नगेन्द्रराज नेम्वाङ ‘वागिस’
आध्यात्मिक चिन्तनमा जिन्दगी ती चिजको समायोजन हुन्छ भनिएको छ । ती हुन् शरीर, मन र आत्मा । स्वस्थ र तन्दुरुस्त शरीर, मन प्रफुल्ल भई आनन्दित जीवन जिउनका लागि यी तीन चीजको मनन् गर्नुपर्ने हुन्छ । यो हामीले देखिरहेको हड्डी, छाला र मासुले बनेको भौतिक शरीरलाई बाँच्नका लागि नभई नहुने चिज अन्नपानी, हावा, आराम, व्यायाम हुन भने शरीरसँग मन पनि जोडिएर आएको हुन्छ । मनलाई खुसी बनाई राख्नका लागि मनको खुराकले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । मनको खुराक भनेको सकारात्मक विचार, नयाँ खबर, हिमाल, पहाड, झरना, नौलो प्राकृतिक दृश्य र ज्ञानवर्धक सन्देशहरु हुन् । जसले मनलाई खुसी बनाइराख्न विशेष भूमिका खेलेको हुन्छ ।
आत्मालाई ढुकढुकी पनि भनिन्छ । आत्मा शरीरबाट छुट्टिनेबित्तिकै जीवन मृत्युमा परिणत हुन्छ । आत्मालाई जोगाइराख्न आत्माको खुराक भनेको आत्मसम्मान, आत्मबोध, आत्मज्ञान नै हुन् । यी चिजहरु ध्यानको माध्यमबाट मात्र प्राप्त गर्न सकिन्छ । शरीर स्वस्थ र तन्दुरुस्त कायम राख्नका लागि स्वस्थकर भोजन सेवन गर्नु पर्दछ । भोजनबाट प्राप्त गर्न सकिने पौष्टिक तत्वहरु, कार्बोहाइट्रेड, प्रोटिन, भिटामिन्स र मिनरल्स नै हुन् । अन्नमा चामल, मकै, गहुँ, कोदो कार्बोहाइट्रेडका स्रोत हुन् भने माछा, मासु, अण्डा, भटमास, दूध र दहीलाई प्रोटिनको स्रोत मानिन्छ । मौसमअनुसारको फलपूmल, सुन्तला, आँप, स्याउ, अंगुर, हरियो सागसब्जी र काँचो सलादलाई भिटामिन्स र मिनरल्सको स्रोत मानिन्छ । कार्बोहाइड्रेटले भोक मेटिने, शरीरलाई शक्ति प्रदान गराउँछ भने प्राटिनले शरीरलाई तताउने काम गर्दछ । भिटामिन्स र मिनरल्सले शरीरको भित्री भाग सफा गर्ने र मनमष्तिष्कलाई चनाखो बनाइराख्न सहयोग गर्दछ ।
दैनिक भोजनमा अन्नको परिकार, रेसायुक्त चामल, ब्राउन साइस, चोकरसहितको आटा, गहुँको परिकार, हरियो तरकारी, काँचो सलाद, मौसम अनुसारको फलफूल अनिवार्य समावेश गर्नुपर्दछ । हामीले २४ घण्टामा १ देखि ३ लिटरसम्म पानी पिउनु पर्दछ । जसलाई प्रत्येक घण्टा चुस्की लिँदै पिउनु पर्दछ ।
शरीरलाई स्वस्थकर भोजनको जति आवश्यक पर्दछ, त्यसको दुईगुणा व्यायामको जरुरी पर्दछ । शरीरमा रोग लाग्नका मुख्य कारण भनेकै व्यायामको अभाव हो । व्यायाम गर्दा शरीरको विकारहरु पसिनाको रुपमा शरीरले बाहिर फाल्ने गर्दछ । व्यायामले पाचन प्रणालीलाई कृयाशील बनाइखाएको खाना सजिलै पचाउन मद्दत गर्दछ । नियमित व्यायामले शरीर मोटोपन हुनबाट जोगाउँछ र शरीरको सौन्दर्य पनि बढाउँछ ।
हाम्रो शरीरलाई व्यायाम पछि नभइ नहुने आराम पनि हो । आराम भनेको गहिरो निद्रा, २४ घण्टामा कम्तीमा ६–८ घण्टा अनिवार्य सुत्नु पर्दछ । आराम गर्दा शरीर चार्ज हुन्छ । आराम गरिएन भने शारीरिक रोगभन्दा मानसिक रोग लाग्ने बढी संभावना हुन्छ । स्मरण शक्ति घट्दै जाने, अनावश्यक चिन्ता, तनाव, डर, त्रास हुने गर्दछ । त्यसैले शरीर स्वस्थ राख्न स्वस्थकर भोजन, नियमित व्यायाम र गहन आराम गर्नु पर्दछ । यही नै स्वस्थ जीवन बाँच्ने कला हो ।






