पोखरा । तमु प्ये ल्हु संघ केन्द्रीय समितिले निवर्तमान अध्यक्ष ओमबहादुर थिम्जे तमुको संयोजकत्वमा १६ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ।
संघका केन्द्रीय अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमुको अध्यक्षतामा बिहीबार (कार्तिक १२) पोखरामा सम्पन्न सचिवालय बैठकले सल्लाहकार समिति मनोनयन गरेको हो।
गत असोज १८ गते सम्पन्न संघको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार सचिवालय बैठक बसेको हो।
विभिन्न क्षेत्र, भेग र जिल्लाको प्रतिनिधित्व हुने गरी गठन गरिएको सल्लाहकार समितिमा संयोजक थिम्जेसहित प्रा.डा. योगेन्द्र प्हच्यु तमु (काठमाडौं), मेजर रामप्रसाद योज तमु (कास्की), ले. चौबहादुर ल्हों तमु (स्याङ्जा), रामबहादुर ल्हेंगे तमु (सुदूरपश्चिम), बलबहादुर टुक्ल्हेप्री तमु (कास्की), क्या. भीमबहादुर ल्हों तमु (बुटवल), गणेशबहादुर ल्हेंगे तमु (पूर्व), खेगी तथा पैंडी चिबा टेकबहादुर पैंगीलम तमु (गोरखा), यमबहादुर च्हम्रु तमु (कास्की), राजेन्द्र टुक्ल्हेप्री तमु (कास्की), तेजबहादुर च्हाग्ली तमु (कास्की), जगतबहादुर टुक्ल्हेप्री तमु (चितवन), रसकुमारी क्रोम्छें तमु (कास्की), हाइ शोभा तमु (कास्की) र कानुनी सल्लाहकारमा अधिवक्ता जुना कुमारी पर्जु तमु रहेका छन्।
बैठकले केन्द्रीय कार्यसमितिको कामकारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न विभागका प्रमुखसमेत चयन गरेको छ। जसअनुसार प्रचारप्रसार विभाग प्रमुखमा मोमप्रसाद क्रोम्छें तमु (मिलन), संगठन विभाग प्रमुखमा हर्कबहादुर योज तमु, विदेश विभाग प्रमुखमा एकजंग प्ल्हें तमु, खेगी विभाग प्रमुखमा बमबहादुर टुक्ल्हेप्री तमु, महिला विभाग प्रमुखमा इन्द्रकुमारी ङोप्छे तमु र युवा विभाग प्रमुखमा युद्धजंग प्हच्यु तमुलाई जिम्मेवारी दिइएको छ।
तमु प्ये ल्हु संघ धार्मिक तथा सामाजिक संस्था भएकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले शवदहनका लागि आवश्यक दाउरा व्यवस्थापनको जिम्मेवारी पनि तोकिएको छ। अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमुको संयोजकत्वमा सचिव शेखर ल्हेंगे तमु, सहकोषाध्यक्ष कुलप्रसाद क्रोम्छें तमु, सदस्य क्या. लोककृष्ण क्होला तमु र सदस्य सु. लोकबहादुर प्हच्यु तमुलाई उक्त जिम्मेवारी दिइएको छ।
त्यसैगरी, विभिन्न संघसंस्थासँग समन्वय गर्ने जिम्मेवारी अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमुले लिने र कार्यालय तथा प्रशासनसम्बन्धी सम्पूर्ण जिम्मेवारी महासचिव अर्जुन प्ल्हें तमुलाई दिने निर्णय बैठकले गरेको छ।
यस वर्षको तमु ल्हु ल्होसारका अवसरमा संघको मुखपत्र ‘तमु छ्या ल्हु ताँ’ प्रकाशन गरिने भएको छ। त्यसका लागि उपाध्यक्ष हर्कबहादुर योज तमुको संयोजकत्वमा महासचिव अर्जुन प्ल्हें तमु र कोषाध्यक्ष मञ्जु कुप्छे तमु सदस्य रहेको उपसमिति गठन गरिएको छ।
त्यस्तै, पोखरास्थित संघको फलिना क्होइबोमा प्रत्येक महिनाको औँसी र पूर्णिमाका दिन तिथिमिति मिलाएर पूजाआजा गर्ने व्यवस्था मिलाउन पच्यु कुलप्रसाद क्रोम्छें तमुको संयोजकत्वमा पूजाआजा व्यवस्थापन उपसमिति गठन गर्ने निर्णय गरिएको छ।
गत वर्षको निर्णयअनुसार हितकाजी टुक्ल्हेप्री तमुको संयोजकत्वमा रहेको प्ये छ्या संकलन, लेखन तथा प्रकाशन उपसमितिलाई पनि निरन्तरता दिइने भएको छ। उक्त कार्यमा उपाध्यक्ष हर्कबहादुर योज तमु, महासचिव अर्जुन प्ल्हें तमु र उपमहासचिव बमबहादुर टुक्ल्हेप्री तमुले निरन्तरता दिने निर्णय भएको छ।
बैठकले केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक आगामी मंसिर १९ गते काठमाडौंमा आयोजना गर्ने निर्णयसमेत गरेको छ।
आगामी तमु ल्हु ल्होसार (भेंडा वर्ग) पोखरामा व्यवस्थित, भव्य र सभ्य रूपमा मनाउने तयारीका विषयमा छलफल गर्न कार्तिक १६ गते केन्द्रीय समितिको आयोजनामा संयुक्त बैठक बोलाइएको छ। उक्त बैठकले ल्होसार पर्वको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनसम्बन्धी विषयमा छलफल गरी आवश्यक योजना तय गर्ने जनाइएको छ।
तमु समुदायको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचान संरक्षण र प्रवर्द्धन गर्दै मौलिक परम्परा तथा संस्कृतिलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले संघले संस्थागत गतिविधिलाई निरन्तरता दिने अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमुले बताएका छन्। यसका लागि सबैको साथ, सहयोग र सद्भाव आवश्यक रहेको उनको भनाइ छ।








