मलाई आजभोलि किन हो नेपालीले आफ्नो भाषा, संस्कृति, संस्कार जोगाउनु पर्छ भन्ने कुरामा हाँसो उठेर आउँछ । आफ्नो पुस्तापछि हाम्रो रीतिरीवाज हराएर जान्छ । त्यही भएर जोगाउनु पर्छ रे ! जब भ्यालेन्टाइन यानेकि प्रेम वा प्रणय दिवस आउँछ तब सालभर माया नगर्नेले पनि एउटा गुलाबको पूmल र मुटु मिचेर एउटा कार्ड (जुन क्रिसमस कार्ड पछिको सबभन्दा बढी बिक्री हुने) भ्यालेन्टाइन कार्ड दिने गर्दछ ।
ए ! बाबै हामी कतिवटा संस्कृतिको धनी हुने हो ? मलाई त अवाक लागेर आउँछ, खै प्रणय दिवसको इतिहास कहाँबाट कसरी सुरु भयो त्यो कुरा परै छोडौं । तर, मैले अरुले भन्दा राम्रो कार्ड रमाइलो किसिमले दिन पाए अलिक फरक देखिन पाएहुन्थ्यो भन्ने मनस्थितिले सताएर पो हो कि ? आफ्नै श्रीमान्ले श्रीमतीलाई माया त सधैं गरेको हुँदैन र ? कि श्रीमतीले श्रीमान्लाई अरुबेला माया गर्दैनन् र ? के माया गर्न १४ फेब्रुअरी नै आउनु पर्छ ? कि अरुबेला कुटाकुट गरे पनि १४ फेब्रुअरीको दिन अरुको लागि माया गर्नु पर्ने हो ? यो संस्कृतिको विकास पाश्चात्य मुलुकमा यसरी भएको तर हाम्रो समुदायमा कसरी भएको हो अझ बुझ्न बाँकी छ !
‘भ्यालेन्टाइन डे’
ईटालीको रोममा सेन्ट भ्यालेन्टाइनको जन्म सन् २२६ मा रोमन साम्राज्यका एक पुजारीका रुपमा भएको थियो । रोमन सिपाहीलाई विवाह गर्न रोक लगाइएको थियो किन भने विवाहितहरु राम्रो सिपाही बन्न सक्तैन भन्ने विश्वास सम्राट क्लाउडियसमा थियो । भ्यालेन्टाइन यस कुरामा असहमत भएर गोप्य विवाह क्रिस्चियन सिपाहीहरुलाई गराउन थाले । यो कुरा थाहा पाएर उनलाई सन् २६९ मा मृत्युदण्डको सजाय दिइयो ।
अर्काथरिको भनाइ भने रोमको जेलबाट क्रिस्चियनहरुलाई भगाएबापत उनी पक्राउ परेका थिए । यसै क्रममा कैदमा रहेकै बेला एक कैदी सुरक्षाकर्मीकी छोरीसँग भ्यालेन्टाइनको माया प्रिती बसेको थियो । एक दिन उनलाई मृत्युदण्ड दिनुभन्दा पहिले उक्त महिलालाई अन्तिम प्रेम पत्रमा “फ्रम योर भ्यालेन्टाइन’’ भनेर लेखेर छोडेका थिए । यहाँबाट भ्यालेन्टाइनको सुरुआत भएको पनि मानिन्छ ।
पोप क्लाउडियस प्रथमले सन् ४९६ मा सेन्ट भ्यालेन्टाइन डे क्रिस्चियन भोजको रुपमा सुरु गरेका थिए । १४ फेब्रुअरीलाई प्रेममय क्षणसँग धेरैपछि मात्र जोडिएको मानिन्छ । जिओफरी चाउसरले १३७५ मा आफ्नो कविता “पार्लियामेन्ट अफ फाउल’’ मा वर्णन गरेअनुसार चराहरुले १४ फेब्रुअरीमा उनीहरुको प्रणय प्राप्त गर्ने गरेको मानिन्छ । उक्त कुरालाई नै पहिलोपटक भ्यालेन्टाइन डे प्रेमसँग जोडिएको मानिन्छ । भ्यालेन्टाइन डे खासै १९ औं शताब्दीभन्दा अगाडि त्यत्ति प्रसिद्ध भएको थिएन तर बिस्तारै आजकाल नयाँ डिजाईनका कार्डहरु बेनामी रुपमा पठाई यो चाड मनाउने प्रचलन छ । आजभोलि यूकेमा २५ मिलियन र यूएसएमा १९० मिलियन कार्डको एकापसमा आदानप्रदान हुने गर्दछ ।
मैले यहाँ जोड्न खोजेको विषय भने नेपालीको कुन जाति र सम्प्रदायको संस्कृतिसँग यसले मेल खान्छ र हामी यति धुमधामसँग यो चाडको पछाडि लागेका छौं । बहुजाति, बहुभाषिक, बहुधार्मिक राज्यमा हुर्केका हामी नेपाली तर आज कागले कान लगेको हल्लामा के त्यसै दगुरेका त छैनौं । मैले बुझ्न सकेको छैन, हामी कतिवटा संस्कृतिको अभ्यास गरेर भीरको चिण्डो उँधो न उँभो भएको त छैनौं ?






