शिवजी श्रेष्ठ
प्रधानमन्त्री खड्गप्रसाद ओली जब नेकपा एमालेका अध्यक्ष निर्वाचित हुँदै थिए, उनले भनेका थिए ‘अब मलाई पछि गरुँला भन्ने समय छैन ।’ अर्थात् उनको संकेत आफ्नो स्वास्थ्य अवस्थाप्रति थियो । अहिले दोस्रो पटक प्रधानमन्त्री भएपछि मन्त्री, सचिव अनि सुरक्षा निकायका प्रमुखहरुलाई राखेर निर्देशन दिएछन्, ‘यो सरकारलाई असफल हुने छुट छैन, मरेर जाँदा केही लान पाइँदैन ।’
बहुदलीय व्यवस्थाको पुनस्र्थापना पश्चात् दुईवटा पार्टीका संघर्षबाट खारिएर आएका दुई शीर्षस्थ नेताहरुले देश बनाउने र आफू राजनेता हुने अवसर पाए तर गुमाए । जो एउटा गुटलाई हाँकेर अगाडि बढेका थिए । नेपाली कांग्रेसको पूर्र्ण बहुमतका साथ निर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र संसारलाई चकित पार्दै नेपालमा जनयुद्धको नेतृत्व गरेर प्रधानमन्त्रीमा निर्वाचित नेकपा माओवादीका अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । यी दुवै प्रधानमन्त्रीसँग संघर्षको कथा र भावना त थिए, तर सरकारमा पुगेपछि के गर्ने ? भन्ने आप्mनो न त नीति थिए, न कार्ययोजना । गिरिजाबाबुले जीवनको अन्तमा लिपिबद्ध गराएका ‘आप्mना कुरा’ मा त्यत्रो आन्दोलनको नेता अन्तरिम प्रधानमन्त्री चुनावमा हार्नुहुन्छ भनेर चिताउने कुरै थिएन, चुनावपछि पनि उहाँनै प्रधानमन्त्री बन्नुहोला लागेको थियो, तर अचानक प्रधानमन्त्री बन्नुभयो, प्रधानमन्त्री हुँदा मलाई अलिकति घब्डाहट पनि भयो । के गर्ने, कसो गर्ने ? भनेर सरकारलाई कसरी अगाडि बढाउने ? भन्ने नीति केही थिएन । कसरी अघि बढ्ने ? समाजवादको व्याख्या मात्र गरेको छ, तर त्यसको रुपरेखा केही थाहा छैन” भन्ने स्वीकारोक्ति व्यक्त गर्नुभएको छ ।
सशस्त्र संघर्ष अनि शान्तिपूर्ण संघर्ष दुवै किसिमको संघर्षमा नेतृत्वदायी भूमिका निभाएर आउनुभएका, ३० वर्ष लगातार लडेका, पारिवारिक उत्तरदायित्वबाट मुक्ति पाइसकेका जीवनको उत्तराद्र्धमा पुगिसकेका व्यक्तित्व जसले देशलाई एउटा गतिलो बाटो दिन सक्थे । तर, विपक्षीसँगको संघर्ष, पार्टीभित्रकै कहलमा अल्मलिएर सरकारले बाटो बिराउन पुग्दा जुन अभियान अगाडि बढ्नसक्थ्यो, त्यो हुन सकेन । सरकार र पार्टीभित्र पकड गर्ने बाटोमा अलमलिनु पर्दा न त सरकार, न त कर्मचारीतन्त्र नियन्त्रणमा रहन सक्यो । यही बीचमा मध्यावधिमा पुगेर त्यो सरकार पनि टुङ्गियो र अन्य कुरामा नअलमलिई म त ३० वर्ष संघर्षको नेतृत्व गरेर आएको नेता, मलाई कसैको लागि केही गर्नुपर्ने छैन, देश बनाउने दायित्व मात्रै हो भन्दै दुई चारजना भ्रष्टाचारीको सम्पत्ति राष्ट्रीयकरण गर्दै अगाडि बढिदिएको भए खुमबहादुर खड्का, चिरञ्जीवि वाग्ले, जयप्रकाश गुप्ताजस्ता नेता अख्तियार धाउने थिएनन् । कमल थापा सूर्यबहादुर थापाहरुको पुनरोदय हुने थिएन ।
