काठमाडौं । नेपाल तामाङ घेदुङका पूर्वमहासचिव तथा सञ्चारकर्मी जगतमान दोङ तामाङले नेपाल तामाङ घेदुङको वर्तमान नेतृत्वको भूमिकाप्रति प्रश्न उठाएका छन् ।
आइतबार काठमाडौंमा भएको कार्यक्रममा पूर्वमहासचिव दोङले तामाङ संस्कृति र परम्पराविपरीत घेदुङका पदाधिकारी लागेको भन्दै आपत्ति जनाएका हुन् । घेदुङका पदाधिकारीले संस्थाको नीतिविपरीत म्हेनिङ (दसैं) का गतिविधि गरेको भन्दै उनले नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषद्ले जारी गरेको संस्कार संस्कृति निर्देशिकाविपरीत जानु नहुने सुझाव दिए ।
तामाङ समुदायको मौलिक संस्कृति, परम्परा र धार्मिक अभ्यासलाई संस्थागत रूपमा संरक्षण गर्नु आवश्यक रहेकोमा जोड दिँदै उनले तामाङ घेदुङको नाममा हुने गतिविधि समुदायको वास्तविक पहिचान, मूल्य–मान्यता र परम्पराअनुरूप नभएमा त्यस्ता नेतृत्व पदमा बसिरहने नैतिक आधार नहुने बताए । घेदुङ अहिले रामकृष्ण ब्लोन तामाङको नेतृत्वमा छ ।






