घलेगाउँ (नुवाकोट) । इलाका प्रहरी कार्यालय पञ्चकन्याले साइबर अपराधमा संलग्न दुई जनालाई आइतबार नियन्त्रणमा लिएको छ ।
पञ्चकन्या गाउँपालिकाको न्यायिक समितिमा परेको उजुरीमाथि दुई पक्षबीच सहमति गराउने प्रयासमा विफल भएपछि इलाकाले ती दुई आरोपीलाई नियन्त्रणमा लिएको प्रहरी नायब निरीक्षक रामेश्वर सहनीले जानकारी दिए । उनका अनुसार पञ्चकन्या गाउँपालिका ३ घलेगाउँका कृष्णबहादुर तामाङ (कुमार भनिने) र वडा ५ भद्रुटार बान्द्रेटोलकी ईश्वरी तामाङलाई नियन्त्रणमा लिएको हो । पालिकामा परेको महिला हिंसासम्बन्धी उजुरीमा छलफल चलिरहँदा इप्रका पञ्चकन्याका प्रहरी नायव निरीक्षक सहनीले अनुसन्धान गर्दा ती व्यक्तिहरु साइबर अपराधमा समेत संलग्न रहेको भेटिएको हो ।

महिला हिंसाको आरोप लागेका कृष्णबहादुर र ईश्वरीले उनकी श्रीमती कृष्णमाया तामाङका माइती पक्षलाई मार्ने भन्दै फोन रेकर्ड भेटिएको थियो । पक्राउ परेका दुवैलाई आइतबार साँझ नै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा आवश्यक अनुसान्धन र कारबाहीका लागि पठाएको प्रहरी नायव निरीक्षक सहनीले जनाकारी दिए ।
साइबर अपराधमा १० हजारदेखि ५० हजार जरीवाना र १ देखि ३ वर्षसम्म कैद सजायको व्यवस्था छ ।
गत भदौमा स्थापना भएको इलाका प्रहरी कार्यालय पञ्चकन्यामा अहिले प्रहरी नायक निरीक्षक (सई) को नेतृत्व रहेको छ । गाउँपालिकामा शान्ति, सुरक्षा, अमनचयनका लागि भन्दै स्थापना गरिएको इलाकामा हाल सई रामेश्वर सहनीले नेतृत्व सम्हालिरहेका छन् । यसअघिका सई निरकुमार राई छोटो अवधिमै सरुवा भएका थिए । त्यसपछि नेतृत्व सम्हालेका सई सहनीको गतिविधि प्रभावकारी रहेको स्थानीयवासी बताउँछन् ।
सई सहनीले समाजमा विभिन्न खालका अपराध, महिला हिंसाजस्ता गतिविधिलाई निर्मूल पार्दै शान्ति, सुरक्षामा कुनै कसूर बाँकी नराख्ने गरी आफ्नो टिम लागिरहेको बताए । पालिकाका विभिन्न ठाउँमा सञ्चालित काठ मिल (चिरान) उद्योगलाई कानुनी मान्यता प्राप्त गराउन सञ्चालकहरुलाई इलाकामै बैठक डाकेर सुझाव दिइसकेको उनले बताए ।






