बिक्रम भट्टराई
कुरा नौ/दस वर्ष पहिलेको, सदाजस्तै हामी श्रीमान् श्रीमती एउटा पारिवारिक जमघटमा जान ठिक्क परेर छोराछोरीलाई तयारी भए कि भएनन् भनेर बुझ्न खोज्दै थिएँ । मेरो छोराछोरीले अप्रत्यासित रुपमा हामीलाई बोलाइएको भेटघाट कार्यक्रममा नजाने बताए । उनीहरुले अचानक जान्न भन्दा झनक्क रिसाएँ र छिट्टो तयार हौ भनेँ । तर किन जान्न भने होलान् भन्नेतिर सोच्ने मेरो विवेकले मेसो नै पाएन । दोस्रो पटक फेरि उनीहरुको कोठामा हेर्न गएँ तर उनीहरु दुवै तयार हुने कुनै छाँटकाँट नै थिएन । यस पटक मैले सोधे किन जाँदैनौ त ? । मेरो छोरीले बडो शान्तपूर्वक कुरा सुन्न आग्रह गरिन् । पछि मैले ‘हुन्छ’ भनेँ । छोरीले भनीन्, ‘बाबा, प्रायः तपाईहरुले हामीलाई लिएर जाने भेटघाट या पार्टीबाट फर्केपछि तपाईहरुको व्यवहार, बोलचाल शारीरिक हाउभाउ केही घण्टा या दिनका लागि फरक हुन्छ’ । मैले भनेँ, ‘हुन्न…!! कहाँ र कहिले त्यस्तो गरेऊँ ? हुँदै हैन ।’ छोराछोरीले मान्दै मानेनन् । त्यसपछि मेरा दुवै छोराछोरी एकै कोठामा जम्मा भएर मलाई उनीहरुको अनुभव बताउँदै हामीले खुवै रमाइलो भयो भनिएका प्रायः भेटघाटहरुमा उनीहरुको चाहनाहरुलाई स्थान नदिइएको, उनीहरु रमाए कि रमाएनन् भनेर पटक्कै ध्यान नदिइएको आदि–इत्यादि सबै बेलीबिस्तार लगाउन सुरु गरे । छोराले भन्यो, ‘बाबा त्यहाँ तपाईका २० साथीहरुका श्रीमती, छोराछोरीहरु सबै आउँछन्, हरेकका छोराछोरीका आ–आफ्नै स्वभाव, रुप, गुण या क्षमता हुन्छन् । कोही सबैलाई नमस्ते भन्दै हिँड्छन् भने कोही कसैलाई पनि हेल्लोसम्म भन्दैनन्, कोही एउटा कुनामा चुप्प लागेर बस्छ भने अर्को चाँहि हरेकसँग आवश्यक, अनावश्यक गफ गर्दै हिँड्छ, कोही नाच्न जानेको हुन्छ र नाच्छ भने कोही एक्लै टेवल ठटाउँदै प्यारोडी गाएको होला, सबै एउटै पाराका हुँदैनन्, अझ मुख्य कुरा त जब तपाईंहरु एकआपसमा पारिवारिक गफ गर्नुहुन्छ त्यसबेला प्रायः एक अर्काका छोराछोरीहरुका प्रगतिका बारेमा चासो राख्नु हुन्छ, त्यसमा तपाईका कुनै साथीको छोराले मेडीसिन गर्दै होला त कसैको छोरीले ब्युटीसियन, कोही एकाउन्टेन्ट गर्दैछन् त कोही कम्प्यूटर, हरेकको छुट्टैछुट्टै विषयमा रुचि भएकोले सोही विषयहरुमा अध्ययन गरिरहेका होलान् । तर, तपाईहरुले ती सबै तपाईका साथीहरुका छोराछोरीहरुले जे जे गरेका छन् ती सबै गुणहरु हामीमा खोज्न हुन्छ । तर हामीमा ती सबै गुण पाउनुहुन्न जुन कुरा सामान्य हो । यी यावत कुराहरु सुनीरहें र त्यो भन्दा पहिलेका त्यस्तै भेटघाट अगाडि या जमघट सकेर घर फर्केपछिका समयहरु मेरो मानसपटलमा घुमाउन थालेँ ।
