संयुक्त राष्ट्रसंघको विश्व वातावरण दिवस ५ जून २०१९ का दिन पर्दछ । तर, मानिसले वातावरणको सम्वद्र्धन यस दिनमात्रै होइन प्रत्येक दिन गर्न आवश्यक छ । जलवायु परिवर्तन तथा अन्य वातावरणीय समस्याहरुले मानवीय जीवनलाई पार्न सक्ने विकराल प्रभावको बारेमा हालैका मिडियामा धेरै बहस चलिरहेको त हामीले देखेकै छौं । वातावरणीय समस्या प्रायः मानव सिर्जित भएकाले हामी व्यक्तिगत तवरमा केही गर्न सक्यौं भने पनि यसमा धेरै सुधार आउन सक्छ भन्ने उद्देश्यले यहाँ छोटो जानकारी राख्न चाहन्छु ।
घरमा पैदा हुने फोहोरबाट कम्पोस्ट (जैविक) मल उत्पादन गरौं
हाम्रो चुला र फुल्तरबारीमा (फूलबारी तरकारीबारी) कम्पोस्ट हुने थुप्रै फोहोर मैला पैदा हुन्छन् । जस्तै फलफूल र तरकारीको खोस्टा, अन्डाको खोस्रा, काटिएको घाँस वा गोडिएको झार, झरेका पातपतिङ्गार इत्यादि । तिनलाई घरमै कुहाएर मल उत्पादन गर्ने प्राकृतिक, सजिलो र सस्तो विधि हो कम्पोस्टिङ ।
फाइदाहरु
फुल्तरबारीमा प्रयोग गर्ने मल निःशुल्क प्राप्त, बजारबाट महँगो मल किन्न नपर्दा पैसाको बचावट, (आर्थिक फाइदा)
ल्याण्डफिल्डमा मैला ढुवानीमा कमी, जसले गर्दा कार्बन फुटप्रिन्टमा ह्रास, ल्यान्डफिल्ड साइटको आयु लम्बिने, (वातावरणीय फाइदा)
जसले गर्दा काउन्सिल ट्याक्समा कटौती ।
(आर्थिक फाइदा) । (एक ल्यान्डफिल साइट डिजाइन र निर्माण अति जटिल महँगो इन्जिनियरिङ्ग प्रक्रिया हो । त्यसरी नै ल्यान्डफिल सञ्चालन र यसको समाप्तिपछिको व्यवस्थापन र निरीक्षण अति खर्चिलो कार्य हो, जसमा बिलियन पाउन्ड लाग्न सक्छ ।)
ल्यान्डफिलमा जैविक फोहोरमैला कमी गए मिथेन ग्यास पनि कमी उत्सर्जन
वायुमन्डलमा हरितगृह्य ग्यास (कार्बनडाइ–अक्साइड (CO2), मिथेन (CH4), र नाइट्रस(अक्साइड (N2O) प्रदर्शन घटाइए जलवायु परिवर्तनमा रोकावट । (वातावरणीय फाइदा)
कम्पोस्टिङ विधि
बिनक्यु वा गार्डन सेन्टरबाट कम्पोस्ट ढ्वाङ्ग किनेर ल्याउने, (१५–२० पाउन्डमा पाइन्छ) ।
बगैंचामा घाम लाग्ने ठाउँमा र माटो छुने गरी गाड्ने, किनकि राम्रो कम्पोस्ट मल बन्न सूर्यको किरण र अक्सिजनजस्ता तत्व र गड्यौलाजस्ता किराको आवश्यकता पर्दछ ।
भान्सामा उत्पन्न हुने हरियो मैलाहरु फलफूलका बोक्रा, तरकारीको पात या डाँठ, चियापति र यसका प्याकेट, अण्डाका खोस्टा, अण्डा राख्ने बक्स, बगैचामा गोंडेका र काटिएका झारपात र सुकेर झरेका पतिङ्गर कम्पोस्ट ढ्वाङमा हाल्ने ।
९ महिनादेखि वर्ष दिनमा जैविक मल तयार हुन्छ, जसलाई आफ्नै फुल्तरबारीमा फलफूल र तरकारी उमार्न प्रयोग गर्न सकिन्छ ।
माछा मासु र पकाएको खाना मिसाउन हुँदैन । यसो गरे नराम्रो गन्ध पैदा गर्छ । पकाएको खानालाई फुड वेष्ट रिसाइकल बिनमा हाल्नु पर्छ ।
घरमा पानी र बिजुलीको बचत गरौं
बेलायतमा प्रत्येक घरले दिनमा औसत १५० लिटर पानी प्रयोग गर्दछन् । पानीलाई जमिनमुनिको जलभण्डार, खोला वा तलाउबाट तानेर प्रशोधन गरी वितरण गर्दा अधिक मात्रामा उर्जा खपत गर्नुपर्ने हुन्छ । पानीका यी स्रोतहरु प्रदूषित भएकाले प्रशोधन नगरी वितरण गर्न सकिँदैन । विश्वका कति राष्ट्रमा कोइला र तेल डढाएर बिजुली उत्पादन गरिन्छ । उर्जा उत्पादन र प्रयोगको सिलसिलामा जलवायु परिवर्तन गर्ने कार्बनडाइ अक्साइडजस्तो हरितगृह ग्यास उत्सर्जन हुन्छ । त्यसर्थ, पानी तथा बिजुली आवश्यक मात्रामा चलाए वातावरणलाई जोगाउन केही टेवा पुग्दछ । यसो गर्दा पानी र बिजुलीको बिल पनि कम्ती तिर्न पर्छ ।
पल्टन घरमा पानी बिजुलिको बिल छुट्टै तिर्न पर्दैन, निस्सुल्क प्राप्त हुन्छ । बेलायतको कति ठाउँमा पानीको मिटर जडान भएको हुँदैन । सित्तैमा पाइने र सरकारी भनेर जथाभावी चलाउने हाम्रो बानी हुन्छ । त्यसर्थ पानी बिजुलीलाई जतनका साथ प्रयोग गरे वातावरणलाई जोगाउन अप्रत्यक्ष सहयोग पुग्छ ।
पानी बिजुली कसरी चलाउने त ?
पानीको धारा ठूलो न खोल्ने गरौं
दाँत माझ्दा धारा बन्द गर्ने गरौं
नुहाउने क्रममा शरीरमा साबुन दलिरहेको बेला सावर बन्द गर्ने गरौं
बाथको सट्टा सावर लिने गरौं
नुहाएको र मुख धोएको पानी टोएलेट फ्लस गर्न प्रयोग गर्न सकिन्छ
भान्सामा भाँडा धोएको पानी फुल्तरबारीमा (फूलबारी तरकारीबारी) लगाउन सकिन्छ
छानाको पानी संगालेर गाडी, आँगन धुन र फुल्तरबारीमा सिँचाईको लागि प्रयोग गर्न सकिन्छ
मान्छे नहुँदा कोठाको बत्ति, टेलिभिजन, कम्प्युटर जस्ता बिजुलीका सामग्री मार्नु पर्दछ
बिजुलीका हिटर तथा एयरकन्डिसन आफूलाई चाहिने मात्रको तापक्रममा लगाउनु पर्छ
न्युनतम उर्जा खपत हुने खालको वातावरण–मैत्री बिजुली बत्तिका बल्ब, वासिङमेसिन र अन्य बिजुलीका सामग्रीहरु प्रयोग गर्नुपर्दछ






