नगेन्द्रराज नेम्वाङ
स्वास्थ्य र आनन्द प्राप्त गरी सफल जीवन जिउने चाहना त कस्को नहोला र ? चाहना भएर पनि प्राप्त गर्न नसक्नुको कारणहरुमध्ये म, मेरो र महँगो शब्दहरु पनि हुन आउँछन् । म भन्ने बित्तिकै मान्छेमा एक अहम् भावना अर्थात् घमण्ड उत्पन्न हुन्छ । घमण्ड सफल जीवनको लागि बाधक नै बनिदिन्छ । मेरो शब्द प्रयोग गर्ने बित्तिकै, स्वार्थ र लोभ जोडिएर आएको हुन्छ । मान्छेमा लोभ असीमित हुन्छन् । ‘लोभीको भाँडो कहिल्यै भरिँदैन’ भन्ने चलन पनि छ । लोभ पनि मानसिक पीडामा परिणत भइदिन्छ ।
अब रह्यो महँगो शब्द, आफूलाई मन पर्ने राम्रा र नयाँ चीज सबै महँगो भइदिन्छ । महँगो भएकै कारणले त्यो चिज प्राप्त गर्न सकिन्न, तर त्यही चिजप्रति आफ्नो चाहना रहिरहनु मानसिक दुःख भइदिन्छ । ‘घमण्ड, स्वार्थ, लोभ मान्छेको स्वभावमा नै पर्दछ, तर यी सबै लिमिटेसन अर्थात् कम हुनु पर्दछ’ भन्नु हुन्छ, गुरु डा. योगी विकाशानन्द ।
पैसा आफ्नो बैंक एकाउण्टमा रहुन्जेल मात्र आफ्नो हुन्छ । एकाउण्टबाट झिकेर अरुलाई दिएपछि अब त्यो पैसाले दुःख दिन्छ । फर्किने हो कि होइन भनेर ।
त्यस्तै म, मेरो, महँगो, शब्ददेखि लिएर घमण्ड, स्वार्थ, लोभ, मनको विचारबाट उत्पन्न हुने गर्दछ । यसलाई मनभित्र नियन्त्रण गर्न सकियो भने केही हदसम्म मानिसक पीडा र फसिनुबाट जोगिन सकिन्छ ।
विचार मनबाट सुरु हुन्छ । २४ औं घण्टा हजारौं विचारहरु फुटिरहन्छ । त्यही विचारले मानसिक रुपमा दुःख दिइरहेको हुन्छ । विचारलाई नियन्त्रण गर्न मन एकाग्र हुनु पर्दछ । मनलाई एकाग्र गर्ने माध्यम योग, ध्यान र प्रणायम नै हुन् । विचारलाई नियन्त्रण ल्याउन सकियो आनन्दको महसुस हुन्छ । विचार चल्न थाल्यो भने दुःख सुरु हुन्छ ।
मादक पदार्थ, धुमपान सेवन गर्दा मान्छेले आनन्द लिनुको कारण भनेको पनि यसले मन लठ्ठ भइदिन्छ । विचारहरु सबै हराई जान्छ र आनन्द सुरु हुन्छ । अनिश्चित समयको लागिमात्र हो । तर, धुमपान, मादक पदार्थ सेवनको नकारात्मक पक्ष भनेको स्वास्थ्य खराब व्यक्तित्व विकासमा अवरोध हो ।






