हामी तीन चुला

SHARE:

चुलाको अर्थ र सम्बन्ध
किरात राई समुदायको सांस्कृतिक जीवनमा तीन चुलाको विशेष महत्त्व छ। तीन चुला केवल खाना पकाउने साधन मात्र होइनन्; यो त आफ्ना पुर्खाको स्मृति, मातृशक्ति र इष्टमित्र तथा नातागोताप्रतिको सम्मान झल्काउने सांस्कृतिक एवं आध्यात्मिक विश्वास पनि हो। तीन चुलाका नाम र व्याख्या फरक भए पनि यसको मूल जरा पुर्खा, परिवार, संस्कार, संस्कृति र सामाजिक सम्बन्धसँग गाँसिएको साझा धागोमा जोडिएको हुन्छ। मुन्दुमी परम्परामा पापालुङलाई पितृपुर्खा तथा वंशको प्रतीक, मामालुङलाई आमा तथा मातृपक्षका पुर्खाहरूको प्रतीक र रुमिलुङ (छेकुलुङ वा साबालुङ) लाई इष्टमित्र, छरछिमेक, नातागोता तथा सामाजिक सम्बन्धको प्रतीकका रूपमा बुझ्ने गरिन्छ। नाम र व्याख्या फरक भए पनि यी तीन चुलाले सम्बन्ध जोड्ने साझा भाव र संस्कारको महत्त्व बोकेका छन्।

यही तीन चुलाको सांस्कृतिक अर्थलाई मनन गर्दा मलाई हामी तीन आत्मीय पात्रहरूको सम्झना आउँछ । मुकेश दाजु, मित्र भरत अनि म, सेमन्त। हामी तीनै जना बेलायतमा छौँ, तर तीन फरक ठाउँमा; मुकेश दाजु अल्डरसट–फार्नबरोमा, भरतजी स्विन्डनमा र म मेडस्टोनमा। भौगोलिक दूरीले हामीलाई तीनतिर छरेको छ, तर आत्मीयताले भने हामी एउटै अगेनाका तीन चुला हौँ। चाहना हुँदाहुँदै पनि व्यस्तताका कारण तीनतिर छरिएर बस्नुपरेकाले एउटै अगेनामा जुटेर आत्मीयताको आगो बाल्न निरन्तरता दिन भने सकिएको थिएन। तर, मनभित्र एउटा विश्वास भने जीवितै छ । दूरीले बसाइ अलग बनाए पनि हाम्रो आत्मीयता झन् गाढा बन्दै गएको छ।

व्यस्तता र भेटघाट
बेलायती जीवनको व्यस्तताले हामीलाई गाजेको छ, जिन्दगी जिम्मेवारी र समयको सीमाभित्र बाँधिएको छ। इच्छा हुँदाहुँदै पनि भेट्ने समय मिलाउन सहज हुँदैन। एउटै देशमा बसेर पनि आत्मीय मानिसहरूसँग भेट्न महिनौँ कुर्नुपर्ने बाध्यता छ। हामी तीन जनाको अवस्था पनि उस्तै छ। आ-आफ्ना परिवार, काम र दैनिक जिम्मेवारीबीच भेटघाटको चाहना तीव्र हुँदाहुँदै पनि चाहेजस्तो नियमित पारिवारिक जमघटको साइत जुराउनु पनि निकै मुस्किल पर्छ। तीन चुलामा आगो बालेर, अगेना वरिपरि बसेर जीवनयापनका उतारचढावहरू र जीवनयात्राका तितामीठा स्वादहरू साटासाट गर्ने तथा साहित्यका कुरा गर्ने हाम्रो चाहना कताकता बासी भइसकेको थियो।

आत्मीयताको निरन्तरता
७ जुलाई २०२४ मा शेक्सपियरको जन्मस्थल “स्ट्राटफोर्ड अपन–एभन” बाट सुरु भएको हाम्रो संयुक्त यात्रा १५ सेप्टेम्बर २०२४ मा लन्डनस्थित शेक्सपियरको “द ग्लोब” थिएटरमा दोस्रो भेटघाटसँगै अगाडि बढ्यो। त्यसपछि निरन्तरता दिनुपर्ने यो सम्बन्धमा भरतजी र म केही समय चुपचाप हरायौँ। तर, मुकेश दाजु र दिदी सुशीलाले त्यो आत्मीयता बिर्सनुभएन; सबैलाई समेट्दै १ जुन २०२५ मा उहाँहरूले आफ्नै निवासमा पुनः भेटघाटको पहल गर्नुभयो। सन् २०२६ को समर सकिन लाग्दासम्म पनि भरत र मबाट विशेष चासो नदेखिए तापनि दाजु-दिदीकै सद्भावपूर्ण पहलले हामीलाई एउटै अगेनामा जुटायो। लज्जावती झार झैँ शिर निहुराउँदै, मनभरि खुसी बोकेर खानपिन र हाँसोमा रमाइरहँदा अनुभूत हुन थालेको थियो—वास्तवमा त्यही नै रहेछ पापालुङको मूलघर र मूल चुलो!

