विश्वासदीप तिगेला
लन्डन । सहिदको सपना नामक रेडियो नाटक सबैले सुन्नयोग्य र सुन्नैपर्ने बनेको छ । यसका केही कारणहरु छन् । पहिलो, यो यथार्थ घटनामा आधारित छ । नेपालको वास्तविक इतिहास बुझ्न यो सुन्न आवश्यक छ । दोस्रो, आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।
तेस्रो, को हुन् लखन थापा र किन पहिलो उनलाई नेपालको प्रथम सहिद घोषणा गरियो लगायतका उत्तर यस नाटकले पस्कन्छ ।
नाटकमा जहानिया राणा शासनको विरोध र मुलुकी ऐनमा व्यवस्था भएको कुप्रथाको समेत विरोध गरिएको छ । राणाशासन कस्तो थियो दुरुस्तै उतारेको भान हुन्छ । हुन त, नाटक क्षेत्रका ख्यातिप्राप्त कलाकारहरुको अभिनयले पनि नाटकमा दोष देखाउने ठाउँ दिएको छैन । नाटक सुनेपछि लाग्छ नाटक त यस्तो होस् । सुन्दा पनि आनन्द आउने, इतिहास बुझाउने, ज्ञान दिने र आत्मगौरव जगाउने । हुन त, नाटकलाई नाटकको रुपमै लिइन्छ तर यो सहिदको सपना एक जिउँदो इतिहास हो । इतिहासको पाठ पढाएको मान्न सकिन्छ । सहिदको सपना नाटकमा जे सुनिन्छ र जानिन्छ, वास्तविक इतिहासहरु पढ्दा पनि त्यही भेटिन्छ । यसर्थ पनि यो सफल नाटक हो ।
नाटककार विजय हितान र मगर संघ यूकेले प्रथम सहिद लखन थापाको पुर्नउत्थानको निम्ति धेरै योगदान गर्नुभएको छ । अनेक योगदानमध्ये यो सहिदको सपना सर्वाधिक रोचक र प्रभावकारी छ भन्न करै लाग्दछ । नाटककार हितानबाट आदिसंगीतकार माष्टर मित्रसेनको जीवनीमा आधारित नाटक पनि सुन्न पाइयोस् भन्दै । सहिदको सपना नाटक सबैले एक पटक वा पटकपटक सुनौं । आफ्नो इतिहासको विरासतलाई सधैं उच्च बनाऔ ।
संयोगवस पोखराको लखन चोकबाट प्रथम सहिद लखन थापाको सालिक हटाएको महिनौपछि भर्खरै मात्र पुनस्र्थापित गरिएको खबरले पनि यो नाटकलाई सार्थक तुल्याएको छ । लखन थापाभन्दा अगाडि पनि राणाहरुबाट मारिएकालाई प्रथम सहिद मान्न पर्ने सवालहरु फाटफुट आवाज सुनिए तर शासकसँग धर्म, जात, सम्प्रदाय मिल्ने र राज्यलाभ लिने समुदायकालाई शासकले मारेको हकमा यथार्थ राजनीतिक सहिद हुन सक्दैन ।
लखन थापाको हकमा राणासँग धर्म मिल्दैन, जात मिल्दैन, सम्प्रदाय मिल्दैन, राज्यलाभ लिने समुदायमा पर्दैन र विशुद्ध राजनीतिक मुद्दा उठाई विद्रोह गरेका कारणले उनलाई नेपाल सरकार र लोकले प्रथम सहिद मानेका हुन् । प्रथम सहिद लखनको अर्को अवतारको प्रतिक्षा गर्दै । सहिदको सपना पूरा होस् भन्ने कामनासहित ।