मध्यावधिपछि बनेको कम्युनिष्ट सरकारका प्रधानमन्त्री मनमोहन अधिकारी स्वच्छ त थिए, तर बलिया थिएनन् । डाँडूपन्यू सबै माधव नेपलाका हातमा थिए । तसर्थ, त्यो सरकारको प्रचारमुखी अभियानमा लाग्दालाग्दै आवसान भयो । त्यसबीचका सरकारहरु हिसाबकिताबमा नै आउने, जाने भए । जब जनयुद्धको शान्तिपूर्ण अवतरणपछिको चुनावमा माओवादी सबैभन्दा ठूलो पार्टी भएर उदाए अनि पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भए, तब जनतामा यो सरकारले छलाङ मार्न खोज्छ कि भन्ने आशा देखा परेको थियो । तर, २०६३ सालमा बालुवाटारमा प्रथम पटक प्रकट हुँदा नै नेपाली सेनासँग सम्बन्ध सामान्यीकरण गर्न सकेनन् र ३ पति (राष्ट्रपति, पशुपति र सेनापति) को विवादमा अल्मलिएर बीचैमा भाँचिए ।
दुई दशक भूमिगत, एक दशक जनयुद्धको नेतृत्व गरेको, छोरोको पढाई बीचमै टुटाएर सँगसँगै बन्दुक बोकाएर हिँडेको एउटा संघर्षबाट देशको बाटो परिर्वतन गर्छु भनेर हिँडेको व्यक्ति, सरकारमा आउने बित्तिकै ँम त जनयुद्ध हाँकेर देश बनाउन युद्धमा होमिएको व्यक्ति हुँ कसैले तलमाथि नगरोस् भन्दै कडाईका साथ अगाडि बढेको भए, सबैले स्वीकार्थे, किनकि त्यसबेलासम्म उनको परीक्षण बाँकी नै थियो । तर, तिनले पनि अवसर गुमाए, नेल्सन मन्डेला र ली क्वाल यु पढेनन् वा सुनेनन् । यी नेताहरुले लड्दा र संघर्ष गर्दा देशलाई कसरी नेतृत्व गर्छ ? भन्ने सोचेका रहेनछन् वा तयारी गरेनछन् । यदि यी नेताहरुले नेल्सन मन्डेलाको त्यो अन्तर्वार्ता पढेका भए, जुन अन्तर्वार्तामा मन्डेलालाई सोधिएको थियो–’तपार्इंले २७ वर्ष जेलमा कसरी बिताउनु भयो ? मण्डेलाको जवाफ थियो, ‘जेलबाट रिहा भएपछि देश कसरी हाँक्छु भनेर योजना बनाएर बिताएँ ।
अहिले वाम गठबन्धनबाट प्रधानमन्त्री निर्वाचित खड्ग ओलीले एउटा अवसर पाएका छन्, जसको सुविधाजनक बहुमत छ, उर्जाशील पंक्ति साथमा छ, आन्तरिक र बाह्य परिस्थिति उनी अनुकूल छ । सबैभन्दा सहज उनको पारिवारिक दायित्वमुक्त अवस्था, कसैलाई बनाउनुपर्ने, कसैको लागि केही गरिदिनुपर्ने वा कसैको लागि सम्झौता गरिदिनुपर्ने बाध्यात्मक परिस्थितिबाट उनी मुक्त छन् । जसलाई उनले एउटा अवसरको रुपमा प्रयोग गर्न सक्छन् । उनले अब पाउनु पर्ने र गुमाउनु पर्ने कुराहरु पनि केही भएजस्तो लाग्दैन । राम्रो पक्ष उनले आप्mनो उत्तराद्र्धमा जाँदै गरेको स्वास्थ्य स्थिति, इतिहासमा हिजो बनेका प्रधानमन्त्रीहरु, राजनेताहरु, जसको शारीरिक अवसानपछि देशकले जनताले कति स्मरण गरिरहेछन् ? यदि मनन् गरिदिए, उनलाई बाटो मिल्नेछ । आप्mनो उखान टुक्के ‘चिनारीलाई सकारात्मकतामा बदल्दै प्रतिपक्षको सकारात्मक आचोलनालाई सुनिदिने, अनि उनीहरुसँग बसेर ‘ल भन्नोस् के के गर्न सकिन्छ ? कसरी गरौं ?” भन्ने मानसिकताका साथ प्रयास गरे सकारात्मक वातावरणको विकास हुन सक्दछ ।
प्रधानमन्त्री ओलीले सोच्नु पर्ने सबैभन्दा सकारात्मक पाटो भनेको भोलिको पिंढीले आपूmलाई कसरी सम्झिउन् भन्ने चाहन्छन् ? त्यही अनुसार आपूmलाई अगाडि बढाउनु पर्ने हुन्छ । दक्षिण अफ्रिकाका राष्ट्रपिता नेल्सन मन्डेला वा भर्खर निवर्तमान भएका जाकोभ जुमा, कसरी सम्झिउन देशले ? सिंगापुरका ली क्वान यु ? मलेसियाको महाथिर मोहम्मद ?
