लन्डन । ६१ वर्षीया जो क्यामेरुनले अहिलेसम्म कहिल्यै ‘पेनकिलर’ अर्थात् दुखाइ कम गर्ने औषधि लिएकी छैनन् किनकि उनको शरीरले नै कुनै किसिमको दुखाइ महसुस गर्दैन । तर, जीवनभर शारीरिक पीडाबारे थाह नभए पनि उनले आफ्नो अवस्थालाई सधैँ साधारण रुपमा नै लिएकी थिइन् ।
यसरी ६१ वर्षको उमेर पुगेपछि हिपको शल्यक्रिया गर्दा मात्र चिकित्सकहरु उनको दुर्लभ अवस्था देखेर आश्चर्यमा परेका हुन् जसपछि नै उनलाई आफू असामान्य रहेको आभास भएको उनी बताउँछिन् । ठूलो शल्यक्रियापछि पनि उनलाई कुनै दुखाइ महसुस नभएको र पेनकिलर दिँदासमेत खानु नपर्ने बताएपछि डाक्टरहरुले पहिले त विश्वास गर्नै सकेका थिएनन् । यसपछि उनीहरुले तिनको दुखाइ थाहा नपाउने अवस्था वंशाणु हुन सक्नेबारे परीक्षण गरेका हुन् तर यो वास्तवमा ‘जिन म्युटेसन’ अर्थात् जिन उत्परिवर्तनको नतिजा भएको पत्ता लागेको हो । उनले भनेकी छन्, ‘मलाई केही वर्ष अगाडिसम्म पनि कुनै अन्दाज थिएन र आफ्नो दुखाइ महसुस नहुने क्षमता वास्तवमै सामान्य जस्तो लाग्थ्यो । यसरी क्यामरुनमा पहिलेदेखि नै यस्तो अवस्था भएपनि उनकी आमा र छोरीले भने अरु सामान्य मानिस जसरी नै दुखाइ महसुस गर्ने गरेको पाइएको छ । तर उनका स्वर्गीय पिताले पनि एकदमै कम पेनकिलर लिनुपरेको बताइएको छ भने क्यामरुनका छोरामा पनि केही स्तरमा दुखाइप्रति असंवेदनशीलता रहेको पाइएको हो तर उनको जति स्तरमा भने होइन । क्यामरोनका अनुसार यही अवस्थाका कारण उनको पिडाबिनाका चोटहरुको निकै लामो इतिहास छ । जस्तै उनलाई आफ्नो हात आगोमा डडेको, छाला पोलेको गन्ध आएपछि मात्र थाहा हुन्थ्यो । यस्तोमा अनुसन्धानकर्ताहरुले क्यामरुन अत्यन्तै सकारात्मक व्यक्ति भएको पनि थाहा पाएका हुन् र उनीमा डर र चिन्ताको स्तर अत्यन्तै कम रहेको पाइएको हो । उनका अनुसार उनी एकदमै धेरै खतरनाक अवस्थामा समेत शान्त र धैर्य रहने गरेकी छन् ।
यसरी वैज्ञानिकहरुले उनी जस्तै म्युटेसन भएका अरु मान्छेहरु पनि हुन सक्ने अनुमान लगाइरहेका छन् तर धेरैलाई यसबारेमा थाहा नहुन सक्ने बताइएको छ । किनकी क्यामरुनलाई पनि ६० वर्षमा मात्र यसको स्पष्ट जानकारी भएको हो । यसबारे प्रकाशित अध्ययनमा अनुसन्धानकर्ताहरुले उनको यस अनौठो अवस्थाले शल्यक्रियापछिको दुखाइदेखि चिन्ताजनक मनस्थितिसम्मका समस्यामा नया औषधि उपचार विकसित गर्न मद्दत गर्ने बताइरहेका छन् । उत्तरी स्कटल्यान्ड स्थित सार्वजानिक अस्पतालका एनेस्थेसिया र पेन मेडिसिनका परामर्शकर्ता र यस अध्ययनका प्रमुख डाक्टर देवजीत श्रीवास्तव भन्छन, यो निष्कर्षका अपार फाइदा हुन सक्छन् । दुखाइ कम गर्ने औषधि धेरै विकास भइसकेपनि अझै दुईमध्ये एक बिरामीलाई शल्यक्रियापछि अत्याधिक पीडा हुने गर्दछ । त्यसैले यो खोजले एउटा नमुना पेनकिलर तर्फ संकेत गराएको छ जसले सम्भावित रुपमा शल्यक्रियापछिका दुखाइबाट राहत दिलाउनुका साथै छिटै निको हुन समेत मद्दत गर्न सक्नेछ । हामीलाई आशा छ की यसले शल्यक्रिया गराउने विश्वभरका ३३ करोड बढी बिरामीलाई मद्दत गर्नेछ ।”
युनिभर्सिटी कलेज लन्डनका लेक्चरर जेम्स कक्स भन्छन, दुखाइप्रति दुलर्भ असंवेदनशीलता चिकिस्ता क्षेत्रका लागि अत्यन्तै मूल्यवान् साबित हुन सक्छ । किनकी यसबाट हामीले जीन म्युटेसनले दुखाइको अनुभवलाई कसरी प्रभाव पारिरहेको छ भन्ने थाहा पाउन सक्छौ । त्यसैले हामी यस किसिमको दुर्लभ अवस्था भएका व्यक्तिहरुलाई अगाडि आउन प्रोत्साहन गर्न चाहन्छौ । क्यामरुनको जिनमा दुई किसिमका म्युटेसन छन् । र अहिले भने उनीहरु सो जिनले कसरी काम गर्छ भन्ने खोजी गरिरहेको र उपचारको लक्ष्यमा अघि बढ्न सकिने अपेक्षा गरिरहेको कक्सले बताए । यस अनुसन्धानमा संलग्न नभएपनि किङ्स कलेज लन्डनकी प्रोफेसर डाक्टर फ्रान्सिसले यसलाई अत्यन्तै महत्वपूर्ण बताएकी हुन् । यसबाट पेनकिलर विकास गर्ने अझ प्रभावकारी तरिकाहरु पत्ता लाग्ने हुनाले नै यो अध्ययनको अधिक महत्व रहेको उनको भनाइ छ । यसअघि यो दुर्लभ अवस्थाले क्यामरुनको स्वास्थ्यमा पार्न सक्ने असरबारे पनि चिन्ता व्यक्त गरिएको थियो । तर उनी एकदमै स्वस्थ र तन्दुरुस्त भएको र कुनै औषधि नलिने गरेको अनि उनमा जोर्नीको समस्याबाहेक कुनै रोग नभएको बताइएको छ । जसकारण हालसम्म यसका हानिकारक पक्ष फेला नपरेको बताइएको छ । आगामी अनुसन्धानबारे क्यामरुन यस्तो भन्छिन, मेरो जिनले पीडामा रहेको कुनै मानिसको मद्दत गर्दछ भने मेरा लागि त्यो भन्दा धेरै खुसी हुने ठाउ छैन ।






