नगेन्द्रराज नेम्वाङ
४०–५० वर्ष नाघेपछि मोटोपन देखापर्ने, शरीरको वनावट बिग्रँदै जाने र स्वास्थ्यमा गडबढ हुने गर्दछ । मोटोपन आफैंमा रोग त होइन तर यसले मधुमेह, उच्च रक्तचाप, हृदय रोग र अनिन्द्रा आदि रोगहरु निम्त्याउने गर्दछ ।
लक्षण : उचाईको तुलनामा वजन बढी हुनु, ज्यादै मोटोपनको कारण उठ्न, बस्न वा अन्य दैनिक कार्यहरु गर्न गाह्रो हनु ।
उपचार : मोटोपन हुनुको सम्बन्ध खानासँगै हुने भएकोले खानामा सुधार गरे, मोटो हुनुबाट बच्न सकिन्छ । उपचारको शुरुआत ४–५ दिन पानी र फलफुलको जुस मात्र पिएर उपवास बस्नु पर्दछ । उपवासको अवस्थामा कागती, सुन्तला, भुँई कटहर, बन्दा र सेलरी साग आदिको जुस पिउनु लाभदायिक हुन्छ । त्यसपश्चात् एक हप्ता फलपूmल सलाद र उसिनेका तरकारीहरु मात्र खाएर फास्टिङ्ग गर्न उपयुक्त हुन्छ । तत्कालै फास्टिङ्ग गर्ने सोच नभएमा दैनिक भोजनमा आधा भात, रोटी र आधा फलफुल सलाद, हरियो तरकारीहरु समावेश गर्नुपर्दछ । बेलुकीको खाना कम गर्ने, दैनिक २–३ लिटर पानी पिउनाले पनि क्यालोरी घटाउने गर्दछ । कालो चियालाई पनि निकै लाभदायिक मानिन्छ । अति नै खाना रुच्ने भएमा खाना खानु अगाडि तरकारीको सुप पिउनु पर्दछ ।
व्यायाम: मोटोपन घटाउन जसरी खानेकुरामा ध्यान पुर्याउनु जरुरी छ, त्यसरी नै व्यायाममा पनि विशेष ध्यान पुर्याउनु पर्दछ । व्यायामको अभावका कारण पनि मोटाउने भएकोले मोटोपन घटाउनका लागि दैनिक व्यायाम, योग, ध्यान र प्रणायाम गर्न अत्यन्त जरुरी छ ।
व्यायाम भन्नाले जस्तै, साईकल चलाउने, पौडी खेल्ने, मर्निङ्ग वाक र दौडिने आदि । यदि संभव भए दैनिक र नभए हप्तामा २–३ पटक व्यायाम गर्नु पर्दछ । र, बेस्सरी हाँस्नले पनि शरीरको तौल घटाउन मद्दत गर्ने विज्ञहरुको भनाइ छ ।






