चिह्नसमेत प्रदान गरेकी थिइन् । उनले ४१ वर्षअघि स्थापना भएको नेपाली चिकित्सक संघ यूकेको इतिहासबारे जानकारी दिँदै सन् २०१६ मा संघले परोपकारी संस्थाका रूपमा समेत मान्यता प्राप्त गरेको बताइन्।
संघले लामो समयदेखि कायम राखेको विश्वसनीयता र दाताहरूको विश्वासकै कारण ठूलो रकम सङ्कलन गर्न सम्भव भएको जनाएको छ । प्रधानमन्त्री विपद् राहत कोषमा संघले यसअघि ११ लाख रुपैयाँ सहयोग गरेको थियो। निकट भविष्यमै तेस्रोपटक सहयोग रकम हस्तान्तरण गर्ने लक्ष्य रहेको संघले जनाएको छ।
संघको जस्टगिभिङ पेज अझै खुला रहेकाले सहयोग गर्न इच्छुक सबैलाई रकम योगदान गर्न र अभियानको पेज साझा गरेर सहयोग गर्न पनि संघले आग्रह गरेको छ।






