
लन्डन अक्टोबर २३ । लमजुङको क्होलासोंथर गाउँपालिका ७ मप्योङ गाउँकी ३५ वर्षीया ब्लड क्यान्सरपीडित पदमकुमारी गुरुङलाई बेलायतबाट २१ लाख ४८ हजार रुपैयाँभन्दा बढी सहयोग पठाइएको छ ।
बेलायतमा समाजसेवी दिलमाया गुरुङको अगुवाईमा संकलित २१ लाख ४८ हजार १७४ रुपैयाँ शनिबार अक्टोबर २३ तारिख २०२१ का दिन बिरामी पदमकुमारीलाई चेक हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरणका क्रममा बिन्ध्यावासिनी हाइड्रो कम्पनीका बोर्ड डाईरेक्टर ओम गुरुङ, तमुधिं लन्डन एकाई आमा उपप्रमुख बिनु गुरुङ, क्या दीपकराज घले, वीर हस्पिटलका नर्स ज्योति गुरुङ, पूर्व ओभरसियर हर्क गुरुङ, तमु मै ता का प्रबन्धक युग गुरुङ, कलाकार प्रतिमा गुरुङ, सन्चारकर्मी प्रेम गुरुङको रोहवर र पदमको सपरिवारको उपस्थितिमा रहेको दिलमायाले जानकारी गराइन् ।
‘यहाँहरुले मलाई जुन प्रकारको विश्वास अनि भरोसा दिनुभई पदम बहिनी सहयोग अभियानबाट २६३ जान सहयोगीज्युहरुबाट संकलन गरिएको रकम एक्काइस लाख अठ्चालीस हजार एक सय चौरहत्तर रुपैयाँ औपचारिक रुपमा बुझाउन पाउँदा खुसी लागेको छ,’ दिलमायाले सहयोग हस्तान्तरणपछि भनिन्, ‘हजुरहरुले सहयोग मात्रा दिनु भएको छैन पुण्यआर्जन पनि गर्नु भएको छ । यहाँहरु सम्पूर्ण सहयोगीहरुप्रति पुन: एकपटक भित्री आत्मदेखि नै धन्यवाद टक्र्याउन चाहन्छु ।’
पदमकुमारी पसगाउ निवासी गोलाल गुरूङ र पञ्चमाया गुरुङकी माइली छोरी हुन् । लमजुङको क्होलासोथर गाउँपालिका ६ पसगाउँमा जन्म भइ सोही गाउँपालिका ७ मप्योङ निवासी कमरजङ गुरुङसँग विवाहपश्चात् एक छोरा र एक छोरीको आमा बनेकी छन् । क्यान्सर रोगपश्चात् उनी विगत ८ महिनादेखि काठमान्डूस्थित शिक्षण अस्पतालमा उपचाररत छिन् ।