तपाई खड्कप्रसाद ओलीले गिरिजाप्रसाद कोइरालाको ‘आफ्नै कुरा” पढ्नुहोस्, ली क्वान यु अनि नेल्सन मन्डेला पढ्नुहोस् । अहिले नेपाललाई आक्रमक ओली हैन अग्रसर ओलीको खाँचो छ, जसले नेपालको भावी नक्सा बदल्न सकोस् । तपाईको परिचय आक्रमक अनि विरोधीको कुरा भूइँमा खस्नै नदिने ‘उखान टुक्के” ओलीको छ, जसलाई समयानुसार परिवर्तन गर्न जरुरी छ । गिरिजाबाबुले जीवनको उत्तराद्र्धमा लिपिबद्ध गराउनु भएको ‘आफ्नै कुरा”मा कट्टर कम्युनिष्ट विरोधीका रुपमा चिनिएका कारण मैले राजनीतिक रुपमा निकै संघर्ष गर्नु पर्यो र अवरोधको सामना गर्नु पर्यो तर कम्युनिष्ट पनि त परिवर्तन हुँदारहेछन् भनेर लेख्नु भएको छ ।
सिंगापुरका निर्माता ली क्वान यु पहिलो पटक प्रधानमन्त्री हुँदा ३५ वर्षका मात्रै थिए, उनी सक्दो चाँडो राजनीतिक आर्थिक अवस्थालाई सुदृढ बनाउनु महत्वपूर्ण कुरा थियो, तसर्थ अर्थ मन्त्रालय र गृह मन्त्रालयलाई दह्रो बनाउतिर लागे । यी दुई मन्त्रालय सबल भए भने मात्र सर्वसाधारणले चैनको स्वास फेर्न सक्छन् भन्ने सोच राख्थे उनी । देशको तत्कालीन परिस्थितिलाई नियन्त्रणमा लिनु जासुसी संयन्त्र दरिलो बनाउनेतिर लागे । प्रधानमन्त्री ओलीले यी कुराहरुलाई मनन गर्नु जरुरी छ ।
अरु जेजस्तो भए पनि हिजो १४ वर्ष जेल जीवन बस्दा देखेको सपनालाई पुन:स्मरण गर्नु सान्दर्भिक छ ।
इतिहास साह्रै निर्मम हुन्छ, वर्तमानमा सान्दर्भिक हुन नसकेर आफूलाई शक्तिशाली बनाउन खोज्नेहरुलाई रछ्यानमा लगेर थुपार्ने वा सान्दर्भिक रुपमा अगाडि बढ्न खोज्नेहरुलाई इतिहासले राम्ररी नै स्थापित गरेको देखिन्छ । तसर्थ, आप्mनो उपस्थितिलाई ओलीले कसरी स्थापना गर्न खोज्दछ ? त्यो समयकै हातमा छाड्दै इतिहासको एउटा कालखण्डले अवसर पाएर गुमाएको पात्रको रुपमा वा अवसरलाई सदुपयोग गरेर देशलाई मार्ग दर्शन दिन सक्ने युग पुरुषको रुपमा सम्झिउने अवस्था निर्माण गर्ने अवसर उनको आफ्नै हातमा छ ।
गिरिजाबाबुले जीवनको उत्तराद्र्धमा अनुभूति गरेको स्वीकारोक्ति जसरी आफ्नो दोस्रो (कतै अन्तिम) कार्यकाल परिणाम दायी बनाउने प्रयास गर्ने वा एउटै पुस्तामा देशको कायापलट गर्न सकिन्छ, भन्ने कुरालाई प्रमाणित गर्ने ली क्वान युबाट प्रेरणा लिने ? त्यो आफ्नै हातमा छ ।
अवसर पाएर गुमाएका नेताहरुमा दरिने वा अवसर पाएर सदुपयोग गर्न सक्ने सफल राजनेताको रुपमा कालान्तरमा स्थापित हुने ? वा सिहंदरबारको ग्यालरीमा एउटा फोटो टाँसेर फर्किने ? त्यो आफ्नै हातमा छ ।






