काठमाडौं । उपेन्द्र यादवको संघीय समाजवादी फोरम र बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीबीच एकीकरण भएको छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सोमबार आयोजित विशेष समारोहबीच फोरम र नयाँ शक्तिबीच एकताको घोषणा गरिएको हो । फोरम अध्यक्ष यादव र नयाँ शक्ति संयोजक भट्टराईले एकीकरणको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । एकतापछि पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ ।
नवगठित पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुतिक निर्वाचन प्रणालीमा जाने भएको छ । संविधान संशोधनमार्फत ११ प्रदेशको एजेण्डा अघि सार्ने र पहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने सहमति छ ।
फोरम र नयाँ शक्तिले आफ्नो एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी गरेका छन् ।
‘यो एकीकरणबाट नेपालमा नयाँ बैकल्पिक राजनीतिक शक्तिको उदय भएको छ । संघीयता, सुशासन, समृद्धि र समाजवादाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुविकरण अत्यावश्यक छ’ सहमति पत्रमा भनिएको छ ।
समाजवादी पार्टीले उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको सुझावअनुसार संविधान संशोधन गरेर १०ं१ प्रदेश बनाउनुपर्ने बताएको छ ।






