लन्डन । बृटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) यूकेले यही २१ नोभेम्बरमा ‘जानकारी, सचेतना तथा अन्तरक्रिया कार्यक्रम’ गर्ने भएको छ ।
गोर्खा तथा तिनका सन्ततिको वंशजको नेपाली नागरिकता निरन्तरतासम्बन्धी अभियानबारे जानकारी, सचेतना र सामूहिक छलफल गर्ने उद्देश्यले प्लमस्टेडस्थित मगर भवनमा कार्यक्रम हुने भएको हो । कार्यक्रम दिउँसो १२ देखि साँझ ५ बजेसम्म तोकिएको छ ।
कार्यक्रममा संस्थाको परिचय, उद्देश्य तथा अभियानको कार्यक्षेत्र, गोर्खा तथा तिनका सन्ततिका लागि वंशजको नेपाली नागरिकताको कानुनी, सामाजिक र भावनात्मक महत्त्व, भावी योजना, कार्यतालिका तथा सामूहिक ऐक्यबद्धता लागि आह्वान, आर्थिक सहयोग तथा सदस्यता सम्बन्धी जानकारी र अपिललगायत विषयमा छलफल हुने जनाइएको छ ।
त्यसैगरी, नेपालमा भइरहेका गतिविधि, प्रगति तथा कानुनमा भएका घोषणापत्र २०८३ बारे जानकारी, एनआरडी तथा केवाईसी अद्यावधिकसम्बन्धी जानकारी, आगामी रणनीति तथा शान्तिपूर्ण विशेष तथा दबाबमूलक कार्यक्रम विषयमा पनि छलफल हुने छ।
कार्यक्रमका अन्य विषयमा भावी योजना, कार्यतालिका तथा सामूहिक एकताबद्धताका लागि आह्वान, आर्थिक सहयोग तथा सदस्यतासम्बन्धी जानकारी, सल्लाहकारहरूको स्वागत तथा सम्मान र खुला छलफल, सुझाव तथा प्रश्नोत्तर रहेका छन्।
आयोजकका अनुसार कार्यक्रम स्थानीय समुदायका प्रतिनिधिहरू, केन्द्रीय समिति तथा प्रतिनिधिहरूको सहभागिता र संयोजनमा सञ्चालन हुनेछ।

मिति: १७ अक्टोबर २०२६
सम्पूर्ण गोर्खा समुदायमा हार्दिक अपिल !
“वीरता हाम्रो पहिचान, वंशजको नागरिकता हाम्रो अभियान”
नेपालमा प्रतिनिधिसभाको हिउँदे अधिवेशन यही डिसेम्बर ४ तारिखदेखि सुरु हुन गइरहेको छ भन्ने कुरा हामी सबैलाई जानकारी नै छ। उक्त अधिवेशनमा नेपाल सरकारका तर्फबाट गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारी भइरहेको छ। उक्त विधेयकमा हाम्रा मागहरू समेटिन्छन् कि समेटिँदैनन् भन्ने विषयमा नेपाल सरकारको धारणा हामीले गत अक्टोबर महिनामा बेलायत भ्रमणमा आउनुभएका पर्यटनमन्त्री माननीय खडकराज पौडेल (गणेश)ज्यू र राष्ट्रिय स्वतन्त्र पार्टीका विदेश विभाग प्रमुख माननीय मनिष झाज्यूबाट बुझ्ने अवसर पाइसकेका छौँ।
हामी गोर्खाहरूले आशा गरेका थियौँ कि यो सरकार नयाँ पुस्ताबाट आएको छ, यसका नेतृत्वकर्ताहरू शिक्षित छन्, गोर्खाहरूको पीडा र मर्म बुझेका छन् र गोर्खाहरूप्रति उदार दृष्टिकोण राख्नेछन्। तर, उहाँहरूको भनाइअनुसार, ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको घोषित एजेन्डाअनुरूप सरकारले सबै गैरआवासीय नेपालीलाई समेट्ने गरी गोर्खाहरूलाई पनि एउटै डालोमा राखेर सम्बोधन गर्ने नीति लिएको हो कि भन्ने हामीले अनुमान गरेका छौँ।
त्यसैले, आगामी अधिवेशनमा नेपाल सरकारले कस्तो विधेयक प्रस्तुत गर्छ, त्यसैका आधारमा सामना गर्न र हाम्रो माग संवोधन गराउन आवश्यक रणनीति र समाधानका उपाय खोज्न CNCBG दृढतापूर्वक तयार रहनुपर्छ।
तसर्थ, यो अभियान CNCBG को मात्र होइन, सम्पूर्ण गोर्खा समुदायको साझा अभियान हो। आजसम्म CNCBG ले आफ्नो सम्पूर्ण शक्ति, समय र प्रयास खर्चेर हाम्रा मागहरू संवोधन गराउन आवश्यक आधारभूमि तयार गरेको छ। यदि झन्डै दुई तिहाइ बहुमत भएको वर्तमान सरकारले हाम्रा मागहरू संवोधन गरेन भने भविष्यमा आउने अर्को कुनै सरकारले संवोधन गर्ने सम्भावना पनि सहज देखिँदैन।
त्यसैले, हामी सम्पूर्ण गोर्खा दाजुभाइ, दिदीबहिनी तथा भान्जाभान्जीहरूलाई CNCBG मा एकतावद्ध भई यस साझा अभियानलाई सफल बनाउन आर्थिक, नैतिक तथा भौतिक रूपमा आफूले सक्दो सहयोग र समर्थन गर्न हार्दिक अपिल गर्दछौँ।
हाम्रो अभियान साझा हो, हाम्रो माग साझा हो र एकता नै हाम्रो शक्ति हो।
धन्यवाद!
जय गोर्खा ।
CNCBG सचिवालय






