एटा संवाददाता
लन्डन । यूकेको जनजीवनमा आधारित पुस्तक हालै प्रकाशन भएको छ । ब्रिटिस गोर्खा नेपाली एशोसिएसन (बिजिएनए) नामक लन्डनको एक च्यारिटी संस्थाले नेपाली भाषामा सो पुस्तक प्रकाशन गरेको हो ।
भूतपूर्व गोर्खा सैनिक तथा उनका परिवारलाई बेलायतको आवासीय भिजा प्रदान गरेपछि बेलायतमा बृद्धवृद्धा गोर्खाज् परिवारको संख्यामा वृद्धि हँुदै आएको हो । तर, कतिपय नेपाली वृद्धवृद्धाहरुलाई बेलायतको जनजीवनबारे थाहा नहुँदा थुप्रै समस्याहरु झेल्नु परिरहेको अवस्थामा बिजिएनएले प्रकाशन गरेको सो पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने धेरैको विश्वास छ ।
सन् १९९७ भन्दा अगाडि अवकाश पाएका गोर्खाहरुले आप्mनो सैनिक जीवनमा बेलायतको त्यति अनुभव हासील गर्न पाएनन् । र, बेलायत सरकारले बेलायतको आवासीय भिजा लिंदासमेत भूतपूर्व गोर्खाजहरुलाई बेलायतको जनजीवन (लाईफ इन यूके) बारे परीक्षा दिनु नपर्ने व्यवस्था गरेकोले पनि धेरै गोर्खाज परिवारलाई बेलायतको जनजीवन थाहा नहुनु स्वाभाविकै हो । त्यसै कुरालाई हृदयंगमन गर्दै पुस्तक प्रकाशन संयोजक एवं लेखक सन्जु गुरुङले सो पुस्तकलाई बिजिएनएको सहयोगमा प्रकाशन गरेको हो ।
बेलायतको जनजीवनसँग सम्बन्धित ४४ पृष्ठको पुस्तकमा बेलायतको सामाजिक, आर्थिक र राजनैतिक अवस्थालाई समेत चित्रण गरिएको छ । त्यस्तै, बेलायती नागरिकको अधिकार, कर्तव्य, बेलायतको संस्कार संस्कृति र महत्वपूर्ण चाडपर्वहरुको बारेमा समेत उल्लेख गरिएको छ । स्थायी रुपमा बेलायत बस्ने जोसुकैले पनि जान्नु र बुझ्नु पर्ने कुराहरु समावेश गरिएको सो पुस्तकले बेलायतमा रहेका नेपालीहरुको जनजीवनमा अझ सहज बनाउने लेखक तथा संयोजक गुरुङको विश्वास छ ।
सो पुस्तक सन्जु गुरुङ तथा भोगराज गुरुङको लेखन, रोहित गुरुङ तथा मान गुरुङको अनुवाद र गोर्खा इन्फरमेशन म्याजेजमेन्ट लिमिटेडका पूर्ण गुरुङ तथा मान गुरुङको सम्पादन रहेको छ । त्यस्तै, सो पुस्तकको मुद्रण तथा डिजायन भने माउसटेल वेभ सर्भिसेजले गरेको छ ।
अत्यन्त सरल तरिकाले नेपाली भाषामा लेखिएको सो पुस्तकबारे जानकारी लिन परेमा लेखक तथा संयोजक सन्जु गुरुङ वा प्रकाशन बिजिएनएलाई सम्पर्क गर्न सकिने लेखक सन्जु गुरुङले बताएका छन् । साथै, उनले बेलायतमा रहेका विभिन्न नेपाली संघ संस्थाहरुलाई समेत सो पुस्तक वितरण गरिसकिएको बताउँदै सो पुस्तकबाट सबै नेपालीले आफ्नै भाषामा बेलायतको जनजीवनबारे सहजै जानकारी पाउन सकुन् भन्ने आफूहरुले उद्देश्य रहेको जनाए ।