मलाई मेरै विगतमा हामीले हाम्रा छोराछोरीहरुसँग गरेका व्यवहारहरु सम्झँदा आफैंलाई प्रश्न सोध्न मन लाग्छ, कतै तपाई हामीले त्यस्तै मेरा छोराछोरीले भनेजस्तै व्यवहार त गर्दैनौं ? के हामीले कुनै पनि नेपाली जमघटहरुमा यहीं बेलायती संस्कारमा हुर्केका बाबु नानीहरुका इच्छाहरु, चाहनाहरु या आवश्यकताहरुलाई ख्याल गरेका छौं त ? के हाम्रा पारिवारिक जमघटहरुका लागि प्रयोग हुने भवन Venue) बालबालिका अनुकूल (Child Friendly) छन् त ? के हाम्रा कार्यक्रमहरुमा त्यहाँ कति बालबालिकाहरु, कुन उमेरका, कस्ता आनीबानी भएका बालबालिकाहरु आउँछन् भनेर विशेष ध्यान दिइन्छ त ? के बेलायती संस्कारमा हुर्केका केटाकेटीहरुको जिब्रोको स्वाद र हाम्रो जिब्रोको स्वाद एउटै हुन सक्छ त ? यदि हुँदैन भने तिनीहरुका निम्ती उनीहरुकै स्वाद अनुसारका परिकारहरु बनाइन्छ त ? उनीहरुका चाहना अनुसारका संगीत बजाइन्छ त ? के हामीले हाम्रा छोराछोरीहरुका मनोभावनालाई बुझ्ने प्रयास गर्छौं त ? मलाई लाग्दैन, बहुमत हामी नेपालीहरु यस्ता कुरालाई ध्यान दिन्छौं ।
हामी धेरैले छोराछोरीको स्कुल या कलेज अथवा युनिभर्सिटीहरुकै अध्ययनका क्रममा उनीहरुले रोज्नपर्ने अध्ययनका विषयहरु पनि उनीहरुले के पढ्न चाहन्छन् भन्दा पनि हामीले जे चाहन्छौं त्यही विषय पढ्न जबरजस्ती गर्ने गर्छौं । छोराछोरी कुन विषयमा सहज र उत्सुक छन् भनेर चिन्तन, मनन गर्नभन्दा पनि आफ्ना समकक्षी या साथीभाइका छोराछोरीले के पढेका छन् त्यही पढ्न पर्नेजस्ता कुरा गरेर उनीहरुलाई थप तनाव दिने काम गर्छौं । हामी प्रायः सबैजसो नेपालीहरुले आफ्ना सन्तानहरु डाक्टर, पाइलट, चार्टर एक्काउनटेन्ट या इन्जीनियर नै भइदिए मात्रै पढेको नत्र अन्य विषयमा राम्रै स्तरमा पढे पनि खुलेर भन्न नचाहने चलन पुरानो हैन । यदि बाजे या बाबु बेलायती सेनामा सेवा गरेको भए त झन् हामी हाम्रा सन्तानले पनि सेनामा नै भर्ना भइदिए आनन्दै हुनेथियो जस्तो गर्छौं तर के सेनामा जान भन्दा त्यहाँ नगईकनै अन्य क्षेत्रमा विशेष दक्षता लिन सके राम्रो हुँदैन र ? नेपालमा हुँदा पो लाहुरे हुनु भनेको सुरक्षित भविष्य हुनु भन्ने मान्यता थियो तर यहाँ बेलायतमा नै हुर्केका हाम्रा छोराछोरीहरुलाई त सेनाबाहेक