तीन चुला एउटै अगेनामा
तीन चुलाको मिलनका लागि एउटा विशेष दिन बनेर आयो । अक्टोबर १८, २०२६। मुकेश दाजु र दिदी सुशीलाको सद्भावपूर्ण पहलमा यो अविस्मरणीय भेटघाटको मिति दोस्रो पटक तय भयो। भेटघाटको तिथि-मिति टुंगो लगाउन केही विकल्पहरू रहे पनि अन्ततः हामी सबैका लागि अनुकुल दिन जुर्यो। तीन चुलाको मिलन हुने साइत पक्का भएपछि मैले श्रीमतीलाई बिदा मिलाउन आग्रह गरेँ। उनले आवेदन दिइन् र संयोगवश बिदा पनि स्वीकृत भयो। भरतलाई भने जसरी पनि छुट्टी मिलाउनू भनी निकै दबाब नै दिनुपर्यो, किनकि यो मन जितेकै भरको सम्बन्ध थियो। त्यसैले उक्त दिन हामी सपरिवार तीन चुलाको रमाइलो जमघटने निश्चित भयो।

१८ अक्टोबरको बिहान हामी अत्यन्त उत्साहित भएर बाटो लाग्यौं। यात्रा झण्डै डेढ घण्टाको भएकाले पर्याप्त समय राखेर निस्केका थियौँ। उता भरतजी पनि हिँडिसक्नुभएको खबर आयो, तर विडम्बना, बाटोमा सवारीसाधनको अत्यधिक चापका कारण उहाँलाई ढिला हुने जानकारी भयो। यसरी दोस्रो चुलो समयमै मूल घरको अगेनामा आइपुग्यो भने तेस्रो चुलोको प्रतीक्षा सुरु भयो। त्यतिन्जेल दाजु-दिदीको निवासमा बाबा-आमासँग पहिलो पटक परिचय र चिनजानको कार्यक्रम भयो। यतिकैमा डोरबेल बज्यो, मूलघरमा तेस्रो चुलाको आगमन भयो! फेरि उही उत्साहका साथ अभिवादन र परिचयात्मक कार्यक्रम दोहोरियो अनि सुरु भयो अनेकानेक कथा-कहानीहरूको सिलसिला। त्यस दिनको जमघटलाई स्थानीय फार्नबरो निवासी, तमुधिँ पश्चिमा शाखाकी उपाध्यक्ष, साहित्यकार तथा आख्यानकार शान्ति लिम्बूज्यूको उपस्थितिले थप अर्थपूर्ण बनाएको थियो।

मूल चुलोमा पाकेका परिकारहरूसँगै दाजु-दिदीको अविच्छिन्न आतिथ्यता सुरु भयो। मुल चुलोमा मिसिन पाउँदा हामी कति भाग्यमानी! स्वादिष्ट खानपान, मनोरञ्जन, गफगाफ र हाँसोका लहरबीच दाजु-दिदीको आतिथ्यता हामीले घाँटीसम्मै पुग्ने गरी तृप्त भएर ग्रहण गर्यौँ। विभिन्न परिकारका स्वादसँगै मुकेश दाजुका चरणबद्ध हाँस्यव्यङ्ग्यले माहोललाई साच्चै नै रमाइलो बनायो। शनैः शनैः हामी मुकेश दाजु, शान्तिजी, भरतजी, मिरा बहिनी र मेरी श्रीमती रीता खानाको स्वादसँगै समसामयिक विषयवस्तु र नेपालको राजनीतिका गफमा भुल्यौँ। उता दिदी भने किचनमा व्यस्त हुनुहुन्थ्यो; बिचरा! खानपानको बन्दोबस्त गर्न यत्रो झमेला हुन्छ, बरु भेटघाट अन्यत्रै गरौं नभनेको पनि होइन, तर हामीलाई आफ्नै मूल घरमै बोलाएर आतिथ्य प्रदान गर्ने दाजु-दिदीको महानता नै बेग्लै छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!