
काठमाडौँ २२ सेप्टेम्बर २०२५ । राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष तथा वैज्ञानिक महावीर पुन शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्ने भएका छन् ।
नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पुनसहित ५ जनालाई आइतबार मन्त्री नियुक्तका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी हुन् । पुन राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले पुन परिचित छन् ।
मन्त्रीमा सिफारिस भएपछि पुनले बधाई र औपचारिक सम्मानमा समय खर्च नगर्न आग्रह गर्दै सिधै कामको सुझाव पठाउन सार्वजनिक अपिल गरेका छन्। उनले सोमबार बिहानै आफ्नो सामाजिक सञ्जालमा लेख्दै कसैलाई पनि फोनमा ‘बधाई छ’ नभन्न र खादा वा माला लिएर भेट्न नआउन आग्रह गरेका छन् ।
उनले आफ्नो घोषणामा लेखेका छन्, ‘बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाभित्र गर्न सकिने र गर्नुपर्ने ठोस काम वा आइडियाहरू छन् भने मेरो ह्वाट्सएपमा पठाउनुहोला।’
पुनले आफूलाई ‘मन्त्री’ भनेर सम्बोधन नगरिदिन पनि आग्रह गरेका छन्। यदि कसैलाई मन्त्री नै भन्न मन लागेमा ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्न अनुरोध गरेका छन्।
सञ्चार मन्त्रालयमा पत्रकार जगदीश खरेल छन् भने पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले एक महत्त्वपूर्ण मन्त्रालयमा जिम्मेवारी पाउनेछन् । अतिरिक्त सचिव डा.संगिता मिश्रा स्वास्थ्य मन्त्रालय र तत्कालीन राज्य पुनर्संरचनाका संयोजक डा.मदन परियार पनि मन्त्री बन्ने सूचीमा छन् ।
नवनियुक्त मन्त्रीहरुको सोमबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथग्रह हुनेछ ।