अरु क्षेत्र पनि अझ सुरक्षित र फराकिलो भविष्य हुन्छ कि जस्तो लाग्छ। तसर्थ सबैभन्दा प्रमुख कुरा उनीहरुको चाहना के छ, कुन विषयमा उनीहरु सहज र सरल मान्दछन्, के विषय लिएर पढ्यो भने, “बच्चालाई मनपर्ने र जुन विषय पढेर ऊ रमाउँछ, त्यो विषय पढ्न प्रोत्साहन गर्नु आवश्यक हुन्छ किनभने आफ्नो रूचि अनुसारको विषय पढ्दा आनन्द हुने र सफल हुने धेरै सम्भावना हुन्छ त्यही विषय लिएर पढ भन्न पर्छ यदि यसो गरिएन र हाम्रो रोजाईको विषय जबरजस्ती लाद्न खोजियो भने यसले अविभावक र बालबालिका बिचको सम्बन्ध बिग्रने मात्र नभएर उनीहरुले सो विषयमा राम्रो गर्न सकेनन् भने उनीहरुको भविष्य नै अस्तव्यस्त हुन सक्छ र त्यसको पुरै अपजस बाबुआमा लिनपर्ने हुन्छ । हुन त, यी यावत कुराहरु सबै बेलायतमा आएर बसेका नेपाली अभिभावकहरुसँग नमिल्न पनि सक्छ । अहिलेका अझ भनौं दोस्रो पुस्ताका अभिभावकहरुले त आफ्ना सन्तानको शैक्षिक भविष्य राम्रो बनाउनकै निम्ती बसिरहेको क्षेत्र, गर्दै गरेको जागिर अथवा व्यवसाय नै छोडेर राम्रा स्कुल कलेज भएका क्षेत्रहरुमा बसाइँ सरेका पनि धेरै उदाहरण छन् । हामी नेपालीहरु आफ्ना हुन या अरुका जसका छोराछोरीका विषयमा पनि अलि आवश्यकताभन्दा धेरै चासो राख्ने बानी छ, जसका कारण बेलायती संस्कारमा हुर्केका बाबुनानीहरुले हामीप्रति नकारात्मक धारणा बनाउँछन् ।
हामी छोराछोरीका कयौं कुराहरु बढाईचढाई गरेर बोल्छौं भने कति कुरा भन्नै पर्ने कुराहरु लुकाउन कोसिस गर्छौं । कति त यस्ता पनि देखेको छु छोराले कोठामा गाँजा तन्काइरहेको हुन्छ तर बाहिर बाबुआमाहरु त्यसलाई छोप्नको लागि ‘यसपालिको अगरबत्ती त कस्तो गाँजा जस्तो वासना आउने परेछ है बुडा ?’ भन्दै मेरो ध्यान अन्तै मोड्न कोसिस गरेका पनि छन् । युवाहरुमा फैलिएको कुलतको पाटो त छँदैछ, अर्को पटक कुरा गरौंला ।
अन्तमा, तपाई हामी अधिकांशको सपना भनेकै आफ्ना छोराछोरीले प्रगति गरेको, सामाजिक, आर्थिक र पारिवारिक हिसाबले मजबुत बनेको हेर्ने हुन्छ र यसका लागि उनीहरुका निमित्त घरको वातावरण, हामी जोडिएको समाजको वातावरण र समग्रतामा सम्पूर्ण संसार नै उनीहरुको अनुकूल हुन अत्यावश्यक छ र त्यस्तो अनुकूल वातावरण बनाइदिने जिम्मा हामी अभिभावकको नै हुन्छ । हामी र उनीहरु बिचको पुस्तान्तर (Generation Gap) लाई सक्दो घटाउने कोसिस गर्नु पर्छ । यसैमा परिवारमा शान्ति हुन्छ । सबैको भलो हुन्छ ।






