पोखरा । ‘शिक्षा शिक्षा शिक्षा’ अभियानअन्तर्गत सञ्चालित होस्टलमा नेपाली भिलेज यूकेका प्रबन्ध निर्देशक मेजर खुशीमान गुरुङ एमभीओसहितको टोलीले भ्रमण गरेको छ।
नेपाली भिलेज यूकेका प्रबन्ध निर्देशक मेजर खुशीमान गुरुङ एमभीओ, निर्देशक पिताम्बर गुरुङ तथा उहाँहरूका परिवारका सदस्यहरूले निमन्त्रणालाई स्वीकार गर्दै होस्टलको भ्रमण गरेका अभियन्ता युगबहादुर गुरुङले जानकारी दिएका छन् । भ्रमणका क्रममा विद्यार्थीहरूसँग परिचयात्मक कार्यक्रम आयोजना गरिएको थियो। उक्त अवसरमा मेजर गुरुङ र निर्देशक गुरुङले आफ्ना जीवनका संघर्ष, सफलता र भावी योजनाबारे विद्यार्थीहरूसँग अनुभव आदानप्रदान गरेका थिए। उनीहरूका अनुभव र प्रेरणादायी भनाइले विद्यार्थीहरूमा उत्साह र आत्मविश्वास बढाउन सहयोग पुगेको अभियानले जनाएको छ।
यसै क्रममा मेजर खुशीमान गुरुङ र निर्देशक पिताम्बर गुरुङले होस्टलमा अध्ययनरत एक विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने निर्णयसमेत गरेका छन्। यसले ग्रामीण क्षेत्रका एक विद्यार्थीको उच्च शिक्षाको यात्रालाई सुनिश्चित गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको अभियन्ता युगबहादुरले बताए ।
अभियानले निमन्त्रणा स्वीकार गरी होस्टलमा उपस्थित हुनुका साथै विद्यार्थीलाई अभिभावकत्व प्रदान गर्ने निर्णय गरेकोमा गुरुङ परिवारप्रति उनले आभार व्यक्त गरे ।
‘शिक्षा शिक्षा शिक्षा’ अभियान नेपाल तमु (गुरुङ) समुदायका विपन्न र जेहेनदार विद्यार्थीलाई उच्च शिक्षा प्राप्त गर्न सहयोग पुर्याउने उद्देश्यसहित अभियन्ता युगबहादुर गुरुङको नेतृत्वमा सञ्चालन भइरहेको छ । २०७८ सालमा अनौपचारिक रूपमा सुरु भए पनि औपचारिक रूपमा भने २०८१ असार ३१ गते ‘युग ज्योति फाउन्डेसन कास्की’मार्फत अभियान अघि बढाइएको हो । कम्पनी रजिस्ट्रारको कार्यालय, काठमाडौँमा दर्ता भएको यो संस्था समाज कल्याण परिषद्मा समेत आबद्ध भएको छ ।
अभियानअन्तर्गत पहिलो चरणमा ग्रामीण भेगका जेहेनदार विद्यार्थीलाई पोखरामा होस्टल भाडामा लिएर खाना, बस्ने र पढाइको पूर्ण व्यवस्था गरिएको छ । फाउन्डेसनले प्रदान गरेको संरक्षणपछि विद्यार्थीले उच्च शिक्षा हासिल गरेपछि विदेश पलायन नगरी देशमै सेवा गर्नुपर्ने सर्त राखिएको छ । ‘गाउँका किसान, मजदुरका छोराछोरी अब्बल हुँदाहुँदै पनि पैसाको कारण पढाइ छोड्नुपर्छ । अब भने उनीहरूले बिना अवरोध शिक्षा लिन सकुन् र पछि राष्ट्रको सेवा गरून् भन्ने उद्देश्य हो,’ फाउन्डेसनका अध्यक्ष गुरुङले भने ।
विद्यार्थीलाई खान, बस्न, कपडा र विद्यालय शुल्कसम्मको सम्पूर्ण खर्च फाउन्डेसनले बेहोर्दै आएको छ । हाल मुख्य स्रोत भनेकै चन्दा रहेको उनले बताए ।
‘शिक्षा शिक्षा शिक्षा’ अभियान औपचारिक रूपमा छोटो समय भए पनि अभियन्ता गुरुङले विगत ६ वर्षदेखि एक्लै टोलस्तरमा शिक्षा अभियान चलाउँदै आएका थिए । उनले लमजुङका भुजुङ, घनपोखरा, नायुङ र कास्कीका भुम्दी, सिक्लेस, घान्द्रुक जस्ता गाउँहरूमा पुगेर स्थानीय शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापनलाई शिक्षाप्रति सचेत बनाउने काम गरेका थिए । त्यस क्रममा शिक्षक सम्मान, शिक्षक तालिम, अभिभावकलाई विद्यालय अनुगमनमा सक्रिय बनाउने, टोल शिक्षा कक्षा सञ्चालन गर्ने, अतिरिक्त कक्षा र क्रियाकलाप जस्ता गतिविधि सञ्चालन गरिएका थिए ।












