लन्डन ७ अगस्ट २०२३ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिले आउँदो अक्टोबर १३ मा ‘मोना लब्लीहिल मिनि म्याराथन’ गर्ने भएको छ ।
अध्यक्ष अम्मर छन्त्यालको अध्यक्षतामा ४ अगस्टमा बसेको सचिवालय बैठकले मोनाको आसन्न पाँचौ महाधिवेशनको अवसरमा १३ अक्टोबर २०२३ का दिन ‘मोना लब्लीहिल मिनि म्याराथन’ खुला दौड प्रतियोगिता गर्ने निर्णय गरेको म्याग्दी प्रवासी नेपाली संघ,अन्तर्राष्ट्रिय कार्यकारी समितिका महासचिव हरि रामजालीले एभरेस्ट टाइम्सलाई जानकारी दिए । उक्त खुल्ला दौड प्रतियोगितामा १८ वर्षभन्दा माथि उमेर पुगेकोहरुले भाग लिन पाउने र प्रतियोगितामा भाग लिनको लागि म्याग्दी जिल्ला भित्रको नागरिक हुनुपर्ने मापदण्ड तोकिएको छ । प्रतियोगिताको दर्ता शुल्क १ सय तोकिने भएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार २० हजारसहित मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार १५ हजार मेडल र प्रमाणपत्र र तृतीय पुरस्कार १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र दिने निर्णय पनि बैठकले गरेको महासचिव रामजालीले बताए ।
यस्तै बैठकले पाँचौ महाधिवेशनमा प्रस्तुत तथा अनुमोदन गरिने संघको विधानलाई थप परिस्कृत बनाउन आवश्यक सुझाव तथा सल्लाह भएमा आगामी ३१ अगस्टसम्ममा संघको सचिवालय एवम् विधान संशोधन समितिका निम्न ईमेलमा प्रेषित गर्न अनुरोध गर्ने, म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका वडा नं. ८, दग्नाम घर भई बेल्जियमलाई कर्मथलो बनाउँदै आएकी म्याग्दी प्रवासी नेपाली संघ (मोना), राष्ट्रिय कार्यकारी समिति पोर्चुगलकी महिला उपाध्यक्ष देवी गर्बुजामगर एनटीभी प्लसबाट प्रसारित गरिने अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता ‘मेरो डान्स युनिभर्समा आफ्नो जिल्लालाई विश्वभर चिनाउन अहम् भूमिका निर्वाह गरेको र संघको जिम्मेवारी पद ग्रहण गरिरहेको अवस्थामा यस कार्यमा उनलाई सफल गराउन प्रवासमा रहेका म्याग्देलीहरुलाई सहयोग गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।
बैठकमा अध्यक्ष अम्मर छन्त्याल, वरिष्ठ उपाध्यक्ष ददिवल खड्का, उपाध्यक्ष ई. नन्द गर्बुजा, उपाध्यक्ष सुर्जे भट्टचन, महिला उपाध्यक्ष आशा पुन, महासचिव हरि राम्जाली, सचिवहरु सुनेश केसी, सुवोध बरुवाल, कोषाध्यक्ष महेन्द्र खड्का र सचिवालय प्रमुख स्मृति सुवेदी सहभागी थिए ।






