नगेन्द्रराज नेम्वाङ
लन्डन । किरात याक्थुङ्ग चुम्लुङ्ग (कियाचु) ले एक भव्य कार्यक्रम आयोजना गरी किरात लिम्बुहरुको महान् चाड चासोक तङनाम मनाएको छ ।
गत शनिबार १४ डिसेम्बरका दिन आफ्नै जग्गा मेडेस्टोन, येल्डेङ्गमा मनाइएको हो । उपाध्यक्ष नरबीर आङदोले हेल्थ एण्ड सेफ्टीको जानकारी गराउँदै सुरु गरिएको औपचारिक कार्यक्रम अध्यक्ष तिलबिक्रम सम्बाहाङफे र नेपालबाट आएकी कलाकार मनु नेम्वाङले पानसमा दिप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए ।

कार्यक्रमको पहिलो चरणमा लिम्बुहरुको परम्पराअनुसार फेदाङमा पदमबहादुर सम्बाहाङफेद्वारा पूजा सम्पन्न भएको थियो ।
चासोक तङ्गनाम किन र कहिलेबाट लिम्बु समुदायमा मानिएको बारेमा उपाध्यक्ष छत्र वनेमले प्रस्ट्याएका थिए । तङनामको शुभअवसरमा पारेर लिम्बु समुदायका शिक्षा क्षेत्र (जिसीएसई) मा उत्कृष्ट नतिजा ल्याउन सफल भाइबहिनीहरुलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।
त्यसैगरी कियाचु रसमोर शाखाले चुम्लुङ्ग हिम खरिद गरेकोमा शाखा अध्यक्ष जीतप्रकाश मेन्याङबोको टिमलाई बधाई दिएका थिए । बेलायतवासी लिम्बुहरुको बाक्लो उपस्थिति रहेको तङनाम कार्यक्रममा निवर्तमान अध्यक्ष तथा सल्लाहकार दिलसिंङ मेन्याङ्बो, पूर्वअध्यक्ष तथा सल्लाहकारहरु डम्मर सिङघक, काजीमान याक्सो, श्री साम्यु, सल्लाहकार नरकुमारी वनेम, डाइमण्ड प्रायोजक वीर नरसिंह लिम्बु, चुम्लुङ्ग सदस्य तथा कलाकार मनु नेम्वाङ सहितले शुभकामना मन्तव्य राखेका थिए ।
अध्यक्ष तिलबिक्रम सम्वाहाङ्फेले वर्तमान चुम्लुङदेनका गतिविधिको जानकारी गराउँदै कार्यक्रममा उपस्थित महानुभावहरु कार्यक्रम सफल पार्नका लागि खटिएका कार्यसमितिका साथीहरुलाई धन्यवाद दिँदै औपचारिक कार्यक्रम समापन गरेका थिए ।
कार्यक्रमका दोस्रो चरणमा आष्फोर्ड शाखाका कलाकार भाइबहिनीहरुले लिम्बुहरुको लोकप्रिय च्याबु्रङ नाच (केलाङ) प्रस्तुत गरेका थिए भने उपस्थित दाजुभाइ दिदीबहिनीले धान नाचेर (यालाङ) मनोरञ्जन दिलाएका थिए ।
खानपिनको व्यवस्था आस्फोर्ड शाखा अध्यक्ष टंक येङदनको व्यवस्थापनमा गोर्खा भिल्ला रेस्टुरेन्टका डम्मर खजुमले गरेका थिए । पेय पदार्थमा सहकोषाध्यक्ष दिपेन्द्र याक्सो खटिएका थिए ।
कियाचु युकेका तिलविक्रम सम्बाहाङफेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्वाङले स्वागत मन्तव्य दिएका थिए भने सचिव विश्वासदीप तिगेला र महासचिव गणेश ईजमले कार्यक्रम सञ्चालन गरेका थिए ।






