क्यान्सरलाई प्राणघातक रोगको रुपमा लिइन्छ । यसको उपचार संसारमै महंगो छ । तर वैज्ञानिकहरूले क्यान्सर निको पार्ने नयँ तथ्य फेला पारेको दाबी गरेका छन् । वैज्ञानिकका अनुसार अण्डामा हुने प्रोटिनबाट क्यान्सर समेत निको हुने औषधि बनाउन सकिनेछ । यस प्रक्रियाबाट बन्ने औषधि प्रयोगशालामा बन्ने भन्दा सस्तो हुने बताइएको छ । यसका लागि कुखुरामा आनुवंशिक परिवर्तन गरेर जीन हालिन्छ जसले क्यान्सर प्रतिरोधी प्रोटिन उत्पादन गर्छ ।
शोधकर्ताका अनुसार यसको उत्पादन प्रक्रिया खासै लामो हुदैन । एडिनबरास्थित रोसिन टेक्नोलोजिज कम्पनीमा आवद्ध डा. लिसा हेरोनका अनुसार शोधको क्रममा यस प्रक्रियामा संलग्न कुखुराले कुनैपनि प्रकारको झन्झट सामना गर्नु पर्दैन । उनीहरूलाई विशेष निगरानीमा भने राखिन्छ । डा. हेरोन भन्छिन, ’कुखुराहरूलाई एउटा टीमले विशेष हेरचाह गर्छ । टीमले खानपिनमा पनि ध्यान दिन्छ र आरामदायी ढंगबाट राखिन्छ ।
अण्डा पनि सामान्य कुखुराले जसरी नै दिन्छ ।’ शोधकर्ताका अनुसार यो नयाँ तरिका निकै प्रभावशाली र किफायती हुनेछ । यो प्रक्रियाबाट पुरानो तरिकाबाट भन्दा बढी प्रोटिन उत्पादन गर्न सकिनेछ । यसअघिका शोधमा बाख्रा, लोखर्के र कुखुरामा जेनेटिक परिवर्तन गरेर दूध र अण्डाबाट रोगहरूको रोकथाम गरिन उपचार गरिने कुरा समावेश गरिएको थियो ।






