नगेन्द्रराज नेम्वाङ
संसारमा सजिव प्राणीहरुमा मान्छे बाहेक अरु जीवजन्तु पशुपंक्षी कसैलाई पनि चिन्ता तनाव हुदैन । चिन्ता तनाव मान्छेलाई मात्र हुन्छ । चिन्ता तनावलाई शक्तिमा परिणत गर्न पनि सकिन्छ, साधनाको माध्यमद्वारा । सबै मान्छे स्वस्थ हुन चाहन्छन्, आनन्द जीवन बिताउन चाहन्छन् । स्वस्थ र आनन्द प्राप्तका लागि के गर्नुपर्छ त भन्ने बारेमा चर्चा गरौं ।
शरीर बाँच्नका लागि खानेकुरा नभई हुदैन, स्वस्थकर भोजन सम्बन्धि ज्ञान नभएसम्म स्वास्थ्य लाभ गर्न सकिन्न । शरीरलाई रोग लाग्नुको मुख्य कारण मध्ये खानेकुरा पनि एक हो । शरीरमा रोग लागेपछि मनमा चिन्ता, तनाव शुरु हुन्छ । मनमा चिन्ता तनाव भयो भने शरीरको रोग निको हुने कुरै भएन । कुनै एक समय स्वास्थ्य अनुसन्धान कर्ताहरुले जर्मनीमा दुईवटा बिरालोलाई मुसा खुवाएर तिनीहरुको पाचन प्रणाली परिक्षण गरेका थिए । परिक्षण गर्ने क्रममा दुईवटा बिरालोलाई एउटा मुसा खान लगाए ।
मुसा खाएपछि एउटा बिरालोलाई स्वतन्त्र छोडि पठाए भने अर्को बिरालोलाई खोरमा थुनि दिए । खोरमा थुनिएको बिरालोलाई २४ औं घण्टा मानसिक पीडा दिइयो, मार्ने धम्कि दिइयो, ठूलो ठूलो स्वरमा कराउने, तर्साउने स्वतन्त्र रुपमा खारेभित्र बस्न दिइएन । मुसा खुवाएको २४ घण्टा पछि परिणाम के आयो भने स्वतन्त्र छाडिएको बिरालोले खाएको मुसा २४ घण्टामा शरीरले पचाएर दिशा गरि दियो भने खोरमा थुनि मानसिक पिडा दिइएको बिरालोले खाएको मुसा पचेन २४ घण्टामा पनि पेटभित्र मुसा जस्ताको त्यस्तै रहेको प्रमाणित सावित भयो । यी दुईवटा बिरालो माथि पाचन प्रणाली परिक्षण गरि अनुसन्धान कर्ताहरुले के पत्ता लगाएका छन् भने शारीरिक रुपमा स्वस्थ बन्नका लागि खाएको खाना पच्नका लागि, मानसिक रुपमा स्वतन्त्र, आनन्दीत हुनु पर्दछ । मानसिक रुपमा चिन्ता, तनाव, डर त्रास भएमा पाचन प्रणाली कमजोर भई खाएको खाना नपच्नुका कारण शरीरमा विभिन्न किसिमका रोग लाग्ने गर्दछ । शरीर स्वस्थ रह्यो भने मात्र मनमा आनन्द प्राप्त हुन्छ । मनमा आनन्द छ भने मात्र शरीर स्वस्थ रहन्छ । स्वस्थ र आनन्द प्राप्तिका लागि प्राकृतिक जीवनशैली अपनाउने, दैनिक भोजनमा सुधार, नियमित व्यायाम, सफल व्यक्तिको संगत, डर चिन्ताबाट मुक्तका लागि बेस्सरी हाँस्ने योग, ध्यान र साधना गर्नु पर्दछ ।






