१३औं दक्षिण एसियाली खेलकुद (साग) मा भारतको स्वर्ण संख्या ११० पुगेको छ। अंक तालिकामा शीर्ष स्थानमा रहेको भारतको शनिबार साँझसम्म स्वर्ण संख्या ११० पुगेको हो ।

भारतको ६९ रजत र ३५ कास्य छ भने कुल पदक २१४ पुगेको छ।
दोस्रो स्थानमा रहेको नेपालको ४३ स्वर्ण छ। शनिबार नेपालले म्याराथन र कुस्तीबाट स्वर्ण थपेको छ। ४२ किलोमिटर म्याराथनमा किरणसिंह बोगटी र कुस्तीमा संगीता धामीले नेपाललाई स्वर्ण दिलाएका हुन् । शुक्रबार नेपालले ५ स्वर्ण बटुलेको थियो।
३४ रजत र ६५ कास्य बटुलेको नेपालको कुल पदक १५१ छ।
३० स्वर्णसहित श्रीलंका तेस्रो र २३ स्वर्णसहित पाकिस्तान चौथो स्थानमा छन्। ७ स्वर्ण बटुलेको बंगलादेश अंक तालिकाको पाँचौं स्थानमा छ।
जारी सागमा अहिलेसम्म १ स्वर्ण मात्र जोडेको माल्दिभ्स छैठौं स्थानमा छ। त्यस्तै स्वर्णविहीन रहेको भुटान अंक तालिकाको पुछारमा छ।
भुटानले शनिबार पुरुष फुटबलमा श्रीलंकालाई पराजित गरेर फाइनल पुग्दै स्वर्ण जित्ने अवसर बनाएको छ। भुटानले आइतबार हुने नेपाल र बंगादेशबीचको खेल विजेतासँग स्वर्णको लागि प्रतिस्पर्धा गर्नेछ ।






